विष्णु पादुका
बेमौसमी गुराँसको वन देखि सुख्खा मरुभूमि सम्मका कुरा उस्तै छन् ।साझा छन् ।आजको मान्छे समयसँग होइन, समयको पछाडि दौडिरहेको छ। बिहानको घामसँग उठ्ने बानी हराउँदै गएको छ, र साँझको शान्ति मोबाइलको उज्यालोमा हराएको छ। यस्तो व्यस्त दैनन्दिनीमा प्रकृति कुनै टाढाको विषय जस्तो लाग्न सक्छ—तर वास्तवमा, प्रकृति नै हाम्रो जीवनको मौन आधार हो। तपाईं घुम्दिन भनेर सुख पाउनु हुन्न । घुम्नु तपाईंको नियति हो । चाहेर नै घुम्नु होस् । रिति पु¥याएर नै घुम्नु होस् । आकाश ओगटेर उड्ने जहाजलाई पनि सानो चरोले ज्यान दिएर हानी पु¥याउन सक्छ । घुम्ने र घुमाउने चक्रलाई जब हामी उचित गति दिन सक्दैनौं । हाम्रो हविगत हवाइजहाजकै हुनेछ । उसो त हवाइजहाज आफै उड्दो हो त हामीलाई संबेदनसिल हुन जरुरी थिएन । जीवनहरू उडाउने जीवनहरूसँग तपाईं हाम्रो जीवन जोडिएकाले हामी असम्बेदनशील हुन सक्दैनौं । मोल चुकाउन सर्वथा कठिन हुन्छ जीवनको । उसो भए हामी हाम्रो जीवनको मोल उपयुुक्त तरिकाले उपयोग या उपभोग गरेका छौं त ? प्रश्न सोध्ने फुर्सद जो कसैलाई नहुन सक्छ । र मानिसले एकल रूपमा आफू निर्दोष रहेको प्रमाण दिन पल भर समयलाई बित्न दिँदैन । विकासले ल्याएको परिवर्तनको उपयोग र उपभोगले हामीलाई स्वार्थको गहिरो कुवामा डुबाएको छ । हामी जो कसैले फर्केर हेरेउँ भने देख्छौं आफैले गरेका आपराधिक निस्कासनहरू । नियम र कानुन मान्छेका लागि जति कडा छन् त्यति प्राकृतिक कुरामा कहिल्यै बन्न सकेनन् । यो अदृश्य अनि सुक्ष्म कुरा पनि होइन । तर हामी सजिलोसँग नजर अन्दाज गरिरहेछौं । खोलाहरूले शहर ढाकिए । वन जंगलमा वर्षेनी डढेलो लाग्छ । पहाड कोतर्न बुल्डोजरहरू उकालो चढेका चढै छन् । खोलाका किनार साँघुरा मात्र भएका छैनन् । फोहोरको ढंगुरले बाँध बनेका छन्। हिमालहरूमा सेतो रंग बिलाउँदै कालोको सामाज्य विस्तार हुँदै छ । वायुमण्डलमा अक्सिजन होइन पेट्रोलियम पदार्थ र आणविक हतियारको धुवाँले आफ्नो राज्य बिस्तार गर्दैछ । हामीले आफुलाई यो धर्तीका बुद्धिजीवी जीव भनेर घोषणा गरेको पनि धेरै भयो । सजिव र निर्जिव बस्तुको अन्तरसम्बन्ध पढ्न पनि प्रार्थमिक तहमै पाइन्छ तर संसारमै पढाइ र कामको तारतम्य नमिलेको हेर्न हामीलाई कुनै दुरविन चाहिन्न । आफ्नै आत्मालाई साक्षी राखेर सोधे पुग्छ ।
अस्ट्रेलियामा माछाले आत्महत्या गरे । अफ्रिकामा सर्पहरू सहर पसे । स्पेनमा बाढिले तहसनहस पा¥यो । मरुभूमिमा बाढी र वर्षात् ले नसोचेको क्षती पु¥यायो । अमेजनको जंगलमा लागेको आगोको विवरण अधुरै छ । नेपाल जस्तो सानो बगैंचा जस्तो देशमा समेत हिउँद पछि हिउँ पहिरो जान्छ । याक, खच्चड , भेडा र घोडा माथी सोहोरिएर प्रकृतिले बदला लिन्छ । अति भए पछि दशैको मुखमा राष्ट्रिय शोक लिएर आउँछन् राजमार्गहरू । हामी संकटको बेला खुब तात्छौं । नारा जुलुस बिरोध र क्रान्ति छेड्छौं । घाउमा खाटा बस्यो कि हामी भुलेर प्रकृतिको दोहोलो काड्न प्रतिस्पर्धामा लागि हाल्छौं । हाम्रो सम्यक दृष्टिकोण कति रहेछ ? उकाली ओराली मात्र सकिएनन् हाम्रा । चौतारा पनि भत्किए । धारा कुवा पनि सुकाइए । वरपिपल र समी जस्ता लामो आयु भएका र अक्सिजन छोड्ने बनस्पति समेत मासिए । प्राप्तिमा चिल्ला सडक बने । हामी हिड्न नपरेर गुड्ने भयौं । गाउँमा चिप्लो बाटो गए पछि गाउँ कुदेर सहर पर्नु नौलो कुरा होइन । औधोगिक देशका ब्यापारीले लाउन, खान , हिँड्न , गुड्न, पौडीन र उड्न सिकायो । त्यस बापत उसले दिएका उपहारको फेहरिस्त अझ लामो छ । हामीले क्यान्सर जस्ता घातक रोग पायौं । नयाँ नयाँ उत्पादनको प्रयोगले हाम्रा बस्ती कवाडीको भण्डारमा रुपान्तर पनि भए । उत्पादनको सिमा यति बढ्यो कि बजारमा आवश्यकता भन्दा धेरै सामान आए । हरेक मानिसलाई नयाँ देखि नुमा प्रतिष्ठा जोडेर हेरिने बनायो । प्रत्येक कुराको विकल्प छ भनेर प्रकृतिको कुनै विकल्प छैन भन्ने कुरा बिर्साइ रहेछ । बिज्ञान बिरोधी ,विकास बिरोधि , पुरातनवादी , यथास्थिति बाहकको आलोचना स्वीकार्नु पर्ने बाध्यता नपरोस् । प्रकृति माथिको मान्छेको आक्रमण कहाँ छैन । जल , जमिन ,जङ्गल र वायुमण्डल बिकृत पारिदै गएको कुरामा के तपाईं होइन भन्न सक्नु हुन्छ र ?
मान्छेको मात्र होइन संसारका सबै जीव र बनस्पतिको पनि निर्जीव बस्तुसँग अन्तर सम्बन्ध रहेको छ । जल र वायु मिलेर जलवायु शब्द बन्छ । दुबै निर्जीव भनेर बुझिन्छ । तर आज सबैभन्दा प्रदुषित जल र वायु नै हुन पुगे । पानी भनेको हिउँ बरफ वा बादल होइन । पानीको मुल आयु पानी हो बरफ र बादल त पानीको जीवनका आयाम मात्र हुन् । यसैगरी वायुमा चाहिने अक्सिजन बन्न पानीको त्यत्तिकै ठूलो भूमिका हुन्छ । आज नजानेर भन्दा जानेर प्राकृतिक चक्र भत्किएको छ । टुटेको छ । हामीसँग प्राकृतिक सम्पदाको त्यो अद्वितीय रूप छ । थियो भनौं कि अब , जसले हाम्रो जीवनलाई सुन्दरता, सन्तुलन र समृद्धि प्रदान गथ्र्यो । वन, नदी, पहाड, जलाशय र जैविक विविधता यो मानव मात्रको लागि नभई सम्पूर्ण पृथ्वीका जीवहरूका लागि जीवनरक्षाको मुल तत्व हो । मानव र प्रकृतिको सह–अस्तित्वको एक प्रतीक मान्नु मात्र होइन यो हाम्रो जीवनको आधारभूत आवश्यकता पूरा गर्ने साधन पनि हो । विकासको पाइला प्रकृतिमै अडिएको छ । जीवन सहज पार्न अर्थात बाँच्न मात्र नभई सांस्कृतिक, आध्यात्मिक र मनोरञ्जनात्मक दृष्टिकोणले पनि महत्वपूर्ण हुन्छ प्राकृतिक कुरा । हरियाली जंगलहरूले हाम्रो वातावरणलाई शुद्ध बनाउँछन्, नदीहरूले खेतीपाती र पिउने पानी उपलब्ध गराउँछन्, र जैविक विविधताले हाम्रो आहार बिहारको निरन्तर प्रणालीलाई जहिल्यै सकृय र स्वस्थ बनाउँछ। तर आजको युगमा मानवले विकासको नाममा पर्यावरणको दोहन गर्दैछ। अव्यवस्थित शहरीकरण, औद्योगिकीकरण, र वृक्षहरूको कटानले जैविक विविधता र प्राकृतिक सन्तुलन बिग्रँदो छ। यस्ता गतिविधिहरूले जलवायु परिवर्तन, बाढी, पहिरो र प्रकोप निम्त्याइरहेका छन्।
यो विनाशको शृङ्खला बाट धर्ती जोगाउन र हामी जोगिन पनि हामीले सचेत हुनु आवश्यक छ। वृक्षारोपण गर्न, जलस्रोतको संरक्षण गर्न, र जैविक विविधताको संरक्षण गर्ने प्रयास गर्नुपर्छ। सामुदायिक सहभागिता र सरकारी नीतिमा तादात्म्यता भए मात्र हामी पर्यावरण जोगाउन सक्छौँ । कुनै दिवसमा उद्घाटन र कुनै दिवसमा वृक्षारोपण गर्दैमा सुधारको ढोका खुल्ने छैन । प्रकृति हाम्रो जीवनको अभिन्न हिस्सा हो। यसको संरक्षण हाम्रो कर्तव्य मात्र नभई भावी पुस्ताको लागि हाम्रो जिम्मेवारी पनि हो। प्रकृति जोगाउनु भनेको पृथ्वी र मानव जातिको उज्ज्वल भविष्य सुनिश्चित गर्नु पनि हो । अरु त अरू मान्छेकै अपुताली परेको हामी टुलुटुलु हेरेर बस्नु मुर्खता हो । हिजोका दिन पर्यावरण जोगाउनु धर्म थियो । मानिसहरू मनैदेखी लाग्थे । आज नियमले बाँधिएर पनि औपचारिकता मात्र पूरा गरिन्छ । आजको युग मुटुको लागि नभएर आँखाको लागि भएको छ । प्रयासहरू सरकारी नियमबाट मात्र होइन ब्यक्तिगत ब्यवहारले पूरा हुन्छन् । सरकारले सदैब जनहितमा निगरानी राखोस् । जन जनले मनदेखी काम थालोस् । प्रदुषित वातावरणले शरीर मात्र रोगी बनाउने होइन हाम्रो मन पनि रोगी बन्दैछ । हाम्रो मन समेत प्रदुषण रहित पार्न हामी जो कोहि प्रकृति संरक्षण लाग्न ढिला भैसकेको छ । हरेक उत्पादनको प्रयोगमा मितब्ययिता र बस्तुको न्यून खपत हुनु बजारको लागि प्रत्यक्ष रूपमा हानिकारक देखिएला तर त्यसको दीर्घकालीन असर मानव हितमै देखिन्छ । हाम्रा महर्षीहरूले सादा जीवन उच्च विचार उसै भनेका होइनन् । आज सस्तो नाराको रूपमा प्रयोग हुने यो वाक्यको अन्तर्य वातावरणसँग पनि जोडिएको छ । प्लास्टिक जन्य बस्तुको पुनः प्रयोगलाई सामान्य उदाहरणको रूपमा लिन सकिन्छ । घर बाहिर निस्कँदा झोला बोकेर हिड्ने बानीले हाम्रा सामग्रीको सुरक्षा मात्र हुने होइन कि प्लास्टिक खपत समेत रोक्छ ।
उत्पादन र विकास सँगसँगै त्यसले दिने सुविधा मात्र थपिएका छैनन् सँगसँगै वातावरण प्रदुषण पनि थपिएको छ । सुधार र सुविधाको सन्तुलन नमिल्नु जहिल्यै हानिकारक हुन जान्छ । विज्ञान र प्रविधिले पनि उत्पादन हुने बस्तुको उत्पादन हुँदा र त्यसको प्रयोग र त्यसको अन्तिम निष्कासन प्रक्रियामा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । कुरा ठुला भन्दा साना साना काम र व्यवहारले पनि हामी वातावरण सुधारमा सहयोग गर्न सक्छौं । जन्मदिनको दिन एउटा बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने परिपाटीको विकास गर्न सक्छौं । काठमाडौ जस्तो घना बस्तीमा पनि एउटा फूलको बिरुवा गमलामै भए पनि रोप्न सकिन्छ । मन प्राकृतिक भए खुल्ला स्थान खोज्न पनि सकिन्छ । हामी प्रकृति भन्दा टाढा पुग्नु नै हामी विनासको नजिक पुग्नु हो । मान्छेले प्रायः ठान्छ मसँग समय छैन । तर प्रश्न यहाँ उठ्छ के साँच्चै समय छैन कि हामीले समयलाई अर्थहीन कुरामा खर्च गरिरहेका छौं ? प्रकृति जोगाउने कुरा ठूला भाषण वा विशाल अभियानबाट मात्र सुरु हुँदैन । त्यो सुरु हुन्छ सानो चेतनाबाट एक गहिरो अनुभूतिबाट । जब मान्छेले महसुस गर्छ कि ऊ आफैं प्रकृतिको अंश हो, तब संरक्षण कुनै कर्तव्य होइन, स्वाभाव बन्छ ।
आजको व्यस्त जीवनमा प्रकृति जोगाउन मान्छेले गर्न सक्ने केही गहिरा, चेतनात्मक कामहरू पनि छन् । हरेक दिन केही क्षण आफूलाई सम्झाउने—म पृथ्वीकै एक उपज हुँ । सन्तति हुँ । छोरा÷छोरी हुँ । यो हावा, यो पानी, यो माटो बिना म अधुरो छु ।
यस्तो स्मरणले उपभोगलाई संयममा बदल्छ । हामीले किन्ने र प्रयोगमा ल्याउने हरेक वस्तु, प्रयोग गर्ने हरेक स्रोत प्रकृतिबाट आएको हो । अनावश्यक उपभोग घटाउनु, फाल्ने संस्कारभन्दा जोगाउने संस्कार विकास गर्नु यो सानो देखिने तर गहिरो प्रतिक्रान्ति हो विनासको । कहिलेकाहीँ व्यस्तताबाट टाढा गएर एउटा रुखसँग बस्नु, नदीको किनारमा मौन हुनु, आकाशलाई नियाल्नु यी केवल रमाइलो मात्र होइनन्, यी मनसँग प्रकृतिको पुनर्मिलन पनि हुन्। आफू मात्र सचेत भएर पुग्दैन, वरपरका मानिसलाई पनि प्रेरित गर्नु आवश्यक छ । तर त्यो उपदेशबाट होइन, व्यवहारबाट । जब अरूले तपाईंको सरल, सन्तुलित जीवन देख्छन्, उनीहरू आफैं सोच्न थाल्छन् । प्रकृति संकटमा छ भन्ने कुरा सत्य हो । तर निराशा समाधान होइन । आशा भनेको अन्ध विश्वास होइन, त्यो सक्रिय जिम्मेवारी हो । म पनि केही फरक गर्न सक्छु भन्ने विश्वास । अन्ततः, प्रकृति जोगाउने प्रश्न बाहिरी मात्र होइन, भित्री पनि हो। जबसम्म मान्छेको भित्री लोभ, असन्तुलन र असचेतनामा रहिरहन्छ, बाहिरी संरक्षण अधुरो रहन्छ । त्यसैले, आजको व्यस्त दैनन्दिनीमा प्रकृति जोगाउने सबैभन्दा ठूलो उपाय शायद यही हो कि आफ्नो भित्रको शान्ति, संयम र संवेदनशीलता जोगाउनु । किनकि जब मान्छे आफैंभित्र हराउन सक्दैन ऊ हराउन यहि प्रकृति अनिवार्य छ ।









प्रतिक्रिया दिनुहोस्