सिडिओलाई गुलाफ र प्रहरीलाई मखमली फूल उपहार



कोहलपुर (बाँके) ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला प्रधानमन्त्री रहेका ओलीलाई शनिबार प्रहरीले पक्राउ परेको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका ओली पक्राउको विरोधमा एमालेले देशभर विरोध गरिरहेको छ ।

ओली पक्राउपछि बसेको नेकपा एमालेको सचिवालय बैठकको निर्णयअनुसार देशभर आइतबार पनि प्रदर्शन भयो । बैठकको निर्णयअनुसार एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । पार्टीको निर्देशनअनुसार शनिबार नेपालगन्जमा समेत विरोध प्रदर्शन भएको थियो ।

आइतबार पनि जिल्लाभरका नेता कार्यकर्ता ओली रिहाइको माग गर्दै सडकमा उत्रिएका थिए । तर, नेपालगन्जमा एमाले नेता कार्यकर्ताहरूले रचनात्मक विरोध कार्यक्रम गरे । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले प्रतिशोध साँधेर ओलीलाई पक्राउ गरेको उनीहरूको आरोप छ । शनिबार नेपालगन्जमा एमाले नेता कार्यकर्ताले गृहमन्त्री गुरुङ पुत्लासमेत जलाएका थिए ।

आइतबार भने फरक दृश्य देखियो । सरकारको विरोधमा एमालेका कार्यकर्ता प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए । साथै केही नेता कार्यकर्ता भने हातमा फूल लिएर सडकमा देखिए । नेपालगन्जमा एमालेको प्रदर्शनमा सहभागी एक महिला कार्यकर्ताले भनेकी छन्, ‘प्रहरी साथीहरूको लागि हामीले हजारी फूले स्वागत गर्नेछौँ । गुलाफको फूल सिडिओ सरलाई ।

प्रहरीहरू हाम्रो साथीभाइ हुनुहुन्छ । त्यही भएर फूल दिन घरमा बोकेरै आएका छौँ,’ प्रहरीको बर्दी र उहाँहरूको भूमिकाको सम्मान गर्दै फूल प्रदान गरेको उनले बताइन् । यसैगरी नेकपा बाँकेका एमाले नेता भीम वलीले प्रहरीसँग नागरिकको मित्रताको सम्बन्ध रहेको बताए । उनले भने, ‘बर्दी लगाएका प्रहरी र हामी बिनाबर्दीका प्रहरी हौँ । हाम्रो सम्बन्ध एउटै हो । देशलाई माया गरौँ । प्रहरीसँग तिक्तता नबढोस् भनेर फूलले स्वागत गरेको हो ।’

यस्तै एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष रत्न खत्री, युवा नेता किशोर थापा र केन्द्रीय सदस्य सूर्यप्रसाद ढकालसहितका नेताहरूले फूल बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई गुलाफको फूल उपहार प्रदान गरेका थिए । उक्त अवसरमा बोल्दै नेकपा एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले केपी ओलीलाई थुनेर राष्ट्रियताको आन्दोलन कमजोर पार्छु भन्ने नठान्न सरकारलाई चेतावनी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा उनले भने, ‘हामी बम बारुद लिएर सिडिओ कार्यालय आएका छैनौँ । यो नागरिकको सेवा गर्ने कार्यालय हो । हामी फूल बोकेर आएका छौँ ।’ बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले आफूहरू सधैँ न्यायका लागि लड्ने बताए ।

उनका अनुसार सरकारले प्रतिशोधको राजनीति गर्नु उपयुक्त देखिँदैन । २३ गतेको घटना मात्रै होइन भदौ २४ को घटनाका दोषी समेत कारबाही गर्न उनले माग गरे । ‘७७ वटै जिल्लामा विरोधपत्र बुझाउने कार्यक्रमअन्तर्गत बाँकेमा पनि बुझाएका हौँ । हाम्रो माग र मुद्दालाई बेवास्ता गरिए राजनीतिक द्वन्द्वमा देश जानेछ । त्यसले छिटोभन्दा छिटो हाम्रो माग पूरा हुनुपर्छ,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार