बालेन सरकारका पाँच महिला सारथी



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेतृत्वको १५ सदस्यीय मन्त्रीपरिषद्मा ५ महिला छन् । राज्यले समावेशिताको नीति अंगालेको १८ वर्षपछि मन्त्रीपरिषद्मा पहिलोपटक ३३ प्रतिशत महिला मन्त्री बनेका हुन् । बालेन नेतृत्वको मन्त्रीपरिषद्मा पुगेका ५ महिलाले खसआर्य, दलित, मधेसी र थारू समुदायको प्रतिनिधित्व गर्छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

१२ चैतमा बालेन्द्र शाह (बालेन) नेपालको ४३औँ प्रधानमन्त्री नियुक्त भए । शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहका दुई तस्बिरबारे चौतर्फी चर्चा भइरहेको छ । उक्त विशेष समारोहमा उपस्थित थिइन् ७३ वर्षीया निवर्तमान प्रधानमन्त्री सुशीला कार्की । भदौ २७ गते मुलुकको ४२औँ प्रधानमन्त्री नियुक्त भएकी कार्की १९६ दिनसम्म उक्त जिम्मेवारी सम्हाल्न् ।

शपथ ग्रहणपछि कार्कीले बालेनलाई अंगालो मार्दै शुभकामना दिइन् । विषम परिस्थतिमा देशको नेतृत्व सम्हालेर निर्वाचनमार्फत नयाँ नेतृत्व हस्तान्तरण गर्दा कार्कीको मुहारमा खुसी झल्किन्थ्यो । केही अघिको एक अन्तरवार्तामा कार्कीले भनेकी थिइन्, ‘बालेनलाई म छोरो भनी बोलाउँछु । उसले चाहिँ मलाई दिदी भन्छ ।’

समारोहमा चर्चा भएको अर्को तस्बिर हो, बालेनले आफ्नो छोरीलाई बोकेको । डेढ वर्षीय छोरी र बालेन पहिलोपटक त्यसरीसँगै देखिएका थिए । ३६ वर्षीय बालेन प्रधानमन्त्रीभन्दा छोरीसँगै देखिएको तस्बिर सेयर गर्दै धेरैले उनलाई ‘जिम्मेवार अभिभावक’को रूपमा चर्चा गरेका छन् । अब त उनी सिंगो देशको अभिभावक बनेका छन् ।

अर्को उल्लेखनीय पक्ष भनेको बालेन नेतृत्वको सरकारमा उनका पाँच महिला सारथी छन् । त्यसो त बालेन सरकारमा युवाहरूको वर्चस्व छ । १६ सदस्यीय मन्त्रीपरिषद्मा ४० वर्ष उमेर समूहका मन्त्रीको सङ्ख्या १० जना छ । अर्थमन्त्री स्वर्णिम वाग्ले मन्त्रीपरिषद्का ज्येष्ठ सदस्य (५१) हुन् । प्रधानमन्त्री स्वयम् ३६ वर्षका भए । गृहमन्त्री सुधन गुरुङ ३८ वर्षका हुन् ।

२९ वर्षीय सस्मित पोखरेल । उनी बालेन मन्त्रीपरिषद्का सबैभन्दा कान्छा सदस्य हुन् । उनलाई शिक्षा विज्ञान प्रविधि तथा युवा तथा खेलकुदमन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बालेन सरकारका पाँच महिला मन्त्रीहरू सबै ४० मुनिका हुन् । तीमध्ये सबैभन्दा ज्येष्ठ स्वास्थ्यमन्त्री निशा मेहता ३८ वर्षकी भइन् ।

३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री बनेकी छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उमेर ३२ वर्ष मात्रै छ । महिला तथा बालबालिकामन्त्री सीता वादी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम दुवैजना ३०÷३० वर्ष भए ।

कानुनमा एलएलबी गरेकी सोविता बनिन् कानुनमन्त्री

३ असार २०५२ मा दोलखामा जन्मिएकी हुन् कानुनी न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम । हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन् । उनी चितवन–३ बाट निर्वाचित भएकी थिइन् । सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम र आमा तथा एक भाइ छन् ।

शिक्षाप्रति रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट पूरा गरेकी थिइन् । त्यसपछि उनले कानुन विषयमा स्नातक (एलएलबी) उत्तीर्ण गरेकी छन् भने हाल काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत छिन् । राजनीतिमा प्रवेश गर्नुअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहँदै आएकी थिइन् । केही समय पत्रकारिता समेत गरेकी गौतम अघिल्लो निर्वाचनमा काठमाडौँ २ बाट निर्वाचित भएकी थिइन् ।

शालीन र जुझारु प्रतिभाको राजकीय जिम्मेवारी

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर महेन्द्रनगरकी प्रतिभा रावल बालेन सरकारकी महत्वपूर्ण सदस्य बनेकी छन् । उनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेकी छन् । रावल रास्वपाकी सहप्रवक्ता समेत हुन् । उनी खसआर्य समूहबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले एक दशकभन्दा बढी समय पत्रकारिता गरिन् ।

साउथ एसिया फ्याक्ट चेक, रिपब्लिका दैनिक र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरेको अनुभव उनीसँग छ । रावलले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेकी थिइन् । अधिवक्ता समेत रहेकी उनी रवि लामिछानेलाई कानुनी पाटोमा पनि निकै सहयोग गरेकी छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनी रास्वपाभित्र शालीन र जुझारु नेतृको रूपमा परिचित छिन् ।

सीता वादी ः वादी समुदायको पहिलो मन्त्री

२०५२ भदौ २३ गते कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर ११ नयाँबजारमा जन्मिएकी सीता वादीले नेपालको पहिलो वादी समुदायबाट मन्त्री बन्ने इतिहास रचिन् । उनी बुवा गोपाल वादी र आमा पार्वती वादीकी ज्येष्ठ सुपुत्री हुन् । भूमिहीन र सुकुम्वासी परिवारमा जन्मिएकी वादीको बाल्यकाल निकै संघर्षशील थियो ।

राजनीति शास्त्रमा मास्टर्स गरेकी सीता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दलित क्लस्टरअन्तर्गत समानुपातिक सांसद बनेकी हुन् । ‘सुन्दर सहज नेपाल’ नामक संस्थामार्फत बाल संरक्षण, शिक्षा, महिला र आर्थिक सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएकी उनी राजनीतिमा भने विवेकशील अभियानमार्फत राजनीतिमा जोडिएकी थिइन् । उनको दुई वर्षअघि विवाह भएको थियो ।

संघर्षले सफलता चुमेकी गीता

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री बनेकी छन् गीता चौधरी ३३ वर्षीया चौधरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की स्थानीय हुन् । सामान्य थारू परिवारमा जन्मिएकी उनको जीवन निकै संघर्षपूर्ण छ । चौधरीका आमाबुवाले साहुबाट ऋण लिएर पढाएका थिए ।

निकै संघर्ष गर्दै उनले कानुनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । अधिवक्ताका रूपमा उनले विशेषगरी गरिब, दलित र सीमान्तकृत समुदायका लागि काम गर्दै आएकी छन् । उनी विशेषतः जग्गा विवाद र घरेलु हिंसासम्बन्धी मुद्दा हेर्ने गर्थिन् । अनेरास्ववियुमार्फत राजनीति सुरु गरेकी उनले पछि नेकपा एमाले त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट २०७९ को प्रदेशसभा निर्वाचन लडेकी थिइन् ।

नर्स निशालाई स्वास्थ्य क्षेत्र शल्यक्रियाको जिम्मेवारी

सुनसरीको इनरुवामा २२ साउन २०४४ मा जन्मिएकी निशा मेहताले सिंगोको देशको स्वास्थ्य क्षेत्र शल्यक्रियाका जिम्मेवारी पाएकी छन् । भारतको ग्यालियर विश्वविद्यालयबाट नर्सिङ विषयमा स्नातकोत्तर गरेकी छन् । उनी रास्वपामा स्थापनाकालदेखि नै सक्रिय थिइन् ।

मधेशी महिलाको कोटाबाट अघिल्लोपटक पनि समानुपातिक सूचीमा परेकी उनी यसपटक सांसद मात्रै बनिनन्, बालेन सरकारमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत बनेकी छन् । उनी प्रहरीपत्नी पनि हुन् । निशाका श्रीमान डा. सरोजसिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख र प्रहरी नायब उपरीक्षक हुन् । नर्स निशाको काँधमा सिंगो देशको स्वास्थ्य क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार