सुत्केरी व्यथा लागेकी गर्भवतीको उद्धार



हुम्ला ।

सुत्केरी व्यथा लागेकी एक गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । शुक्रबार बिहान सिमकोट बजारस्थित घरमै सुत्केरी व्यथा लागेपछि बुढालाई तत्काल हुम्ला जिल्ला अस्पताल पु¥याइएको थियो ।

तर अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले दिशा खाइसकेकोले गम्भीर अवस्था देखिएपछि तुरुन्तै अपरेसन गर्नुपर्ने देखिएको थियो । अस्पतालमा रहेका चिकित्सकले सो निष्कर्ष निकालेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।
अस्पतालकी स्टाफ नर्स सर्मिला गिरीले तालिमप्राप्त चिकित्सक जिल्लामा नहुँदा जिल्ला बाहिर रेफर गर्नुपरेको बताइन् ।

आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने अवस्था देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने हुँदा प्रदेश अस्पताल सुर्खेतमा पठाइएको उनको भनाइ छ । जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्भवती बुढाको राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा उद्धार गरिएको हो । दुर्गम भौगोलिक अवस्थाका कारण हुम्लामा समयमै स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ हुने हुँदा गर्भवतीलाई आकस्मिक रूपमा हवाई उद्धार गर्नुपर्ने बाध्यता छ ।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक सुविधा अभाव र जटिल अवस्था देखिएपछि चिकित्सकको सल्लाहमा हेलिकोप्टर बोलाइएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । उद्धारपछि महिलालाई थप उपचारका लागि सुगम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा पठाइएको हो ।
हुम्ला जस्ता दुर्गम जिल्लाहरूमा गर्भवती महिलाहरूले समयमै उपचार नपाउने समस्या बारम्बार देखिँदै आएको छ ।

सडक सञ्जालको अभाव, स्वास्थ्य सेवा पहुँचको कमी र जोखिमपूर्ण भूगोलका कारण सुत्केरी व्यथाका बेला आकस्मिक उद्धारको आवश्यकता पर्ने गरेको सरोकारवालाहरू बताउँछन् । यस किसिमका घटनाले दुर्गम क्षेत्रमा मातृ स्वास्थ्य सेवाको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ । स्थानीय तह र सम्बन्धित निकायहरूले सुरक्षित मातृत्व सुनिश्चित गर्न दीर्घकालीन योजना र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार