नन्दराम जैशी । सुर्खेत ।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक वादी समुदायले संघीय सरकारमा प्रतिनिधित्व पाएको छ । शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् विस्तारसँगै सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकी हुन् । यो उनका लागि राजनीतिमा ऐतिहासिक उदय हो ।
वादी समुदायका अगुवा हिक्मत वादीका अनुसार सीताको मन्त्री पद नियुक्ति समग्र समुदायका लागि ऐतिहासिक उपलब्धि बनेको छ । ‘यसअघि वादी समुदायले न संघीय संसदमा प्रतिनिधित्व पाएको थियो, नत मन्त्रिपरिषद्मा नै’ उनले भने, ‘यो केवल एक व्यक्तिको सफलता मात्रै नभइ सिंगो वादी समुदायको पहिचान र सम्मानको विषय बनेको छ ।’
सीता वादीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलित क्लस्टरअन्तर्गत समानुपातिक सूचीको तेस्रो नम्बरमा समेट्दै सांसद बनाएको थियो । उनले आफू सांसद बन्ने कल्पना समेत नगरेको अवस्थामा मन्त्री बन्ने अवसर पाउनु आफ्ना लागि अप्रत्याशित उपलब्धि बनेको उनले बताइन् । उनी विगतमा विवेकशील समूहसँग आबद्ध रहँदै रञ्जु दर्शनासँग नजिक रहेकी थिइन् ।
पछिल्लो समय बालेन शाहको टिमबाट राजनीतिमा सक्रिय हुँदै उनले सांसद र मन्त्री दुवै पद हासिल गर्न सफल भएकी हुन् । उनको नियुक्तिसँगै वादी समुदायको प्रतिनिधित्व मात्र नभई समावेशी राजनीतिप्रति नयाँ सन्देश गएको विश्लेषकहरूले बताएका छन् । सीतालाई मन्त्रिपरिषदमा समेट्दा कर्णालीको प्रतिनिधित्व पनि भएको रास्वपाले जनाएको छ ।
सामाजिक रूपमा पछाडि पारिएको समुदायबाट राष्ट्रिय राजनीतिमा पुगेकी उनको यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । सीताको यो यात्रा केवल एउटा पद प्राप्ति मात्र नभई सदियौँदेखिको विभेद र अभाव विरुद्धको एउटा जीवित विद्रोहका रुपमा स्थापित भएको छ । रास्वपाले उनलाई समानुपातिक सूचीमा राखेपछि र पार्टीले उल्लेख्य सफलता पाएपछि सीताको संसदीय यात्रा सुनिश्चित भयो ।
संसदमा उनको प्राथमिकता स्पष्ट छ । अधिकांश वादी समुदाय अझै पनि भूमिहीन र घरबारविहीन छन् । उनीहरूलाई व्यवस्थित बसोबास र जग्गाको स्वामित्व दिलाउन नीतिगत पहल गर्ने अपेक्षा छ । समाजले वादी समुदायलाई हेर्ने दृष्टिकोण अझै पुरातनवादी छ । यस विरुद्ध स्पष्ट कानुन र सामाजिक चेतनाका कार्यक्रम ल्याउने र आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यबाट वञ्चित बादी बालबालिकाका लागि विशेष छात्रवृत्ति र सहुलियतको व्यवस्था गर्ने उनको अठोट छ ।
को हुन् सीता वादी ?
संघर्षशील पृष्ठभूमिबाट उदाएकी सीता वादी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झूप्रा खोलाको वादी बस्तीमा जन्मिएकी हुन् । २०५२ भदौ २३ गते वीरेन्द्रनगर–११ कै नयाँगाउँमा जन्मिएकी सीताको बाल्यकाल झुप्राखोला र भेरी नदीका किनारहरूमा वित्यो । उनी बुवा गोपाल वादी र आमा पार्वती वादीकी छोरी हुन् । अधिकांश वादी परिवार जस्तै उनको परिवार पनि भूमिहीन थियो ।
बिहान–बेलुकाको छाक टार्न उनका आमाबुबा खोलामा बालुवा चाल्थे । सीताले पनि कलिलो उमेरमै बुबाआमासँगै बालुवा चालेर जीवनको कठोर यथार्थ बुझिन् । भेरीगंगाको सत्तरीमा प्राथमिक शिक्षा लिँदा उनलाई विद्यालय पुग्नै दैनिक दुई घण्टा पैदल हिँड्नुपथ्र्यो । पारिवारिक आर्थिक अवस्थाले शिक्षामा अवरोध पु¥याए पनि उनको पढ्ने इच्छा कहिल्यै मरेन ।
स्कुल जान छाडेर छाक टार्न परिवारसँगै बालुवा चाल्ने र गिट्टी कुट्ने काम गरिन । निकै संघर्षका साथ जेनतेन ९ कक्षासम्म सुर्खेतमा पढिन् । उनले जनसेवा मावि घुस्रामा ४ देखि ९ कक्षासम्म पढेकी थिइन् । १३ वर्षको हुँदा एक संस्थाको सहयोगमा काठमाडौँको एक होस्टेलमा बसेर उनले अध्ययन गर्न पाइन् । त्यसपछि उनको जीवनले नयाँ मोड लियो ।
त्यहाँ उनले अक्षर मात्र चिनिनन्, बरु आत्मसम्मान र अधिकारका लागि लड्नुपर्छ भन्ने चेतना समेत पाइन् । सोही संस्थाकै सहयोगमा उनले सामाजिक विषयमा स्नातक र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेकी छन् । सीताको परिवार अझै झुप्रा खोलामै बस्छ । बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्दै आएको उनको परिवारको यही कठोर संघर्षबाट उदाएकी सीता पढाइसँगै आफूजस्तै पछाडि परेका समुदायका महिला, बालबालिकाका क्षेत्रमा विगत एक दशकदेखि सक्रिय छन् ।
काठमाडौँको बुढानीलकण्ठ—८ निवासी सुरेश पुर्कटीसँग दुई वर्षअघि बिहे गरेकी उनी राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कटीकी बुहारी हुन् । उनले दलित समुदायभित्रकै सार्की समुदायको पुर्कटीसँग मागी बिहे गरेकी हुन् । दलित समुदायभित्रै हुने जातीय विभेदको अन्त्य गर्ने उद्देश्यसहित मागी बिहे गरेर काठमाडौँ गएकी सीता दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा तथा महिलालाई व्यावसायिक तालिम दिदै आएकी थिइन् ।
हाल उनको काठमाडौँमा हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसाय छ । ‘सुन्दर सहज नेपाल नामक’ संस्थामार्फत बाल संरक्षण, शिक्षा र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा एक दशक बढी काम गरेको अनुभव उनीसँग छ । उनी लगायत केही व्यक्तिहरूको अगुवाइमा ‘वादी सस्टेन कम्पनी’ स्थापना गरेर आर्थिक रूपमा पछि पारिएका समुदायका लागि दीगो जीविकोपार्जनको क्षेत्रमा काम गरिएको थियो ।
उनको यही अनुभवका कारण रास्वपाले उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको हो । सीताले यो आफ्नो जीवनको अत्यन्तै महत्वपूर्ण र गर्विलो क्षण रहेको बताइन् । आफू सधैँ जनताको पक्षमा उभिने उनको भनाइ छ । उनले इमानदारी, पारदर्शिता र उत्तरदायित्वका साथ आफ्नो कर्तव्य पूरा गर्ने प्रणसमेत गरेकी छन् ।









प्रतिक्रिया दिनुहोस्