आज प्रधानमन्त्री बन्दै बालेन



पुराना नेता र राजनीतिक दलका कारण देशको समग्र अवस्थामा सुधार हुन नसकेको दाबी गर्दै निर्वाचनमा होमिएका शाह र उनीआबद्ध दलले कसरी नेपालमा सुशासन कायम गर्दै समृद्धिको बाटोमा अघि बढाउँछन् भन्ने आम चासो छ ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि बाहिर निस्कने क्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह आज (शुक्रबार) नेपालको प्रधानमन्त्री हँुदैछन् । बिहीबार रास्वपाले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विजयी भएका सांसदहरूको शपथग्रहण सकिएलगत्तै रास्वपाले शाहलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।

यद्यपि प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा जाँदा नै रास्वपाले शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो ।नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यही संवैधानिक प्रावधानका कारण शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

उनीसँगै मन्त्रीहरूले पनि शपथ लिने बताइएको छ । करिब दुईतिहाइ सिट सङ्ख्याका साथ प्रधानमन्त्री हुन लागेका शाहलाई आमनागरिकले उत्साहका साथ हेरिरहेका छन् । खासगरी पुराना नेता र राजनीतिक दलका कारण देशको समग्र अवस्थामा सुधार हुन नसकेको दाबी गर्दै निर्वाचनमा होमिएका शाह र उनीआबद्ध दलले कसरी नेपालमा सुशासन कायम गर्दै समृद्धिको बाटोमा अघि बढाउँछन् भन्ने आम चासो छ ।

रास्वपाले सुशासन, पारदर्शिता, आर्थिक सुधार, सेवा प्रवाहको सरलीकरण, युवा नेतृत्वलाई प्राथमिकता जस्ता एजेन्डासहित चुनाव लडेको थियो। रास्वपाका यिनै एजेन्डालाई मन पराएर मतदाताले ऐतिहासिक जित दिलाएको विश्वास गरिन्छ । विभिन्न स्रोतहरूले भने शाहले प्रधानमन्त्री भएलगत्तै सुधारका थुप्रै योजना र कार्यक्रम घोषणा गर्ने दाबी गरिरहेका छन् ।

शाह ३६ वर्षको उमेरमा प्रधानमन्त्री बन्न लागेका हुन् । नेपालमा सबभन्दा कान्छा प्रधानमन्त्रीको रेकर्ड भने जंगबहादुर राणाको नाममा छ । राणा २९ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । शाह कान्छा प्रधानमन्त्री हुने सूचीको छैटौँ नम्बरमा छन् । मधेसी समुदायको तर्फबाट भने उनी पहिलो प्रधानमन्त्री हुने भएका छन् ।

यस्तो छ प्रधानमन्त्री चयनको प्रक्रिया

नेपालको संविधान २०७२ को धारा ७६ (१)अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित दलले संसदीय दलको नेता चयन भएको औपचारिक पत्र राष्ट्रपति कार्यालयमा बुझाउनुपर्छ । पत्र प्राप्त भएपछि राष्ट्रपतिले सोही आधारमा प्रधानमन्त्री नियुक्त गर्ने निर्णय लिने प्रावधान रहेको छ ।

रास्वपाले संसदीय दलको नेताको निर्णयबारे राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेको जनाएको छ । जसअनुसार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण समारोहको तयारी पनि सुरु भइसकेको राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

६३ जना सांसदले लिएका थिए मातृभाषामा शपथ

बिहीबार शपथ लिएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यमध्ये ६३ जनाले आफ्नै मातृभाषामा शपथ लिएका थिए । संघीय संसद् सचिवालयका अनुसार यी ६३ सांसदहरूले इमेल वा व्यक्तिगत रूपमा उपस्थित भएर मातृभाषामा शपथ लिन चाहेको जानकारी दिएपछि सोहीअनुसार व्यवस्था गरिएको थियो ।

सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराएका थिए । सांसदहरूले मैथिली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारू, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, उर्दू, राजवंशी, थकाली, शेर्पा, राना थारू, धिमाल, कुमाल, अवधीलगायतका भाषामा सपथ लिएका थिए ।

यसअघि २०७९ को निर्वाचनमा भने २८ सांसदले नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिएका थिए । २०६४ को संविधानसभामा ६०० सभासद्मध्ये २६४ जनाले मातृभाषामा शपथ लिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार