नेपालका ८ खेलाडीले इयू टी–२० लिग खेल्ने



काठमाडौँ ।

नेपालका ८ जना खेलाडी बेल्जियमको इयू टी–२० लिगका लागि आबद्ध हुन सफल भएका छन् । नेपालको लिगबाहेक एकै पटक यति सङ्ख्या नेपाली खेलाडीले खेल्न लागेको यो पहिलो विदेशी लिग हो । मंगलबार राति बेल्जियमको राजधानी ब्रसेल्समा भएको ड्राफ्टबाट ६ जना खेलाडीलाई टोलीले आबद्ध गरेका हुन् । यसअघि दुई जना खेलाडीलाई टोलीहरूले पहिले नै छनोट गरिसकेका थिए ।

यसअघि सन्दीप लामिछानेलाई लिएज रेड लायन्स र दीपेन्द्रसिंह ऐरीलाई जेबी ब्रुजले टोलीमा आबद्ध गरेका थिए । मंगलबार भएको ड्राफ्टमा कप्तान रोहितकुमार पौडेललाई ग्लेन्ट ग्लाडियटर्सले टोलीमा भित्र्यायो । विकेटकिपर ब्याटर आसिफ शेखलाई आन्थ्रोप एंकर्सले लिएको छ । ड्राफ्टअघि दीपेन्द्रलाई आबद्ध गरेको जेबीले थप चार नेपाली खेलाडी ड्राफ्टबाट भित्र्यायो ।

जसमा अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे छन् । ड्राफ्टमा २२ जना खेलाडीले नाम दर्ता गराएका थिए ।
जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी)को लगानीकर्ता कम्पनी ड्रिम स्पोट्र्सको स्वामित्वमा रहेको टोली हो । इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो ।

बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोट्र्स एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ । नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोट्र्सले पहिलो सिजनमा १० लाख डलरसम्म खर्च हुने अनुमान गरेको छ ।

एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख सहरहरू प्रतिनिधित्व गर्ने ५ फ्रेन्चाइज टिमहरूले राउन्ड–रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन् । यसअघि ६ टोली भनिए पनि अहिले ५ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । सहभागी टोलीमा जेबी ब्रुजसहित आन्थ्रोप एंकर्स, ग्लेन्ट ग्लाडिएटर्स, एक्सेल युनाइटेड र लिएज रेड लायन्स छन् ।

प्रत्येक टिममा १८ खेलाडी हुनेछन् । जसमा कम्तीमा ४ खेलाडी बेल्जियन (सुरुवाती–११ कम्तीमा २ जना अनिवार्य), ४ खेलाडी एसोसिएट टोलीका, ४ खेलाडी पूर्ण सदस्य टोलीका सक्रिय खेलाडी र ६ जना ‘भेट्रान’ (अनुभवी पूर्ण सदस्य राष्ट्रका खेलाडी, जसले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्) हुने बताइएको छ । इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन ग्लोबल ब्रान्ड एम्बेसडर छन् । मोर्गनले मंगलबार भएको ड्राफ्टमा पनि उपस्थित हुँदै शुभकामना दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार