कथाः डम्मर रानाभाटसँगको अन्तिम रात



डा. इन्द्रबहादुर भण्डारी

गाउँमा अचेल कहिल्यै नदेखिएका मान्छेहरू घुमिरहेका थिए । आकाशमा दिनभरि हेलिकप्टर घमिरहेको थियो । गाउँलेहरू घरबाहिर निस्कन पनि डराइरहेका थिए । उनीहरु आफ्नै घरमा पनि आफूलाई असुरक्षित महशुष गरिरहेका थिए । साँझ परेपछि हेलिकप्टर थकाई मार्न आफ्नो गन्तव्यमा ओर्लिए जस्तो थियो । तर दिउँसो देखिने नयाँ मान्छेहरू कहाँ गएका होलान् तिनीहरू मध्ये कोही रातमा बास माग्न पनि आउन सक्छन्, कोही घर खानतलासी गर्न पनि आउन सक्छन् कोही भोक लाग्यो खाना पकाउनुस् भन्न पनि आउन सक्छन् । हिजो मात्रै पल्लो घरको कान्छालाई घाँस काट्दा काट्दै लछार्दै र पछार्दै गाडीमा कोचेर लगेका थिए । उसको अहिलेसम्म अत्तोपत्तो छैन् । घरका आमाबुबाको अझैसम्म आँसु थामिएका छैनन् । हिजोसम्म त साँझ पर्यो भने वरपर का सबै गाउँलेहरू त्यही घरमा जम्मा भएर रातको पहिलो प्रहरसम्म हाँसखेल र रमाइलो गर्थे । कान्छालाई लगेपछि गाउँलेहरूले त्यो घरतिर फर्केर पनि हेरेका छैनन् । छिमेकी भन्नुपनि हाँसखेल गर्दा मात्रै रहेछन् । दुःख–कष्ट आईपर्दा साथ दिन कसलाई पो फुर्सत हुँदोरहेछ र ? “काका नआत्तिनुस, तपाईको छोरालाई केही हुँदैन, नखाएको विष लाग्दैन भन्छन्, तपाईको छोराले केही बिराएको छैन । घाँस काट्ने गोठालो र वास्तविक दोषीमा फरक त अवश्य पनि छुट्टाउन सक्लान् नि ।

“ भन्दै सान्त्वना दिएर म आफ्नो घर तिर लाग्छु । त्यस्तो निर्दोष मान्छेलाई पक्राउ गरेर लैजानु मानवता विरूद्धको ठूलो अपराध हो, अनि बाँच्न पाउने अधिकारको ठाडो उल्लङ्घन हो । केही त गर्ने पर्यो भनेर कपी र कलम लिएर म घोरिन थाल्छु । चारैतिर अन्धकार थियो । चन्द्रमा दुई घडीका भएछन् क्यारे । अघिसम्म ठूली भाउजूको सानो बच्चा रोइरहेको थियो । अहिले ऊ पनि थाकेर निदाईसकेछ । कुनै अज्ञात त्रासबाट गाउँ भयभीत भएर मौन भइरहेछ या गाउँ साँच्चिकै मस्तनिद्रामा युतिरहेछ या पूरा अन्धकारले गाउँलाई त्यसैगरी सर्लक्क निल्न चाहन्छ जसरी सर्पले भ्यागुतालाई बिस्तारै विस्तारै अलिकता अलिकता गरेर निल्न चाहन्छ अनि भ्यांगुताको पीडित आवाज शून्यतामा बिलाउँदै समाप्त हुन्छ । टाढा टाढाबाट कुकुरहरू भुकिरहेको आवाज आईरहेको थियो। किन भुकेच्ने होलान् कुकुरहरू ? खान नपाएर होला कि ? बस्न नपाएर होला कि ? लगाउन त तिनीहरूलाई चाहिँदैन । या तिनीहरूले आफ्नो मैौलिक अधिकार नपाएर हो ? कुकुरहरू भुकिरहेका छन् मान्छेहरूको निद्रा बिथोल्दै । के मान्छे र कुकुरहरूमा भिन्नता छ ? भिन्नता भएको भए किन पल्लो घरको कान्छालाई लछार्दै र पछार्दै जबरजस्ती गाडीमा कोचेर लैजानु परेको होला ? किन आन्दोलनहरू हुन्छन ? किन युद्धहरू चर्किन्छन ? कुकुरलाई ढुङ्गाले हानेझै गास र बास माग्नेहरूको आवाजलाई बन्दुक र गोलीको भरमा दमन गरिन्छ ? दमनले नै हिंसात्मक युद्ध निम्त्याएको हुनुपर्छ । ठूला बढा शासकहरू उनीहरूको अर्थमा मान्छेहरू होलान्, अधिकार माग्नेहरू कुकुर होलान् त्यसैले त भोका र नाङ्गाहरूले शासकहरूको निद्रा बिथोलिदिएका होलान् । साँचो अर्थमा अब कुनै पनि रात मस्त निद्रामा सुत्न पाउँदैन, केवल सुतेको अभिनय गर्छ । उसकै काखबाट एउटा ब्वाँसोले खोरबाट बाख्रा थुतेर लगेपनि ऊ मौन रहन्छ। मौन रहनु रातको बाध्यता हो । अब रातलाई विश्वास गर्न सकिन्न । अब रातले हामीलाई निश्चिन्त भएर निदाउन दिँदैन । आजकल रातले गोहीलाई साथमा ल्याउन थालेको छ । “ऐ ! कुकुरहरू तिमीहरू चुप लाग त । गोही तिमीलाई निल्न नजिकै आएको हुनसक्छ ।”
“हेलो मित्र सञ्चै हुनुहुन्छ ?”

यो सपना हुनसक्छ । तर म निदाईरहेको त छैन नि ! यो मध्यरातमा । “चिन्नु भएन ?” ठूला ठूला टलक्क टल्किने आँखा, अलि तल टलक्क टल्किएका सेता दाँत, को हुन सक्छ यो मान्छे ? “हात त मिलाउनुस् न यार ?” भयभीत आँखाले टल्किएका आँखा र दाँत हेर्दै अनायासै हात अगाडि बढ्छ । त्यो हात दुईदिन पहिलेको हात थियो । हात अझै दुखिरहेको थियो । पुनः त्यो दुखाईलाई व्यूकाइदिएको छ । “अझै चिन्नु भएन ?” “ओहो । क. डम्मर ? चिने चिने । तिमीलाई कसरी बिर्सन सक्छु र ? यतिबेलासम्म के लेखिरहेको ? ” “तिमीहरूले नै सिर्जना गरिदिएको क्या । जहाँ पल्लो घरको कान्छो गोहीहरूको माझमा शिकार बन्दै होला या शिकार बनिसक्यो । तर तिमी यतिवेला यही ?” “ऐ। पल्लोघरको कान्छाको बारेमा लेख्न थालेको हो । यो साथै राम्रो काम हो । तपाई जस्ता निडर लेखकहरूले यस्ता अत्याचारहरूका बारेमा लगातार कलम चलाइराख्नु पर्छ । हाम्रो बन्दुक भन्दा पनि तिमीहरूको कलम शक्तिशाली बन्नसक्छ यस्ता नालायक शासकहरूको कर्तुत मेटाउन । ” “तर तिमी यतिबेला यस्तो अवस्थामा यहाँ ?” “साथी ! तपाई डराउनु पर्दैन, म यहाँ एक्लै आएको छैन, म आफ्नो पूरा सुरक्षाको व्यवस्था गरेर आएको छु र म त्यही पल्लोघरको कान्छाका बारेमा बुझ्न आएको हुँ । ” “तर म तिम्रो आगमनले धेरै असुरक्षित बनिसकेको छु । तिमीले अस्ति पल्लो घरको कान्छोलाई भे को थियौ हिजो कान्छो पक्राउ पर्यो त्यही अवस्था मेरो पनि नहोला भन्न सक्दिन ।” आगन्तुक केही बेरका लागि निरूत्तरित भयो । उसलाई थाहा थियो । उसको आगमन यस गाउँका लागि धेरै मूल्यवान बन्न सक्छ । उसले मेरों लेखको पाना समातेर पढ्न थाल्यो ।
“तिमीले खाना खायौ ?”

उसले टाउको हल्लाएर खाना नखाएको सङ्केत गर्यो । अझै उसका आँखा लेखबाट हटिसकेका थिएनन् । लेख पढेर सकेपछि लामो सास तान्दै मन्यो, “खाना खुवाएर शहीद बन्ने विचार छ ?” हाम्रा बाबु बाजेले भन्ये, “रातिमा आएका पाहुनालाई भोकै राख्नु हुन्न तर तिमी त मेरो बाल्यकालका साथी हौ । साथीको नाताले पनि यो कुरा सोध्नु मेरो कर्तव्य हो साथी केही बोलेन । उसका सेता सेता आँखाहरूले अध्यारोतिर हेर्न थाले । अलिपर बाटोमा सानो बत्ती बलेको सङ्केत देखियो साथी जुरूक्क उठेर बत्ती बलेतिर लम्कियो । मेरो मुटु डरले लग्लगी काम्न थाल्यो । केहीबेरपछि दौडेर आएर साथीले भन्नथाल्यो, “साथी हामी संसारलाई बदल्न टाउकोमा मृत्युको कफन बाँधेर हिडेका छौ । हामी जतिबेला पनि शहीद बन्न सक्छौं तर हामी मृत्युदेखि कहिल्यै डराउँदैनौ त्यसैले हामीले जित्यौ भने यो संसार नै गरिबको हुनेछ हार्यो भने यो एउटा शरीर मात्र हार्नेछ । साथी अर्को कुरा मेरो घरमा आमा साहै चिन्ता गर्नुहुन्छ रे। घरमा आमालाई सम्झाइदिने काम गर्नु । बाँचे अर्कोपटक भेटौला म अहिले लाग्छु भन्दै साथी केही बेरमै त्यहाँबाट बिलायो । गाउँभरि कुकुरहरू भुक्न थाले । यो अनिष्टताको सङ्केत हुनसक्छ । त्यो मेरो साथीले मृत्युलाई साथमा बोकेर हिडिरहेको छ । त्यो मृत्युले उसलाई जतिबेला पनि निल्न सक्छ । तर उसले मृत्युलाई जितेको हुनुपर्छ ।

यो संसार उसको मात्रै होइन । जीवर्तन उसको मात्रै होइन तर यो अन्धकारमा मेरो साथी मात्रै किन हिडिरहेको छ प्रत्युलाई बोकेर ? सारा गाउँ सुतिरहेको छ मेरो साथीलाई बेवास्ता गरेर । किन सुन्दैन जो रात ? मेरो साथीको आवाज। ऐ ! भालेहरू अब छिट्टै वास आ–आफ्नो खोरबाट बहानीलाई बोलाउन । नत्र बिहानी हुनु पूर्व नै उषालाई बादलको धब्बाले छेक्ने छ। सूर्यको आगमन पूर्व नै यहाँ अन्धकारले आफ्नो साम्राज्य फैलाउने छ । अर्कोदिन बिहानै गाउँभरि भयभीत आँखाहरूले आपसमा कुराहरू गरिहेका थिए । अनिष्ट समाचारको पुष्टी हुन बाँकी थियो । हकरले पत्रिकालाई आफ्ना नियमित ग्राहकलाई पुरÞ्याउन सकेन । तर पनि पत्रिका मौन रहेछ । “क. डम्मरेलाई त …… ” एउटा चिया पसलेले भन्दै थियो । “खत्तम पारेछन् नि ।” “हो रहेछ त चिया ग्राहकले भन्दै थियो । “एफ.एम.ले पनि भनेछ ।” हिजो दिनभरी आकाशमा हेलिकप्टर घुमेको घुमै थियो भुइँबाट पनि छपक्कै सादा पोषाकका छरिएका थिए, एक जना जानकारले भन्दै थिए । “त्यो कान्छालाई के गरेछन् त ?” चिया पसले जानकारको मुखमा हेरेर भन्दै थियो । अब उसलाई के बाँकी छाड्लान र ? आतङ्ककारीलाई सहयोग गरेको रे ।” जानकार भन्दै थिए । मेरो आँखाका अगाडि मेरो साथी डम्मर र कान्छाको रूपाकृति नाँचिरहेको थियो । फेरि दुईवटा बत्ती निभाएर गाउँलाई अँध्यारो बनाउने महान् कार्य भयो । (मान्छेहरु २०६२ बाट)

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार