विष्णु पादुका
दास र मालिकको एक बलियो सिमारेखा हुन्छ त्यो हो सत्ता र शासित । शासितको साझा चोकबाट मधुरो आवाज जस्तो सुनिएला यो होहल्ला माझ । तपाईं शान्त भएर सोधिदिनु होला आफैलाई । उसो त राजनीति शब्द नै सामान्य शब्द होइन । देखेको र सुनेको मात्र सहि हुँदैन राजनीतिमा । दृश्य र आवाज नै फेरिदिन्छ राजनीतिले । हामी सरल आँखा र सत्य सुन्न चाहने कान लिएर जन्मे हुर्केकाले राजनीति नगरेको राम्रो। त्यसैले त छानिएर आउँछ राजनीतिक नेता । बहुमतको खेलका गोटि बन्छौं हामी पटकपटक । बाघ र बाख्राको खेलमा बाघ थुनिन आउँछन् केही क्षण बाख्रामाझ । त्यसपछि नयाँ खेल शुरु हुन्छ । बाघ र बाख्राको तालमेल भताभुङ्ग हुन्छ । खेल्नु भएको छ नि बाघचाल खेल । अथवा क्यारेम बोर्ड त खेल्नु भएकै छ । भूपी शेरचनको कविता भन्दा अझ भयावह हुँदै गएको छ आजको राजनीति । कुहिराको काग बन्दै छन् मतदाता । आफ्नो उडान मार्ग सुरक्षित देख्ने काग बादलमै हराएको धेरै पछि मात्र पत्तो पाउँछ । उसैपनि यो देशमा भारी बोकेर खाने , मजदुरी गरेर खाने र विदेशी भूमीमा पसिना बगाउनेका लागी जुनसुकै व्यवस्था आए पनि फरक परेको छैन । अभाव र गरिविको अँध्यारो छाप्रोमा परिवर्तनको उज्यालो छिर्न सकेकै छैन । जुन ब्यवस्था आए पनि अवस्था परिवर्तन हुने छैन । दैनिक बिकसित भएको पुजीवादी व्यवस्थाले कर बुझाउन नसक्ने जनताको पीडा सुन्ने कुनै स्थान सुरक्षित राख्न सक्दैन । नारा जति चर्का लाए पनि मत नपाइन्जेल मात्र हो । प्रजातान्त्रिक भनिने मुलुकको यहि नियती छ संसारका गरिव मुलुकको । अलिकति फुर्सद निकालेर यहि वर्गले सुनिदिनु छ भाषण । बजाइदिनु छ ताली । हालिदिनु छ भोट । किसान सुकुम्बासी र मजदुरले जिताएका नेता भेट्न र आफ्ना माग राख्न उनीहरूको पहुँच पुग्दैन कहिल्यै ।
ब्यक्ति मान्नुपर्ने व्यवस्थाको अन्त्य भएर व्यवस्था पुज्न पाउने बेला आउन्न कहिल्यै । बेरोजगारी र असन्तुष्टि माथी नारा दिएर राजा हुन सजिलो छ। राजनीति कला हो । मन्त्र सिद्दी हुनेहरू मात्र हो मन्त्री हुने । प्रश्न सोध्नेलाई पनि प्रश्न सोध्न नहुने हो सत्ताको चरित्र । प्रकृतिको अदृश्य र अमुर्त स्वरुप हो परिवर्तन । सत्ताको परिवर्तनलाई आसाका ठुला आँखाले नहेरेकै राम्रो । तपाईंको चुल्हो तपाईंले नै बाल्ने हो । सडक सुन्दर भए पनि बस चढ्न रित्तो खल्तिले पाउँदैन । यहि हो आधुनिक समाजवाद । उसो त सत्य भनिने युगमा पनि कर्म गर्नै पथ्र्यो । आज विवेकसिल भएको स्वाङ्ग थपिएको मात्र हो । युद्ध ,राजनीति र प्रेम मानव जीवनका अप्रत्यासित घटना हुन् । जसलाई बिना चासो होमिनु पर्छ । हतियारले एउटा दिशा मात्र देख्छ तेरोमेरो या शत्रु मित्र देख्दैन ,चिन्दैन भनुँ न ।युद्धका हतियार होउन् या राजनीतिका दाउपेच या प्रेमको अर्को पाटो घृणा । मान्छेलाई राक्षसमा पु¥याउन सजिलै सक्ने प्रक्रिया हुन् । म यी सबैबाट टाढा बस्छु भन्छु तर म अनायास जेलिएको छु । राजनीति सामान्य जीवनसँग नजोडि रहन नसक्ने रहेछ । किनकि राजनीति भनेको केवल चुनाव, दल वा नेताहरूको कुरा मात्र होइन रहेछ । यसले मानिसको दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने रहेछ ।केही नीति र कानुनले दैनिक जीवन निर्धारण गर्छ । सरकारले बनाउने नीति, कानुन र नियमले शिक्षा, स्वास्थ्य, रोजगारी, कर, यातायात जस्ता क्षेत्रलाई प्रभावित पार्छ । जस्तो कि विद्यालयको शुल्क, अस्पतालको सेवा, सडकको अवस्था, पेट्रोलको मूल्य आदि सबै राजनीतिक निर्णयसँग सम्बन्धित हुन्छन् ।
स्रोत–साधनको बाँडफाँडमा राजनीतिले राज्यका स्रोतहरू कसरी बाँड्ने भन्ने निर्णय गर्छ ।कुन ठाउँमा सडक बनाउने, कहाँ अस्पताल बनाउने, कसलाई सुविधा दिने भन्ने कुरा राजनीतिक निर्णयले तय गर्छ । अधिकार र स्वतन्त्रता मानिसले पाउने स्वतन्त्रता, अभिव्यक्ति अधिकार, न्यायको पहुँच आदि पनि राजनीतिक व्यवस्था र नेतृत्वसँग जोडिएको हुने रहेछ । समाजको दिशा राजनीतिले नै निर्धारण गर्ने रहेछ । समाज कुन दिशामा जाने ? विकास, समानता, न्याय वा विभाजन भन्ने कुरामा ठूलो भूमिका खेल्नेरहेछ । सबैका लागि, राजनीति जीवनबाट अलग विषय होइन।जीवनका पीडा, वर्ग, जात, अन्याय, संघर्ष यी सबै अन्ततः कुनै न कुनै रूपमा राजनीतिक संरचनासँग जोडिन्छन् नै । त्यसैले धेरै महान साहित्यमा जीवन र राजनीति दुबैको छाया देखिन्छ कहि न कहिँ । कहिलेकाहीँ मनले एउटा प्रश्न उठाउँछ । यदि कुनै नियम अन्यायपूर्ण छ भने, त्यसको अपवाद जन्मनु गलत हो कि सही ? विचारले विचारसँग शुरु हुने आजको युग जस्तै हो समाज अनि अन्तरमन । बैचारिक भेलमा कहिलकाहिँ सङ्ग्लो भेटिन्छ अपवादको । मानव समाज नियम र परम्पराको आधारमा सञ्चालन हुन्छ । नियमले समाजलाई अनुशासित, व्यवस्थित र सन्तुलित बनाउने काम गर्छ । तर हरेक नियमको बीचमा कहिलेकाहीँ यस्तो घटना, अवस्था वा विचार देखिन्छ जुन सामान्य नियमसँग मेल खाँदैन । यस्तो फरक अवस्था वा घटना नै अपवाद हो । अपवादले नियमलाई चुनौती दिने मात्र होइन, कहिलेकाहीँ नियमको सीमालाई पनि देखाइदिन्छ ।
समाजमा बनाइएका नियमहरू प्रायः धेरै मानिसको हितका लागि बनाइएका हुन्छन् । तर सबै मानिसको परिस्थिति एउटै हुँदैन । कतिपय अवस्थामा नियमले सबैलाई समान रूपमा समेट्न सक्दैन । त्यही कारणले केही मानिस, विचार वा घटना नियमभन्दा अलग देखिन्छन् । यसलाई अपवादका रूपमा बुझ्न सकिन्छ । दर्शनको दृष्टिले हेर्दा अपवादलाई केवल नकारात्मक रूपमा मात्र हेरिँदैन । अपवादले समाजलाई नयाँ सोच दिन सक्छ। इतिहासमा धेरै महान व्यक्तिहरू आफ्नो समयका स्थापित मान्यता र विचारभन्दा फरक सोच राख्थे । उनीहरू सुरुमा समाजका लागि अपवादजस्ता देखिए पनि पछि उनीहरूको विचारले समाजमा परिवर्तन ल्यायो । त्यसैले अपवाद कहिलेकाहीँ नयाँ सत्यको सुरुवात पनि हुन सक्छ । तर अपवादलाई सधैं सकारात्मक रूपमा मात्र पनि लिन सकिँदैन । यदि अपवादले समाजको नियम, नैतिकता र अनुशासनलाई कमजोर बनाउँछ भने त्यसले अव्यवस्था पनि निम्त्याउन सक्छ। त्यसैले समाजले नियमको महत्वलाई कायम राख्दै अपवादलाई विवेकपूर्ण ढङ्गले बुझ्न आवश्यक हुन्छ । यसरी हेर्दा अपवाद र नियम एकअर्काका विरोधी मात्र होइनन्, बरु पूरक पनि हुन् । नियमले समाजलाई स्थिरता दिन्छ भने अपवादले समाजलाई नयाँ सोच र परिवर्तनको सम्भावना दिन्छ । त्यसैले स्वस्थ समाजका लागि नियम र अपवाद दुवैको सही सन्तुलन आवश्यक हुन्छ । अपवादले नियमको सीमा देखाउने र समाजलाई नयाँ दिशामा सोच्न प्रेरित गर्ने काम गर्छ । यदि समाजले अपवादलाई सही रूपमा बुझ्न सक्छ भने त्यसले समाजको विकास र चेतनालाई अझ गहिरो बनाउन सक्छ ।
आजको दिन अपवादलाई विकल्प मान्नुपर्ने छ । तर यहाँ अपवाद भन्दा विकल्प निकै भिन्न रहेको स्पष्टीकरण दिनु छ । कहिलेकाहीँ संकट वा असाधारण अवस्थामा सामान्य नियम लागू हुँदैन, त्यसबेला अपवादले नयाँ निर्णयको ढोका खोल्छ । यसो भन्दैमा अपवाद नै विकल्प भएको हामीलाई भ्रम हुन्छ । बरू अपवाद केवल साहित्यिक अवधारणा मात्र नभएर यो विचार, विकास, सामाजिक परिवर्तन र नयाँ सम्भावनाको संकेत पनि हो । यस्ता अपवादलाई समाजले पछ्याएका उदाहरण भेटिन्छ इतिहासका कालखण्डमा । पुजीवादको बर्बरता माझ हो माक्र्सवादको जग उभिएको । फेरि पनि अपवाद परिक्षण युक्त हुन्छ भने विकल्प भरोसाको बाध्यकारी अवस्था हो । विकल्पको पनि विकल्प खोज सस्तो अपवाद भैदिन सक्छ । जसले व्यक्ति समाज र देशको अन्त्य निम्त्याउँछ । दर्शनले अपवादलाई नयाँ सत्य खोज्ने संकेतका रूपमा हेर्छ । कुनै स्थापित विचारलाई प्रश्न गर्ने व्यक्ति सुरुमा अपवादजस्तो देखिन सक्छ । उदाहरणका लागि सुकरातले आफ्नो समयको प्रचलित विश्वासलाई प्रश्न गर्दा उनी समाजमा अपवाद जस्तै मानिन्थे । राजनीतिमा कहिलेकाहीँ संकटको अवस्थामा सामान्य नियमले काम नगर्न सक्छ । त्यसबेला अपवादको अवस्था घोषणा गरिन्छ । यस विषयमा कार्ल स्मिथले राज्य र निर्णयको सम्बन्धबारे धेरै चर्चा गरेका छन् । कुनै नयाँ तथ्य वा प्रयोगले पुरानो सिद्धान्तसँग मेल नखाँदा त्यो अपवाद जस्तो देखिन्छ । पछि त्यही अपवादले नयाँ सिद्धान्त जन्माउन सक्छ। जस्तै अल्बर्ट आइन्स्टाइनका सिद्धान्तहरूले पुराना भौतिक नियमहरूलाई नयाँ दृष्टिले हेर्न बाध्य बनाए । समाज र जीवनमादैनिक पनि अपवाद हुन्छ , कुनै व्यक्ति समाजको परम्परा वा सोचभन्दा अलग बाटो रोज्छ भने ऊ अपवादजस्तो देखिन सक्छ । तर कहिलेकाहीँ त्यही बाटो पछि अरूका लागि उदाहरण बन्न सक्छ । यसरी हेर्दा अपवाद केवल साहित्यिक अवधारणा होइन बरु यो विचार विकास, सामाजिक परिवर्तन र नयाँ सम्भावनाको संकेत पनि हो ।
अपवादलाई स्वीकार गर्ने क्षमता किन आवश्यक हुन्छ ? अपवाद र विकल्पका समानता खोज्दा दुवैले स्थापित नियमलाई प्रश्न गर्छन् अपवाद र विकल्प दुवै विद्यमान नियम, विचार वा प्रणालीलाई चुनौती दिने प्रकृतिका हुन्छन् ।जहाँ नियम हुन्छ, त्यहाँ कहिलेकाहीँ अपवाद देखिन्छ र त्यहीँबाट विकल्पको खोज सुरु हुन्छ । परिवर्तनको सम्भावना दुवैले समाजमा नयाँ सम्भावना र परिवर्तनको बाटो खोल्न सक्छन् ।कुनै अपवादले समाजलाई सोच्न बाध्य पार्छ भने विकल्पले नयाँ मार्ग प्रस्तुत गर्छ । वैचारिक स्वतन्त्रताअपवाद र विकल्प दुवै स्वतन्त्र चिन्तनको परिणाम हुन सक्छन् ।जब मानिसले स्थापित मान्यतालाई मात्र स्वीकार नगरी प्रश्न गर्न थाल्छ, त्यहाँ यी दुई धारणा जन्मिन्छन् ।अपवाद र विकल्पबीचको विरोधाभास पनि रोचक हुन्छ । स्वभावको भिन्नताअपवाद नियमबाट अलग भएको घटना वा अवस्थामा विकल्प सचेत रूपमा रोजिएको अर्को बाटोअर्थात् अपवाद प्रायः अचानक वा परिस्थितिजन्य हुन्छ, तर विकल्प चेतनायुक्त निर्णय हुन्छ ।उद्देश्यको भिन्नताअपवादले कहिलेकाहीँ केवल नियमको सीमालाई देखाउँछ ।विकल्पले भने नयाँ समाधान वा दिशा दिन खोज्छ ।
स्थायित्वअपवाद प्रायः क्षणिक वा विशेष परिस्थितिसँग जोडिएको हुन्छ । विकल्प भने दीर्घकालीन सम्भावना बन्न सक्छ । सामाजिक स्वीकृतिको अपवादलाई धेरैपटक विचलन वा असामान्यताका रूपमा हेरिन्छ । विकल्पलाई भने नयाँ प्रणाली वा मार्गका रूपमा स्वीकार गर्न सकिन्छ । अपवाद र विकल्पबीच सम्बन्ध छ तर तिनीहरू समान होइनन् ।अपवादले नियमको सीमालाई देखाउँछ, जबकि विकल्पले नयाँ मार्ग प्रस्ताव गर्छ । सरल भाषामा भन्नुपर्दा अपवादले प्रश्न उठाउँछ, विकल्पले उत्तर खोज्छ । प्रत्येक विकल्प पहिले अपवादकै रूपमा जन्मिन्छ । अपवाद बिना समाजमा नयाँ विकल्प सम्भव हुन्छ कि हुँदैन । आज हामी यहि विकल्प र अपवादको मसिनो सिमानामा उभिएका छौं । विश्वासहरू घोप्टिएर एक विकल्पको भागमा परेको छ । त्यसलाई अपवाद मानेर हामी मुक्त हुनेवाला छैनौं । उनिहरूले अब्बल देखिन कसरत गर्नु पर्नेछ ।









प्रतिक्रिया दिनुहोस्