‘स्मार्ट हुलाक’ सेवा कार्यान्वयन गर्न पहल



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशका सरोकारवाला निकायहरूले हुलाक सेवाको व्यवसायिक प्रवद्र्धन, आधुनिकीकरण र प्रभावकारिता अभिवृद्धिमा जोड दिएका छन् । वीरेन्द्रनगरमा सम्पन्न हुलाक सेवाको व्यवसाय प्रवद्र्धन कार्यक्रम–२०८२ मा सहभागी वक्ताहरूले परम्परागत सेवाबाट आधुनिक, प्रविधिमैत्री सेवातर्फ रूपान्तरण अपरिहार्य भएको बताएका हुन् ।

हुलाक निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतको आयोजना तथा हुलाक सेवा विभाग, काठमाडौँको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा हुलाक निर्देशक गोविन्द प्रसाद पाण्डेले नेपालमा हुलाक सेवाको व्यवसायिक सम्भावना अझै व्यापक रहेको उल्लेख गरे । डिजिटल युगसँगै सेवाको विविधीकरण आवश्यक भएको उनले बताए ।

इ–कमर्स, पार्सल सेवा, वित्तीय सेवा (मनी ट्रान्सफर, बिल भुक्तानी) जस्ता क्षेत्रमा हुलाकले नयाँ अवसर सिर्जना गर्न सक्ने उनले धारणा राखे ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले ‘स्मार्ट हुलाक’ अवधारणाअनुसार न्यूनतम मापदण्ड तयार भइसकेको जानकारी दिइन् । उक्त मापदण्ड कार्यान्वयनको घोषणा गोरखा जिल्लाबाट सुरु गरिएको उनले बताइन् ।

उनका अनुसार स्मार्ट हुलाक अन्तर्गत डिजिटल ट्र्याकिङ प्रणाली, अनलाइन सेवा पहुँच, सेवाग्राहीमैत्री संरचना र दक्ष जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले हुलाक सेवाको व्यवसायिक प्रवद्र्धनका लागि सरकारी तथा गैरसरकारी सबै निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

स्थानीय तह, निजी क्षेत्र र सञ्चारमाध्यमबीच समन्वय बढाउन सके हुलाक सेवा थप प्रभावकारी बन्ने उनले विश्वास व्यक्त गरे । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले लोककल्याणकारी तथा व्यवसायिक विज्ञापनको सन्तुलन आवश्यक रहेको उल्लेख गरे । स्थानीय मिडिया हाउसहरूको संरक्षणका लागि राज्यले लोककल्याणकारी विज्ञापनको सुनिश्चितता गर्नुपर्ने उनको धारणा छ । हुलाक सेवामार्फत विज्ञापन वितरणलाई पनि व्यवस्थित बनाउन सकिने उनले सुझाव दिए ।

संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले हुलाक सेवाको आधुनिकीकरण र व्यवसायिक प्रवद्र्धनका लागि सरकार लगानी बढाउने तयारीमा रहेको बताइन् । दुर्गम क्षेत्रमा समेत हुलाक सेवाको पहुँच विस्तार गर्दै सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिइने उनले जानकारी दिइन् ।

कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले हुलाक सेवामा प्रविधिको उच्च प्रयोग गरी यसलाई विश्वव्यापी प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशमा विज्ञापन वितरणसम्बन्धी स्पष्ट नीति निर्माण गरिने समेत जानकारी दिए ।

कार्यक्रममा सहभागिहरूले कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा हुलाक सेवा अझै पनि नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गरेका थिए । यसको सुदृढीकरणमार्फत रोजगारी सिर्जना, सेवा पहुँच विस्तार र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने सरोकारवालाले विश्वास व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार