कोहलपुरको भरैया र लक्ष्मी माध्यमिक विद्यालयमा पनि कोदो खेती गरिएको छ । लक्ष्मी माविले कक्षा ९ देखि १२ सम्म कृषि विषय पढाउने भएकाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानका लागि दुई कट्ठामा कोदो रोपिएको कृषि प्रशिक्षक हेमन्त थापाले बताए ।विद्यालयले रैथाने बाली संरक्षण कार्यक्रममा सहभागिता जनाउँदै ११ जातको कोदोे परीक्षण गरेको छ ।

निशु जोशी । नेपालगन्ज ।
बाँकेका किसानहरू कोदो खेतीतर्फ आकर्षित भएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय जीन बैंकले रैथाने बाली प्रवद्र्धन कार्यक्रममार्फत कोदो खेतीका लागि किसानहरूलाई प्रोत्साहित गरेपछि स्थानीयहरू उत्साहपूर्वक सहभागी भएका हुन् । गतवर्ष बाँकेको गाभर भ्यालीमा परीक्षणस्वरुप कोदो खेती गरिएको भएपनि यसवर्ष कोहलपुरका मनकामना, भरैया, हवल्दारपुर लगायतका ठाँउका किसान, कृषि पढाउने विद्यालयहरूले खेती गरेको पाइएको छ ।
पहाडी तथा हिमाली क्षेत्रमा मात्रै हुने बुझिएको कोदो तराईमा पनि हुने गरेको पाइएको छ । तर अब व्यावसायिकरूपमा कोदो खेतीको सम्भावना देखिएको छ । कोहलपुर– २ मनकामनाका कालिका तरकारी कृषक समूहका अध्यक्ष चन्द्रबहादुर जिसीले यस वर्ष पहिलोपटक एक कट्ठामा कोदो रोपेका छन् । ढिलो रोपेका कारण अहिले बाली काटिसक्ने समय भइसके पनि भर्खरै पाक्ने चरणमा पुगेको उनले बताए ।
जुम्ला घर भएका जिसीले ३० वर्षअघि बाँके झरेपछि कोदो खान बिर्सिएका थिए ।
तर, सुगरका कारण नियमितरूपमा कोदो किनेर खाने गरेकाले अब आफ्नै खेतमा उत्पादन गर्न पाउँदा खुसी लागेको उनले बताए । ‘अर्को वर्ष ठूलो क्षेत्रफलमा कोदो रोप्ने योजना बनाएको छु,’ उनले भने । जिसीको सहकारीमा आबद्ध ८ जना किसानले पनि पहिलोपटक कोदो खेती गरेका छन् । सहकारीकी कोषाध्यक्ष नारायणी तिमिल्सेनाले जीवनमा पहिलोपटक कोदो खेतीको अनुभव पाएको बताइन् । ‘हामीले कोदो जाडोमा मात्रै खान्थ्यौँ, अब आफ्नै खेतमा फलाउन पाउँदा नयाँ अनुभव भइरहेको छ,’ उनले भनिन् ।
कोहलपुरकै भरैया फार्मस्टेमा रैथाने खानाका परिकार खोज्ने पर्यटकहरू बढेसँगै फार्मस्टेका सञ्चालक योगेशसिंह ठकुरीले पनि सात जातका कोदो परीक्षणस्वरूप रोपेका छन् । उनले राम्रो फल्ने जातलाई आगामी वर्ष ठूलो क्षेत्रफलमा रोप्ने योजना बनाएका छन् । धानभन्दा कोदो खेती सहज भएको उनले अनुभव सुनाए । त्यस्तै, कोहलपुरको भरैया र लक्ष्मी माध्यमिक विद्यालयमा पनि कोदो खेती गरिएको छ । लक्ष्मी माविले कक्षा ९ देखि १२ सम्म कृषि विषय पढाउने भएकाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानका लागि दुई कट्ठामा कोदो रोपिएको कृषि प्रशिक्षक हेमन्त थापाले बताए ।
विद्यालयले रैथाने बाली संरक्षण कार्यक्रममा सहभागिता जनाउँदै ११ जातको कोदोे परीक्षण गरेको छ । निजी जमिनमा समेत कोदो रोपेका थापाले कोदो फलेको देख्दा यसलाई निरन्तरता दिनका लागि उत्साहित भएको बताए । विद्यालयको सैद्धान्तिक ज्ञान व्यवहारिकरूपमा सिक्न पाएको लक्ष्मी माविका पूर्वविद्यार्थी तपेन्द्रप्रसाद खनालले भने, ‘अबको समयमा कोदोको माग बढ्दैछ । यस्तो विषय विद्यालयको स्थानीय पाठ्यक्रममै समावेश हुनुपर्छ ।’
दैलेखमा बाल्यकालमा कोदो खान पाए पनि बीचमा खान नपाएको बताउँदै उनले फेरी कोदोको समय फर्किएको बताए । नार्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीका अनुसार कोदोको १२ भन्दा बढी प्रजातिको परीक्षण भइरहेको छ । ‘धान मुख्य अन्नबाली भए पनि विकल्पका रूपमा कोदो अत्यन्त उपयोगी बाली हो । सुक्खा क्षेत्रमा समेत राम्रोसँग फल्न सक्ने र पोषणका हिसाबले महत्वपूर्ण भएकाले यसको सम्भावना धेरै छ,’ जोशीले भने ।
उनका अनुसार कागुनो पनि अन्नबालीमा राम्रो सम्भावना बोकेको बाली हो । पूर्वी तराईमा यसको उत्पादन पाँच टन प्रतिहेक्टरसम्म पुगेको किसानले अनुभव सुनाएको बताए । जबकी धान उत्पादन प्रतिहेक्टर ३ देखि ४ टन छ । उनले आगामी वर्ष बाँकेमा कागुनो र जुनेलो बालीको पनि परीक्षण गर्ने योजना रहेको बताए । जोशीका भनाइमा कोदो र कोदोजन्य बालीहरूले पोषण, स्वास्थ्य, आर्थिक आम्दानी, जलवायु अनुकूलता र जैविक विविधता संरक्षण — यी पाँचै क्षेत्रमा योगदान पु¥याउँछन् ।
‘कोदोको ५२ थरी परिकार बनाउन सकिन्छ । नयाँ पुस्तालाई मन पर्ने शैलीमा परिकार बनाएर यसको बजार बढाउन सकिन्छ,’ उनले जोड दिए। परियोजनाले किसानहरूलाई कोदो र कागुनो खेतीबारे जानकारी दिने, स्थानीय पालिका र कृषि ज्ञान केन्द्रसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । दीर्घकालीनरूपमा उत्पादकत्व वृद्धि र नयाँ प्रजाति विकासका लागि १२–१३ वर्षसम्म परीक्षण र छनोट प्रक्रिया चल्ने पनि नार्कले जनाएको छ ।
रैथाने बालीमा पुनः फर्कँदै किसानहरू
बाँकेमा सुरु भएको यो पहलले पुराना बालीहरूप्रति किसानको चासो पुनर्जीवित गरेको छ । एक समय बिर्सिएका कोदो जस्ता बाली अब फेरी कोहलपुरका गाउँघरमा रोपिन थालेका छन् । किसानहरूका अनुसार बजार सुनिश्चितता र सहजीकरण मिले कोदो खेती स्थायी आयको स्रोत बन्न सक्छ । कोहलपुरका किसानहरूले बोडी, कोदो, धान, मास्रे साग लगायतका स्थानीय बालीहरू फेरी संरक्षणको प्रयास गरिरहेको बताए ।
लोपोन्मुख अवस्थामा रैथाने अनदी धान
रैथाने धानका जातमध्येकै स्वादिलो र साँस्कृतिक मूल्य बोकेको अनदी (अन्ती) धान कञ्चनपुरमा लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो ।सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिकीमा कुटेको अनदी धानको च्युराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउँछन् ।
‘सानो उमेरमा चुलोमो अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ,’ उनले भने, ‘अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जाँदा खल्तीभरी त्यही च्युरा भरेर खाँदै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।’ अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उनी बताउँछन् । बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानकोखेती छाडेको उनी बताउँछन् ।
‘थारु समुदायमा अटवारी पर्वका बेला भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बनाइन्थ्यो,’ परदेशी डगौराले भने, ‘मिसौला, च्युरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो, अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो, अब यो धानको बीउ पाउनसमेत मुस्किल भइसक्योे ।’ भात लसिलो र स्वादिलो हुने भएकाले वाफमा पकाएर खाने चलन रहेको उनको भनाइ छ । ‘यसको चालमको खिर निकै स्वादिलो हुने भएकाले महिनामा एक पटक बनाइथ्यो, परिवारका सबैजना बसेर खान्थ्यौँ,’ उनले भने ।
अहिलेका धानको चामलको खिर अनदीको चामलको जस्तो नहुने गरेको उनको अनुभव छ । जोनापुरका किसान रामप्रसाद चौधरीका अनुसार अनदी धान थोरै पानीमा पनि सुक्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उनले भने, ‘यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।’ ‘पहिले अनदी धान कम्तीमा एक–दुई क्यारीमा अनिवार्य रूपमा लगाउने गथ्र्यौँ,’ किसान रामकिसान रानाले भने, ‘अहिले त हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।’
उनका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झण्डै दशक बढीनै बित्न लागेको छ । अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातीका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना लगायतका थुप्रै धान हराउँदै गएका छन् ।
यी जातहरू माटो, हावापानी र वातावरणसँग अनुकूलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैविक दृष्टिले मूल्यवान् रहेको किसानहरूको भनाइ छ । कृषि अगुवा पल्टु डगौराका अनुसार नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउनेसँगै वातावरणीय सहनशीलतामा पनि सुधार ल्याउन सकिन्छ ।
रैथाने जातका धान खडेरी, सुक्खा र डुबानमा पनि हुर्कन सक्ने भएकाले दिगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतका रूपमा रहने उनले उल्लेख गरे । पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउहरूलाई विस्थापित गरेको कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्