लघुकथाः देश दौडाहाको प्रतिवद्वता



नरेन्द्र देवकोटा “प्रशान्त“

ऋषिदेव आफ्नो पुख्र्यौली ठाउँ मधेश छोडी रोजीरोटीका लागि राजधानी काठमाडौं पसेका थिए । ऋषिदेवले आफ्नो मेहनतलाई जनचेतना फैलाउने काममा लगाइरहेका थिए । केही पैसा कमाएपछि उनले नेता भएर जनताका सवालमा संसदमै बोल्ने र जनतालाई विकास बाँड्नुपर्छ भन्ने सोच बनाए । उनले जनचेतना फैलाउने काम गरेर राम्रै पैसा पनि कमाएका थिए । तर उनले पैसा कमाउन थालेपछि मुलुकमा कहाँ के भएकोछ, खासै वास्ता राख्दैनथे ।

आफ्नो प्रतिष्ठा र पैसाको आडमा यो बर्ष हुने चुनावमा अरू नेता सरह उनले पनि उम्मेदवारी दिएर चुनावी माहोलमा होमिए । राजधानी पसेदेखि गाउँ नपसेका ऋषिदेवले गाउँमा गएर अरु जस्तो आफू नभएको र सबै थरी बिकास आफुले पुर्याउने बाचा गर्दै हिड्न थाले । खेतखलियान घरदैलोमा पुगेर मान्छेलाई नमस्कार गर्न र अँगालो हाल्न छुटाएनन्। सबैसँग आफुलाई जिताउन भोट मागिरहेका थिए । गाउँ छोडेदेखि न एक कल फोन गरे न कसैको सुखदुखमा मिसिएका थिए ऋषिदेव ।

चुनावको मुखमै आएर एकाएक आफ्नो अघिपछि लागेको धेरैलाई मन नपरेपनि कसैले तितो बोलेनन् ।चुनावमा मतदान गर्न गए सबै मानिस। ऋषिषिदेवले ठुलै आशा पालेर बसेका थिए । मतगणनाको परिणाम पनि आयो । एउटा संयुक्त परिवारका सदस्य जति पनि भोट आएन, धरौटनै जफत भयो छक्क परे ऋषिदेव ।

सेवा र सिद्वान्तको राजनीति नगरेका ऋषिदेव अरुलाई पैसाको चलखेल भएको आरोप लगाए । जमानत जफत भएपछि ऋषिदेवको बल्ल आँखा खुलेछ क्यारे, अब भ्रष्ट्राचार विरुद्वको अभियानमा लाग्ने, सुशासन दिने, रोजगारी सृजना गर्ने भन्दै देश दौडाहामा निस्कने प्रतिवद्वता व्यक्त गर्दै फेरि राजधानीतर्फ कुदे ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार