कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरका गायक तथा उद्घोषक विनोद परिवारको पहिलो गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ । कोहलपुर १२ चप्परगौडीका युवा गायक परियारको प्रस्तुति रहेको उक्त गीत युट्युब च्यानल ओएसआर मुभिजमार्फत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
गीतको कोहलपुरमा आइतबार एक कार्यक्रम गरेर प्रिमियरसमेत गरिएको थियो ।
गीतका गायक विनोद परियारले केक काटेर गीतको औपचारिक प्रिमियर गरेका थिए । गीतमा ग्रामीण परिवेश र प्रेम भावनालाई मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यस्तै गीत युवायुवतीबीचको प्रेम, प्रेम सम्बन्धमा आउने उतारचढाव र अविश्वासका कारण सम्बन्धमा दरार आउँदा उत्पन्न हुने परिस्थितिसँग केन्द्रित छ ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा गीतका प्रस्तुतकर्ता विनोद परियारले पछिल्लो समय युवायुवतीबीच हुने प्रेम र अविश्वासका कारण सम्बन्ध विच्छेद हुँदा आत्महत्या गर्ने समस्या विकराल रहेको भन्दै आत्महत्या अन्तिम विकल्प होइन भन्ने सन्देश प्रवाह गर्न खोजिएको बताए । उनका अनुसार उक्त गीत लोक जनरा रहेको छ । भिडिओमा गाउँघरको वातावरण, प्राकृतिक दृश्य तथा भावनात्मक कथा प्रस्तुत गरिएको छ । जसले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको उनले बताए ।
‘गीतमा मेरो स्वर रहेको छ । यो मेरो पहिलो औपचारिक गायन यात्राको सुरुवात पनि हो । गीतसंगीतमा केही गरौँ भन्ने टिमले निर्माण गरेको हो। सबैले मन पराइदिनु हुनेछ भन्ने आशा लिएका छौँ,’ उनले भने । गीतमा विनोद परियार र सिम्रन परियारको सुमधुर स्वर रहेको छ । गीतका शब्द सन्दिप सेन्चुरी र राजेन्द्र परियारले तयार पारेका छन् । गीतको संगीत तथा निर्देशन सन्दिप सेन्चुरीले गरेका छन् ।
गीतको म्युजिक भिडिओमा अञ्जन परियार र यमुना भण्डारीको अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै मोडल परियारले आफ्नो पहिलो अफिसियल गीत रहेको बताए । आफूहरुले गीतमा धेरै मेहेनत गरेको र सबैले मनपराइने विश्वास लिएको जानकारी दिए । यस गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् भने ध्वनि मिक्सिङ बिमल छिनालले गरेका छन् ।
रेकर्डिस्टका रूपमा रोहित महर्जनले काम गरेका छन् । त्यसैगरी भिडिओको छायांकन, सम्पादन तथा पोस्ट–प्रोडक्सन कार्य स्मार्ट फिल्म्स स्टुडियोमा गरिएको जनाइएको छ । गीत सार्वजनिक भएसँगै निर्माण टोलीले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरेको छ । आधुनिक नेपाली गीतसंगीतमा ग्रामीण परिवेश र प्रेमकथालाई समेटिएको यस गीतले आगामी दिनमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । गीत दाङको बंगलाचुली गाउँपालिकामा छायांकन गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्