कर्णालीमा काँग्रेस पहिलो, रास्वपा दोस्रो दल



नन्दराम जैशी । सुर्खेत ।

समानुपातिक मतका आधारमा कर्णाली प्रदेशमा नेपाली काँग्रेस पहिलो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो दल बनेको छ । प्रत्यक्षतर्फ प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये पाँचवटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको काँग्रेस समानुपातिकतर्फ पनि पहिलो दल बनेको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार १० वटै जिल्लाको मतगणनाअनुसार काँग्रेसले प्रदेशभरबाट कूल एक लाख ४१ हजार २३३ मत पाएको छ ।

यस्तै, प्रत्यक्षतर्फ एक सिट जितेको रास्वपा समानुपातिकतर्फ भने दोस्रो ठूलो दल बनेको छ । रास्वपाले कर्णालीबाट समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मत पाएको हो । नेकपा (एमाले) भने यसपटक तेस्रोमा झरेको छ । एमालेले एक लाख २० हजार ८६३ मत पाएको छ । तर एमाले २०७९ को निर्वाचनमा कर्णालीबाट समानुपातिकतर्फ एमाले पहिलो भएको थियो । यो चुनावमा उसलाई काँग्रेस र रास्वपाले उछिनेका छन् ।

यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक लाख सात हजार १०१ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत पाउँदा अन्य दलको मत १० हजारभन्दा न्यून रहेको छ । समानुपातिकतर्फको मतको आधारमा जिल्लागत नतिजा हेर्दा नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी तीन÷तीनवटा जिल्लामा पहिलो भएका छन् । नेकपाले प्रत्यक्षतर्फ चारवटा क्षेत्रमा विजय हासिल गरेको छ ।

समानुपातिकतर्फ प्रदेशभर रास्वपा दुईवटा जिल्लामा पहिलो भएको छ । प्रत्यक्षतर्फ भने उसले एउटा क्षेत्र मात्रै जितेको थियो । एमाले दुईवटा जिल्लामा समानुपातिकतर्फ पहिलो भएको छ । उसले प्रत्यक्षमा पनि प्रदेशभरबाट एउटा क्षेत्र जितेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फको मतपरिणामअनुसार सुर्खेतमा रास्वपा पहिलो दल बनेको छ ।

रास्वपाले समानुपातिकतर्फ ५४ हजार २२६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले कूल ३७ हजार ७४३ मत पाएको छ । नेकपा (एमाले) समानुपातिकतर्फ जिल्लामा तेस्रो भएको छ । उसले २८ हजार ९१४ मत प्राप्त गरेको छ । यस्तै, सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टीले सात हजार ९६ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार २७४ र श्रम संस्कृति पार्टीले तीन हजार २२३ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ दैलेखमा नेकपा (एमाले) पहिलो बनेको छ । एमालेले २३ हजार ७३७ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २० हजार ५९१ मत पाएको छ । नेपाली कांग्रेसले २० हजार २७ मत पाएर तेस्रो भएको छ । नेपाली कम्युनिस्ट पार्टीले ६ हजार ३२९ मत मात्रै पाएको छ । नेपाल मजदुर किसान पार्टीले दुई हजार ४२० तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४२२ मत पाएका छन् । सल्यान जिल्लामा रास्वपा पहिलो दल भएको छ ।

समानुपातिकतर्फ २५ हजार ६६५ मत प्राप्त गर्दै रास्वपा पहिलो दल बनेको हो । नेकपाले २० हजार ३३९, नेपाली काँग्रेसले १६ हजार ६९, एमालेले १४ हजार ९२ र राप्रपाले एक हजार ४३० मत पाएका छन् । डोल्पामा प्रत्यक्षतर्फ पराजित भए पनि समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो भएको छ । उसले चार हजार ९४४ मत पाएको छ । प्रत्यक्षतर्फ चुनाव जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ चार हजार ७०७ मत पाएको छ ।

रास्वपा तीन हजार १०२ मत पाउँदा नेपाली काँग्रेसले दुई हजार ५९५ मत पाएको छ । जुम्लामा प्रत्यक्षतर्फ राप्रपाले जिते पनि समानुपातिकतर्फ नेकपा पहिलो दल बनेको छ । उसले समानुपातिकमा १० हजार २०२ मत पाएको छ । काँग्रेस नौ हजार ३६० मतसहित दोस्रो हुँदा राप्रपाले ६ हजार ५५२, एमालेले ६ हजार २९ र रास्वपाले पाँच हजार ११८ मत पाएका छन् ।

कालीकोटमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेकपा पहिलो दल भएको छ । समानुपातिकमा नेकपाले ११ हजार १८९ मत पाएको छ । एमालेले नौ हजार ५२०, काँग्रेसले सात हजार ७५४, रास्वपाले पाँच हजार एक सय, राप्रपाले एक हजार १९५ मत पाएका छन् । हुम्लामा नेपाली काँग्रेस पहिलो दल भएको छ । काँग्रेसले समानुपातिकमा सात हजार ९१५ मत पाएको छ । नेकपाले ६ हजार २३१, एमालेले पाँच हजार २८० र रास्वपाले दुई हजार ३५ मत पाएका छन् ।

जाजरकोटको समानुपातिक मतमा नेपाली काँग्रेस पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि जितेको काँग्रेसले समानुपातिकतर्फ ११ हजार ८५ मत पाएको छ । नेकपाले १० हजार ३०२ मत पाउँदा एमालेले नौ हजार ३४९ मत पाएको छ । रास्वपाले पनि दुई हजार ९४० मत पाएको छ ।
रुकुम पश्चिममा नेकपा समानुपातिक मतमा पहिलो दल भएको छ । नेकपाले २० हजार ३६ मत पाएको छ ।

काँग्रेसले १५ हजार १८१ मत पाउँदा रास्वपाले १० हजार १४९ मत पाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले सात हजार २०७ मत पायो । एमालेले पाँच हजार ८४७ मत पाएको छ । प्रत्यक्षतर्फ नेपाली काँग्रेसले जितेको मुगुको समानुपातिक मतमा काँग्रेस नै पहिलो भएको छ । उसले सात हजार २७१ मत पाएको छ । एमालेले छ हजार ४१ मत पाउँदा नेकपाले चार हजार ६५० र राष्ट्रिय रास्वपाले दुई हजार ११० मत पाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार