२०६४ पछि बढे ‘प्रत्यक्ष निर्वाचित’ महिला



नेपालको इतिहासमा प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुने प्रथम महिला द्धारिकादेवी ठकुरानी हुन् । निर्वाचनमार्फत निर्वाचित महिला मन्त्री,सभामुख र राष्ट्रपतिसम्म भएका छन् । नेपालको पहिलो सभामुख ओनसरी घर्ती र राष्ट्रपति बन्ने प्रथम महिला विद्यादेवी भण्डारी हुन् । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायधीश बनेकी सुशीला कार्कीले पहिलो प्रधानमन्त्री बन्ने इतिहासपनि रचिन् । उनै कार्कीको नेतृत्वमा भएको निर्वाचनमा संसदीय इतिहासमा २०६४ पछि पहिलोपटक प्रत्यक्ष निर्वाचित महिलाको संख्या बढेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि प्रत्यक्षतर्फ कूल ३ हजार ४०६ जना उम्मेदवार थिए । तीमध्ये महिला उम्मेदवारको संख्या ३८८ थियो । कूल ६८ दलले सहभागिता जनाएको चुनावमा विभिन्न दलबाट २३१ जना र स्वतन्त्र १५७ जना महिलाले उम्मेदवारी दिएका थिए ।

प्रत्यक्षतर्फ १६५ सिटको अन्तिम नतिजा सार्वजनिक हुँदा कूल १४ जना महिला निर्वाचित भएका छन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ र नेपाली काँग्रेसले १ सिट जितेको छ । पहिलो दल बनेको रास्वपाले १७ जना महिला उम्मेदवार बनाएको थियो । उसका ४ जना महिला उम्मेदवार पराजित भए । ११ जना महिला उम्मेदवार बनाएको नेपाली काँग्रेसबाट दैलेख १ बाट बासना थापा मात्रै निर्वाचित भइन् भने १० जना उम्मेदवार पराजित भए ।

नेपाली कम्युनिष्ट पार्टीले ११ जना महिला उम्मेदवार उठाउँदा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान १०/१० जना उम्मेदवार बनाए पनि सबैजना पराजित भए । रास्वपाबाट निर्वाचित हुनेमा झापा १ बाट निशा डाँगी, झापा २ बाट इन्दिरा राना रहेका छन् । डाँगी र राना यसअघि समानुपातिकतर्फ सांसद बनेका थिए । राना त उपसभामुखसमेत भइन् । रानाले पूर्वसभामुख नेकपा एमालेका देवराज घिमिरेलाई पराजित गरिन् भने जेनजी प्रतिनिधिसभा सदस्य डाँगीले नेपाली काँग्रेसका केशवराज पाण्डेलाई पराजित गरिन् ।

चितवन ३ बाट सोविता गौतम र ललितपुर ३ बाट डा.तोसिमा कार्की दोस्रोपटक निर्वाचित भए । कार्कीले नेपाली काँग्रेसका जितेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दा गौतमसँग भने नेकपाकी रेनु दाहाल पराजित हुन पुगिन् । सोविता अघिल्लोपटक काठमाडौँ २ बाट निर्वाचित भएकी थिइन् । कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् ।

मोरङ ५ बाट आशा झा, मोरङ ६ बाट रुविना आचार्य, सर्लाही १ बाट नितिमा भण्डारी (कार्की), धादिङ १ बाट आशिका तामाङ, सप्तरी १ बाट पुष्पाकुमारी चौधरी, कास्की ३ बाट बिना गुरुङ, कैलाली १ बाट कोमल ज्ञवाली, काठमाडौँ १ बाट रञ्जु न्यौपाने (दर्शना) र महोत्तरी ४ मा गौरी कुमारीले चुनाव जितेका छन् । उनीहरु पहिलोपटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दैछन् ।

यसपटक कूल सिटमध्ये २३.१ प्रतिशत महिलाको प्रत्यक्षबाट प्रतिनिधित्व हुने भएको छ । अघिल्लो चुनाव १४.८५ प्रतिशत रहेको थियो । यो पटक ८.२५ प्रतिशतले बढी छन् । हालसम्म सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २०६४ पछि यसपटक प्रत्यक्षतर्फ सबैभन्दा धेरै महिला निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ कूल ३६३ जना महिला उम्मेदवार बन्दा ३० जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका थिए । संविधानसभामा कूल १९७ जना महिलाले संसद्मा प्रतिनिधित्व गरेका थिए । तीमध्ये ६ जना मनोनीत थिए । ६०१ सदस्यीय संविधानसभामा १६१ जना त समानुपातिक सांसद थिए । प्रतिनिधित्वको हिसाबले कूल संख्याको ३२.७८ प्रतिशत महिला सहभागिता रहेको थियो ।

२०१५ देखि २०८२ ः चुलोचौकोदेखि विधायिकीसम्म 

विसं २०१५ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एकजना मात्रै महिला निर्वाचित भएकी थिइन् । २०१५ फागुन ७ गतेसम्म निर्वाचनमा निर्वाचित हुने महिला द्वारिकादेवी ठकुरानी थिइन् । निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुराबाट नेपाली काँग्रेसका तर्फबाट उनी ३,९०३ मतसहित विजयी भएकी थिइन् ।

उक्त निर्वाचनमा उम्मेदवार बनेका सात महिला उम्मेदवारमध्ये निर्वाचित भएकी एक मात्र महिला ठकुरानी नेपालको पहिलो महिला मन्त्रीको इतिहाससमेत बनाइन् । २०१६ जेठ ६ गते गठित मन्त्रीमण्डलमा उनी स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री भएकी थिइन् । विसं २०४८ को निर्वाचनमा कूल ८ जना महिला निर्वाचित भए । त्यतिबेला प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट ५ जना निर्वाचित हुँदा नेकपा एमालेबाट तीन जना निर्वाचित भएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा नेपाली काँग्रेसबाट ४ र नेकपा एमालेबाट ३ जना गरी कूल ७ जना महिला निर्वाचित भए । उक्त निर्वाचनमा कूल ८६ जना महिला उम्मेदवार रहेको संसद् सचिवालयले जनाएको छ । यसैगरी २०५६ को निर्वाचनमा प्रत्यक्षतर्फ १२ जना महिला चुनाव जितेर संसद् प्रवेश गरेका थिए ।

प्रत्यक्षतर्फ निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट ५ जना, नेकपा एमालेबाट ६ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट एकजना महिलाले चुनाव जितेका थिए । यस्तै राष्ट्रियसभातर्फ २०४८ देखि २०५८ सालसम्म कूल १६ जना महिलाले प्रतिनिधित्व गरेको इतिहास छ । यस्तै २०६४ सालको संविधानसभा निर्वाचनपछि प्रतिनिधिसभामा कूल १९७ जना महिलाले संसद्मा प्रतिनिधित्व गरेका थिए । तीमध्ये ६ जना मनोनीत थिए ।

६०१ सदस्यीय प्रतिनिधिसभामा १६१ जना त समानुपातिक सांसद थिए । कूल ३६३ जना महिला उम्मेदवार बन्दा ३० जना महिलाले प्रत्यक्षतर्फ चुनाव जिते । प्रतिनिधित्वको हिसाबले कूल संख्याको ३२.७८ प्रतिशत महिला सहभागिता रहेको थियो । २०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ १०, समानुपातिकतर्फ १५९ र ४ जना मनोनीत गरी कूल १७६ जना महिला सहभागी भएका थिए । त्यतिबेला महिला सहभागिता २९.२८ प्रतिशत थियो ।

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ १४६ उम्मेदवारमध्ये ६ जना महिला निर्वाचित भएका थिए । समानुपातिकतर्फ ८४ जना गरी कूल ९० जना महिलाले प्रतिनिधिसभामा प्रतिनिधित्व गरे । त्यतिबेला कूल महिला सहभागिता ३२.७३ प्रतिशत थियो । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २२७ उम्मेदवारमध्ये कूल ९ जना महिला प्रत्यक्षतर्फ निर्वाचित भए ।

एमालेबाट भगवती चौधरी, ज्वालाकुमारी साह, जुली महतो, विद्या भट्टराई चुनाव जितेर आउँदा काँग्रेसबाट सिता गुरुङ आएकी थिइन् । त्यस्तै माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र तोसिमा कार्की आउँदा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठले जितेकी थिइन् । त्यसबाहेक राप्रपालगायत अन्य पार्टीबाट महिलाको प्रतिनिधित्व शून्य थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार