ग्यास कालोबजारी र कृत्रिम अभावले सर्वसाधारणको दैनिकी कष्टकर



नन्दराम जैशी । सुर्खेत ।

वीरेन्द्रनगरमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी चुलिँदै गएपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । बिहान २–३ बजेदेखि खाली सिलिन्डर बोकेर लाइनमा बस्ने उपभोक्ताले घण्टौँ पालो कुर्दासमेत ग्यास नपाउने अवस्था बनेको हो । दैनिक उपभोग्य वस्तुको आपूर्तिमा देखिएको अव्यवस्था, बिचौलियाको सक्रियता र कमजोर बजार अनुगमनका कारण समस्या झन् जटिल बन्दै गएको छ ।

तर यो अवस्था देख्दा पनि जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकार वीरेन्द्रनगर नगरपालिका मौन बसिरहेपछि उनीहरुको भूमिकाप्रति व्यापक आलोचना भइरहेको छ । उपभोक्ताका अनुसार अहिलेको समस्या ग्यासको वास्तविक अभावभन्दा पनि वितरण प्रणालीको कमजोरी, कृत्रिम अभाव र कालोबजारीसँग बढी जोडिएको छ । डिलरहरूमा बिहानैदेखि सयौँ उपभोक्ताको भीड लाग्ने, धकेलाधकेल हुने र कतिपय स्थानमा विवाद तथा सामान्य हात हालाहालसमेत हुने अवस्था सिर्जना भइरहेको छ ।

यस्तो समस्या आएपछि व्यवस्थापनका लागि प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएको हो । मध्यपूर्वमा इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि अन्तर्राष्ट्रिय इन्धन आपूर्ति प्रणाली प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि परेको भन्दै सरकारले केही समयअघि आधा सिलिन्डर मात्र वितरण गर्ने नीति अपनाएको थियो । हाल पुनः पूरा सिलिन्डर बिक्री भइरहेको छ । तर त्यसबेलादेखि नै उपभोक्तामा पुनः अभाव हुने त्रास फैलिएकाले धेरैले आवश्यकताभन्दा बढी ग्यास घरमै सञ्चय गरेको अनुुमान छ । यसले बजारमा माग अस्वाभाविक रूपमा बढेको छ भने वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपककुमार घिमिरेका अनुसार बजारमा आवश्यक परिमाणमा ग्यास आइरहेको भए पनि वितरण प्रक्रियामा समस्या देखिएको छ । उनका अनुसार किराना पसल सञ्चालकले समेत बिहानै लाइन बसेर ग्यास उठाउने र पछि उपभोक्तालाई महँगोमा बिक्री गर्ने प्रवृत्ति बढेको छ । साथै वीरेन्द्रनगरबाट दैलेख, कालीकोट, जुम्ला लगायतका जिल्लामा समेत ग्यास जाने भएकाले स्थानीय बजारमा थप चाप परेको उनले बताए ।

यता वीरेन्द्रनगरका ग्यास व्यवसायी विनोद दाहालका अनुसार सामान्य अवस्थामा मासिक २५ देखि २६ हजार सिलिन्डर बिक्री हुने बजारमा अहिले माग झण्डै दोब्बर पुगेको छ । तथ्यांकले पनि आपूर्ति पूर्ण रूपमा रोकिएको देखाउँदैन । सबैभन्दा धेरै ग्राहक रहेको भेरी ग्यासले जेठमा ३२ हजार, असारमा ३९ हजार र साउनको पहिलो सातामै करिब सात हजार सिलिन्डर बिक्री गरिसकेको छ । यसले बजारमा ग्यास आइरहेको देखाए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।

यसको प्रमुख कारण घर–घरमा गरिएको अत्यधिक सञ्चय, एउटै व्यक्तिले पटक–पटक ग्यास खरिद गर्नु, किराना पसल तथा बिचौलियाले ठूलो परिमाणमा ग्यास होल्ड गर्नु र वितरण प्रणालीमा देखिएको कमजोरी रहेको सरोकारवालाको भनाइ छ ।

कालोबजारी खुल्दै, कारबाही छैन 

सुुर्खेतमा ग्यासको कृत्रिम अभावसँगै कालोबजारीसमेत मौलाउन थालेको छ । नेपाल आयल निगमका प्रमुख घिमिरेका अनुसार वीरेन्द्रनगर–१० स्थित सूर्योदय बोर्डिङ स्कुलनजिक रहेको आरसी किराना पसलले सरकारले तोकेको दुई हजार ६० रुपैयाँको सिलिन्डरमा तीन सय ४० रुपैयाँसम्म बढी रकम असुलेको भेटिएको छ । ढुवानी खर्चको बहानामा अतिरिक्त रकम लिइएको प्रारम्भिक अनुगमनबाट खुलेको उनले बताए ।

यस्तो कार्य उपभोक्ता संरक्षण ऐनविपरीत भए पनि बजारमा यस्ता गतिविधि नियन्त्रणमा आउन सकेका छैनन् । विद्यार्थी, डेरा गरी बस्ने परिवार तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । उनीहरू घण्टौँ लाइन बसेर पनि ग्यास नपाई रित्तै फर्किन बाध्य छन् भने केहीले बाध्य भएर बढी मूल्य तिरेर ग्यास खरिद गरिरहेको गुनासो गरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बजार अनुगमनको मुख्य जिम्मेवारी नेपाल आयल निगमको भए पनि प्रशासनले आवश्यक सहजीकरण गरिरहेको दाबी गरे । उनका अनुसार होटल व्यवसायी, किराना पसल तथा केही उपभोक्ताले धेरै सिलिन्डर सञ्चय गरेकाले कृत्रिम अभाव देखिएको हो । बजारमा विभिन्न राजनीतिक उद्देश्यले ग्यास लुकाइएको भन्ने आरोपसमेत निराधार रहेको उनको भनाइ छ । अनुगमनका क्रममा दोषी भेटिए कानुनअनुसार कारबाही गरिने उनले बताए ।

तर उपभोक्ताको प्रश्न फरक छ । कालोबजारी खुलेआम भइरहेको, बढी मूल्य असुल्ने पसल पहिचान भइसकेको र कृत्रिम अभावबारे सबै निकाय जानकार हुँदाहुँदै पनि प्रभावकारी कारबाही किन हुन सकेन् भन्दै उपभोक्ताले आलोचना गरिरहेका छन् । बजार अनुगमनको अधिकार पाएको वीरेन्द्रनगर नगरपालिका पनि यस विषयमा प्रभावकारी रूपमा सक्रिय देखिएको छैन । स्थानीय सरकारको मौनताले उपभोक्तामा थप असन्तुष्टि बढाएको छ ।

बढ्दो आलोचनापछि नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीले संयुक्त रूपमा नयाँ व्यवस्था लागू गर्ने तयारी गरेका छन् । अब अधिकृत विक्रेताबाट एक व्यक्ति, एक सिलिन्डर मात्र वितरण गरिने, उपभोक्ताको परिचयका आधारमा ग्यास उपलब्ध गराइने तथा लुम्बिनी प्रदेशका उद्योगबाट आउने ग्यास प्रहरीको रोहवरमा गणना गरेर मात्र वितरण गरिने निगमले जनाएको छ ।

निगमका अनुसार अहिले वीरेन्द्रनगरमा विभिन्न कम्पनीका दुई हजार ९२२ वटा १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डर प्रतिवटा दुई हजार ६० रुपैयाँमा बिक्री भइरहेको छ । साथै नेपाल ग्यासका ३२० वटा सिलिन्डर न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण गरिने व्यवस्था गरिएको छ । यसैबीच अवस्था सामान्य नभएसम्म नयाँ ग्यास सिलिन्डर बिक्री पूर्ण रूपमा रोक्ने निर्णयसमेत गरिएको छ । प्रशासनले अब घोषणा गरेका नयाँ व्यवस्था व्यवहारमै प्रभावकारी रूपमा लागू गर्न सके मात्र उपभोक्ताले राहत पाउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार