काठमाडौँ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् एक खर्ब ९७ अर्ब ४७ करोडले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब ६५ अर्ब ५६ करोड अर्थात् ५.२ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–०८३ को पुससम्मको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा २०८२ पुसमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ ।
२०८२ पुसमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ र ३५.८ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७, विकास बैंकहरूको २.९ र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।
२०८२ पुसमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत रहेको छ । २०८१ पुसमा त्यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमशः १४.५ र ६४.९ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८२–८३ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.५, निर्माण क्षेत्रतर्फको कर्जा ७.५, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.६, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.५, वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.६, ट्रष्ट रिसिट(आयात) कर्जा ७.८, हायर पर्चेज कर्जा ७.१, क्यास क्रेडिट कर्र्जा ३.२, माग तथा अन्य चालू पूँजी कर्जा ३.०, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.१ र आवधिक कर्जा २.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा क्रमशः २.९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर तीन अर्ब ४७ करोड खुद खरिद गरी चार खर्ब ९३ अर्ब चार करोड तरलता प्रवाह गरेको छ । आर्थिक वर्ष २०८२–८३ को छ महिनामा वाणिज्य बैंकहरूको तीन खर्ब ९६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ७३ अर्ब ८८ करोड गरी कूल चार खर्ब ७० अर्ब २९ करोडको अन्तर–बैंक कारोबार भएको छ । २०८२ असारमा बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत)को शाखा संख्या ११ हजार पाँच सय २६ रहेकोमा २०८२ पुसमा ११ हजार पाँच सय तीन रहेको छ ।









प्रतिक्रिया दिनुहोस्