नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दैलेख–१ बाट नेपाली काँग्रेसकी नेतृ बासना थापा विजयी हुँदै प्रदेशकै एक्ली महिला प्रतिनिधिसभा सदस्य बनेकी छन् । ४५ वर्षीया थापाले प्रतिस्पर्धामा रहेका अधिकांश पुरुष उम्मेदवारलाई पराजित गर्दै संसद् यात्रा तय गरेकी हुन् । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये अन्य ११ क्षेत्रमा पुरुष उम्मेदवार विजयी हुँदा थापा भने महिला प्रतिनिधित्व गर्दै संघीय संसद् पुग्ने एकमात्र महिला बनेकी छन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पुरुषहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर थापाले ४ हजार २५६ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका रणबहादुर सिंहले ५९८, नेपाल मजदुर किसान पार्टीका जयतबहादुर ओलीले ३०२, नेकपा (माओवादी केन्द्र)का रामसागर विश्वकर्माले २३५, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदवार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीकी मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन् ।
दैलेख–१ मा कूल १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये अधिकांश पुरुष उम्मेदवारलाई पछि पार्दै थापाले स्पष्ट मतान्तरसहित जित हासिल गरेकी हुन् । कर्णाली प्रदेशमा महिला प्रतिनिधित्व न्यून रहेको अवस्थामा थापाको विजयलाई महिला सहभागिताको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ ।
स्थानीयस्तरमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएकी थापा सामाजिक विकास, महिला सशक्तीकरण र स्थानीय पूर्वाधार विकासका मुद्दा उठाउँदै आएकी नेतृका रूपमा परिचित छन् । यस जितसँगै थापा संघीय संसद्मा कर्णालीका महिलाको आवाज उठाउने अपेक्षा गरिएको छ ।
बासनासँग तीन पूर्वसहकर्मी आमनेसामने
पुराना र अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले बासनाका लागि यो चुनाव निकै चुनौतीपूर्ण थियो । त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका बस्नेतसहित यी तीनैजना नेता कुनै बेला एमालेभित्रका सहकर्मी थिए । अहिले फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिँदा एमालेको मत विभाजित भयो, जसको प्रत्यक्ष फाइदा काँग्रेसकी बासनालाई पुग्यो ।
दैलेख सदरमुकाममा रहेको होटेल पार्किङकी सञ्चालक बासना २०७४ सालमा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन्, तर झिनो मतले पराजित भइन् । नेविसंघको राजनीतिबाट उदाएकी उनी काठमाडौँमै जन्मेर हुर्केकी हुन् । नेपाली सिने जगत्की लोकप्रिय नायिका विपना थापाकी बहिनी उनी विवाहपश्चात् दैलेख आएकी हुन् । उनी दैलेख काँग्रेसभित्र चिनिएकी महिला नेतृ हुन् ।
विगतमा काँग्रेसले दैलेखमा गरेको विकासलाई नै आफ्नो चुनावी एजेन्डा बनाएकी उनले गणेशबहादुर खड्काको विरासत फर्काउने बताउँदै आएकी थिइन् । यो क्षेत्रको हालसम्मको विकासमा काँग्रेसको अग्रणी भूमिका रहेको उनको दाबी छ । अर्कोतर्फ, चुनावी मैदानमा आफू एक मात्र महिला उम्मेदवार भएकाले पनि सबैको सहानुभूति रहेको उनले बताइन् ।
उनका अनुसार दैलेखको राजनीतिक इतिहासमा नछुट्ने नाम हो, गणेशबहादुर खड्का । विसं २०५२ मा भौतिक योजना, निर्माण तथा यातायात सहायकमन्त्री र २०६४ सालमा स्थानीय विकास राज्यमन्त्री भएका उनकै पालामा दैलेखमा मोटरबाटो र बिजुली पुगेको हो । पञ्चायतकालदेखि काँग्रेस दैलेखको नेतृत्वमा रहेका उनीसँग उक्त क्षेत्रमा प्रतिस्पर्धा गर्न वामपन्थीहरू डराउँथे ।
दैलेख नेमकिपाको प्रभाव क्षेत्र रहँदा पनि खड्काले नै चुनाव जित्थे । २०४८, २०५१ र २०६४ सालमा दैलेख–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०७० सालमा भने नेपाली काँग्रेसभित्रकै अन्तर्घातका कारण पराजित भए । पार्टीभित्रको गुटबन्दीले खड्का पराजित भएपछि दैलेख–१ मा नेपाली काँग्रेस कमजोर बन्दै गयो । २०७४ सालमा वाम गठबन्धनको दबदबा हुँदा हार्ने डरले काँग्रेसले आफ्नै उम्मेदवार नउठाई राप्रपालाई सघायो ।
२०७९ सालमा वाम–लोकतान्त्रिक गठबन्धन बन्दा यो क्षेत्रबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाले टिकट पाए र उनले काँग्रेसकै बलमा चुनाव जिते । यस निर्वाचन क्षेत्रको प्रमुख राजनीतिक दल भए पनि गणेशबहादुर खड्काको पराजयसँगै दैलेख–१ मा काँग्रेस कमजोर बनेको थियो । तर, १२ वर्षपछि उनै खड्काको विरासत फर्काउन महिला नेतृ बासना थापा सफल भएकी छन् ।








प्रतिक्रिया दिनुहोस्