लेकप्रसाद प्याकुरेल
अस्तित्ववाद (Existentialism) १९औँ र २०औँ शताब्दीमा विकसित भएको पाश्चात्य दार्शनिक मान्यता हो ।अस्तित्व र वाद दुई शब्दको संयोजनद्वारा निर्मित अस्तित्ववादले मानवीय अस्तित्वलाई महत्वका साथ हेर्न सुझाउँछ। उल्लिखित दुई शब्दमध्ये पनि अस्तित्वको अर्थ ’हुनुको भाव’, ’सत्ता’ वा ’विद्यमानता’ हो। यसले कुनै पनि व्यक्ति, वस्तु वा विचार संसारमा वास्तविक रूपमा छ भन्ने कुरालाई जनाउँछ। व्यक्तिको अस्तित्व, स्वतन्त्रता, जिम्मेवारी, पीडा, चिन्ता र अर्थको खोजी जस्ता विषयलाई केन्द्रमा राख्ने अस्तित्ववादका जनक सोरेन क्रिकेगार्डलाई मानिन्छ। भिडको मानसिकताको विरोध गर्दै व्यक्तिगत छनोट र आस्थालाई महत्त्व दिएका क्रिकेगार्डले “सत्य व्यक्तिपरक हुन्छ” भन्ने धारणा अघि सार्दै अस्तित्ववादी मान्यतालाई स्थापित गरेका हुन्। अस्तित्ववादले ईश्वरको अस्तित्वलाई भन्दा मानवीय अस्तित्वलाई नै प्राथमिकतामा राख्न आग्रह गर्छ यद्यपि क्रिकेगार्ड भने धार्मिक अस्तित्ववादतर्फ उन्मुख हुँदै ईश्वरको अस्तित्वलाई समेत स्वीकार गर्न पुगेको देखिन्छ। त्यसैगरी ईश्वरको मृत्युको घोषणा गर्ने फ्रेडरिक निप्से अस्तित्ववादका अर्का प्रणेता मानिन्छन्। परम्परागत नैतिकता र धार्मिक मूल्यको आलोचना गर्ने नित्सेले मानवीय अस्तित्वलाई नै महत्व दिँदै ईश्वरको कुनै अस्तित्व नरहेको विचार व्यक्त गर्दै नास्तिक अस्तित्ववादको पक्षमा उभिएका छन्। यसरी हेर्दा अस्तित्ववादमा ईश्वरको अस्तित्व स्वीकार्ने र नस्वीकार्ने दुवै खेमाको वार्चस्व रहेको देखिन्छ यद्यपि अधिकांश अस्तित्ववादीहरू भने ईश्वरको अस्तित्वलाई अस्वीकार गर्दै मानवीय अस्तित्वलाई नै प्राथमिकता दिने पक्षमा उभिएका छन्।
अस्तित्ववादको चिन्तन परम्परा
अस्तित्ववादको चर्चा गर्दा सोरेन क्रिकेगार्ड, नित्से, जा पाल शार्त, अल्बर्ट कामु, मार्टिन हाइडेगर, कार्ल जास्पर, ग्याब्रियल मार्सल जस्ता चिन्तकहरूको नाम अग्रपंक्तिमा आउँछ भने साहित्यतर्फ फ्रान्ज काप्का, दोस्तोभस्की,स्यामुअल बेकेट लगायतका साहित्यकारहरू सक्रिय रहेको देखिन्छ। किर्केगार्डका अनुसार जिन्दगी समाधान गर्नका लागि होइन बरु यो त अनुभव गर्नका लागि हो। यदि हामीले अनुभव गर्नका लागि जिउने प्रयास गर्यौं भने हामी अवश्य हाम्रो जिन्दगी जिउने छौँ । क्रिकेगार्डले भिडले जे भन्दछ हामी त्यही भैदिन्छौँ भन्दै मानवीय अस्तित्व भिडभन्दा पृथक हुन्छ भन्ने मान्यता अघि सारेका छन्। उनका अनुसार भिडले जे भन्छ त्यो जीवन होइन। स्वविवेकले जे ठम्याउँछ त्यो नै यथार्थमा जीवन हो।हामीले आफ्नो अस्तित्व स्वीकार्ने कोसिस गर्यौं भने मात्र हामी हाम्रो जिन्दगी जिउन सक्छौँ । आज मान्छे समाजका लागि बाँचेको छ । त्यसैले ऊ सन्तुष्ट छैन तथा ऊ जहिले तनावमा बाँचेको छ, बेचैन छ । जब मान्छे स्वतन्त्र भएर आफ्नै लागि जिउन थाल्छ अनि मात्र ऊ खुसी रहन सक्छ, तनाबमुक्त रहन सक्छ भन्दै मानिस भिड भन्दा पर रहेर वैक्तिक चिन्तनमा केन्द्रित हुँदा मात्रै अस्तित्वको बोध हुन्छ र अस्तित्ववाद प्रादुर्भाव हुन्छ भन्ने मान्यता प्रस्तुत गरेका छन्।
अस्तित्ववादका अर्का चिन्तक जिन पल सार्त हुन्।अस्तित्ववादका आधुनिक दार्शनिक सात्र्रको मूल पुस्तकको रूपमा ‘विइङ एण्ड नथिङनेस’लाई लिने गरिन्छ।सात्र्रद्वारा सबैभन्दा पहिले लेखिएको वा चर्चामा आएको पुस्तक ‘नजिया’हो भने यसपश्चात प्राप्त ‘बिइङ एन्ड नथिङनेस’ हुँदै ‘द वर्डस्’जस्ता कृतिहरूले अस्तित्ववादी विचारलाई प्रश्रय दिएका छन्। सात्र्रले अस्तित्व सारभन्दा अघि आउँछ। (भ्हष्कतभलअभ उचभअभमभक भककभलअभ) भन्ने सिद्धान्त प्रतिपादन गरेका छन्। यिनका अनुसार मानिस पहिले अस्तित्वमा आउँछ, त्यसपछि आफ्ना कर्म र निर्णयद्वारा आफ्नो स्वरूप निर्माण गर्छ। मान्छे जहिल्यै राम्रो हुनका लागि जन्मेको हुन्छ। मान्छेले आफ्नो भविष्य सुरक्षित हुने हैसियतले काम गरेको हुन्छ। यो धर्तीका सबै जिन्दगीको रहस्य हुन्छ र त्यही रहस्यले मान्छेलाई बाँच्ने प्रेरणा दिएको हुन्छ। नास्तिक अस्तित्ववादका प्रमुख प्रवक्ता समेत मानिने यिनले मानिस पूर्ण स्वतन्त्र छ र आफ्ना कर्मको जिम्मेवार स्वयं हुन्छ भन्ने अस्तित्ववादी विचार अघि सारेका छन्। जीवनलाई “असंगत” (ब्दकगचम) मान्ने अल्बर्ट कामुले जिन्दगीका हरेक प्रयास निरर्थक छन् तथापि प्रयास गरिरहनुपर्छ भन्ने धारणा अघि सारेका छन् । उनको प्रसिद्ध कृति त्जभ ःथतज या क्ष्कथउजगक जीवनको अर्थहीनता र निरन्तरको परिश्रमलाई उजागर गर्दै अस्तित्ववादी चिन्तनलाई अघि सारेको छ। अर्का जर्मनी दार्शनिक मार्टिन हाइड्रेगर (१८८९–१९७६) ले मानव अस्तित्व, समय, भाषा र सत्यबारे नयाँ ढंगले सोच्ने आधार निर्माण गरेका छन्। उनको अस्तित्ववादसँग सम्बन्धित द्यभष्लन बलम त्ष्mभ (१९२७) कृतिमा अस्तित्वलाई बुझ्ने आधार समय हो,मृत्युको चेतनाले जीवनलाई अर्थपूर्ण बनाउँछ। मानिसले आफ्नो वास्तविक अस्तित्वलाई स्वीकार गरी बाँच्नु पर्छ भन्ने जस्ता अस्तित्ववादी चिन्तनहरू देखा परेका छन्।
अस्तित्ववादका मान्यताहरू
अस्तित्ववादी मान्यता अनुसार अस्तित्वको मूल केन्द्र मानिस हो। यस्तो मानिस संसारमा एक्लो छैन। मानिसले जन्म सँगसँगै मृत्यु बोकेर आउने हुनाले उसको जीवनमा निस्सारता, निरर्थकता, विवशताबाट उत्पन्न नैराश्य अवश्य छ यद्यपि त्यही सिराबाट माथि उठ्न प्रयत्न गर्ने मानिसले आफ्नो अस्तित्वको रक्षा गर्दै अघिल्ला मार्गहरू प्रशस्त गर्नुपर्छ। अस्तित्ववादी मान्यता अनुसार मानिसले जन्मँदै मृत्युको कागजमा सहीछाप गरेर आएको हुन्छ। जीवन जिउने क्रममा समेत अनेकौं पीडा, कष्ट दुःख र अप्ठ्याराहरूलाई सहन बाध्य हुन्छ। यसका बावजुद यी सबै पक्षसँग संघर्ष गर्दै आफ्नो अस्तित्वको रक्षा गर्नु नै अस्तित्ववाद हो। यसर्थ अस्तित्ववादले मानिसका जीवनमा आइपर्ने अनेकौँ समस्याहरूबाट विचलित नभई समाधानका उपायहरू खोज्न सुझाउँछ। अत अस्तित्ववाद पलायनवाद होइन बरु संघर्षको अर्को स्वरूप हो। व्यक्तिगत स्वतन्त्रता र जिम्मेवारीलाई महत्व दिने अस्तित्ववादले मानिस पूर्ण रूपमा स्वतन्त्र छ। उसले गरेका प्रत्येक निर्णय र कर्मको जिम्मेवारी उसैले वहन गर्नुपर्छ। त्यसैगरी मानिसले अर्थ खोज्छ तर संसार मौन रहन्छ यो एक किसिमको असंगत अवस्था हो। त्यसैले जीवन असंगत वा निरर्थक छ भन्ने मान्यता राख्ने अस्तित्ववादले समाजभन्दा व्यक्तिलाई प्राथमिकता दिन्छ। अस्तित्ववाद व्यक्तिगत अनुभव र आत्मानुभूतिलाई सत्यको आधार मान्दछ भने मानिस आफ्नो मृत्युबारे सचेत भई जीवनलाई गम्भीर र अर्थपूर्ण बनाउन लाग्नुपर्छ भन्ने मान्यता राख्दछ। समग्रमा अस्तित्ववादले व्यक्ति र व्यक्ति सत्ताको वकालत गर्दछ, परम्परागत मूल्यप्रति असहमति प्रकट गर्छ, आफ्नो निर्णयमा आफ्नै शीर्ष भूमिका रहन्छ भन्ने धारणा राख्छ, जीवनको निस्सारता भित्र आफू बाँच्ने दृढता व्यक्त गर्छ। कुनै पनि पूर्व निर्धारित उद्देश्यहरूलाई अस्वीकार गरी आफ्नो अर्थ र उद्देश्य स्वयं आफै नै निर्कल गर्न सुझाउने अस्तित्ववादमा अस्तित्वले सारलाई उछिन्छ, ब्रह्माण्डको आफैँमा कुनै अर्थ र उद्देश्य हुँदैन, मानिस पूर्ण स्वतन्त्र छ, मृत्यु वास्तविक र निश्चित छ तथापि यसलाई परिणाममुखी बनाउन सकिन्छ तथा मानिसले सामाजिक दबाब र भिड मानसिकताबाट मुक्त भई आफ्नै मूल्यअनुसार जीवन जिउनुपर्छ जस्ता दार्शनिक मान्यताहरूलाई अवलम्बन गरेको पाइन्छ।
अस्तित्ववादको धरातलमा तीन घुम्ती र जरत्कारु
१९७८ मा ‘वहाँ’ शीर्षकको हिन्दी भाषाको कथा हंस पत्रिकामा छपाएर साहित्य लेखन कर्ममा उदाएका विशेश्वरप्रसाद कोइरालाको पहिलो नेपाली साहित्यिक रचना १९९२ मा शारदा पत्रिकामा विक्रम सम्वत १९९२ मा प्रकाशित ‘चन्द्रवदन’कथा हो । यही कथाले नेपाली कथाको इतिहासमा मनोवैज्ञानिक धाराको प्रारम्भ गर्न पुग्यो। विश्वेश्वर प्रसाद कोइरालाले कथालेखनतर्फ दोषी चस्मा (२००६), श्वेत भैरवी (२०३९) कथा संग्रह प्रकाशनमा ल्याएका छन् भने उपन्यासतर्फ हिटलर र यहुदी, तीन घुम्ती, मोदी आइन’ नरेन्द्र दाइ, सुम्निमा तथा बाबु आमा र छोरा गरि छवटा औपन्यासिक कृतिको योगदान दिएका छन्। यी छवटा कृतिहरूमध्ये पनि दोस्रो औन्यासिक कृति तीन घुम्ती (२०२५) मनोविज्ञानको प्रयोग, नारी जीवनको कारुणिकता, राजनैतिक परिवेश, मातृत्वको चयन, नारीवाद तथा अस्तित्ववादी कोणबाट विशेष महत्त्वपूर्ण उपन्यास बनेको छ। ‘तीन घुम्ती’उपन्यास को प्रमुख नारी पात्र इन्द्रमाया हो। इन्द्रमायाको जीवनमा देखिएका तीनवटा महत्वपूर्ण मोडहरुलाई केन्द्रमा राखेर लेखेकै कारण तीन घुम्ती शीर्षकीकरण गरिएको यो उपन्यास अस्तित्ववादका दृष्टिले महत्त्वपूर्ण देखिन्छ। हरेक मानिस आफ्नो निर्णय गर्न स्वतन्त्र छ भन्ने अस्तित्ववादको प्रमुख मान्यता अनुरूप १६ वर्षकै उमेरमा आफ्ना बाबुआमाले बिहे गरिदिने कुरा गरेपछि इन्द्रमायाले आफ्नी आमासँग पिताम्बरसँग बिहे गर्ने चाह व्यक्त गरेकै छ। यही चाहनाको विपरीत परिवार देखिएपछि सिङ्गो परिवारलाई समेत लत्याएर आफ्नो मनले रोजेको पिताम्वरसँग घरजम गरेर बस्ने इन्द्रमायाको निर्णय ले अस्तित्ववादी मान्यतालाई अङ्गीकार गरेको देखिन्छ।
पिताम्बरसँग जीवन बिताउने निर्णयले घरपरिवारसँगको सम्बन्ध बिग्रिए पनि आफूले आफ्ना लागि गरेको निर्णयमा खासै असन्तुष्ट नदेखिएकी इन्द्रमायाको श्रीमान् पिताम्बर राजनैतिक सक्रियताका कारण जेल पर्छन्। पिताम्बर जेल पर्दा इन्द्रमायाले समाज र भविष्यमा उठ्न सक्ने औंलाहरू प्रति आँखा चिम्लिएर आफ्नै मनलाई प्राथमिकता राख्दै शारीरिक सन्तुष्टि र सन्तानका लागि रमेशसँग सहबास गर्ने निर्णय गर्नुले इन्द्रमाया आफ्नो जीवनमा अरु कसैको हस्तक्षेपकारी निर्णय स्वीकार्दिन । ऊ आफ्नो निर्णय आफै गर्न सक्षम छे भन्ने आधार पुष्टि गर्दा अस्तित्ववादलाई प्राथमिकतामा राखिएको छ। त्यसैगरी पति पीताम्बर जेल मुक्त भइसकेपछि रमेशबाट जन्मिएकी छोरी वा आफूमध्ये एकलाई रोज्न भनेपछि छोरी रोजेर सदाका लागि पिताम्बरको घर परित्याग गरी जाने निर्णय गर्नु तथा पिताम्बर समेत आफ्नै अस्तित्वमा अडिक रहेर इन्द्रमायालाई अस्वीकार गर्नु जस्ता घटना परिघटनाहरूले तीन घुम्ती उपन्यासलाई अस्तित्ववादको उदाहरणीय उपन्यासका रुपमा स्थापित गरेको छ। यसर्थ यस उपन्यासमा नारी अबला हुँदै होइनन् । उनीहरू समाजले निर्माण गरेको कठै र बिचाराको भाष्य भन्दामाथि उठेर आफ्ना बारेमा आफ्नै एकल निर्णय गर्नसक्ने र जस्तोसुकै परिस्थिति आए पनि त्यसलाई स्वीकार गरी अगाडि बढ्न सक्षम छन् भन्ने अस्तित्ववादी विचार प्रकट भएको छ ।
पश्चिम नेपालको बाँके जिल्लालाई कर्मथलो बनाएर साहित्य लेखनमा क्रियाशील व्यक्तित्व किरण आचार्यका झण्डै एक दर्जनजति साहित्यिक कृतिहरु प्रकाशन भइसकेका छन्। आफ्ना कृतिमा दर्शनको प्रयोग गर्न रुचाउने किरण आचार्यले पछिल्लो समय पौराणिक मिथहरुलाई विज्ञानसम्मत ढङ्गले प्रयोग गरी लेख्ने शैली निकै कलात्मक देखिन्छ। प्राय नारी चरित्रहरूलाई नायकत्व प्रदान गरी नारीवादी आवाजहरूलाई समेत यथोचित सम्मान गर्ने आचार्यको जरत्कारु उपन्यासमा पौराणिक पात्र दक्ष प्रजापतिकी नातिनी जरत्काहरूको कथालाई समेटिएको छ। उपन्यासमा प्रयुक्त कथावस्तु अनुसार उपन्यासकी प्रमुख पात्र जरतकारु आफ्नो श्रीमानबाट उपेक्षित भएपछि निकै विक्षिप्त देखिन्छिन्। यस्तो अवस्थामा ब्रह्माबाट प्रेरित भई सिंगो ब्रह्माण्डलाई बुझेपछि यस संसारमा आफ्नो अस्तित्व रक्षार्थ स्वयम्आफैंले केही नगरिकन हुँदैन भन्ने बुझेर एकान्त जङ्गलमा गरिबीमा रहेका आदिवासी बालबालिकाहरूलाई अध्यापन कार्य सञ्चालन गरेकी छन् र उपन्यासको अन्त्यतिर उनैलाई भेट्न आएकी एक सचेत महिलालाई आफूले सञ्चालन गर्दै आएको उक्त आश्रम जिम्मा लगाएर अन्य स्थानहरूमा समेत चेतनाको दियो बाल्दै हिँड्ने प्रयोजन लिएर अगाडि बढेकी छन्। यही कथावस्तुको मियोमा घुमेको उपन्यासमा अस्तित्ववाद प्रबल भएर आएको छ। उपन्यासमा वर्णित कथावस्तु अनुसार मुख्य पात्र जरत्कारु र उनका श्रीमान् जरतकारु दुबैमा अस्तित्ववाद हावी भएको छ। यही अस्तित्वको टकरावका कारण उनीहरू दुवैको सहयात्रा बीचैमा तोडिएर आआफ्नै गन्तव्यतर्फ लागेको छ।
खासगरी श्रीमान जरत्कारुमा अहमता ले निमन्त्रण गरेको अस्तित्व छ भने स्त्री पात्र जरत्कारुमा सम्यमताले विजारोपण गरेको अस्तित्ववाद हावी भएको छ। उपन्यासकी प्रमुख पात्र जरत कारुले श्रीमानको आक्षेपलाई सहन नसकेपछि सधैं सधैंका लागि उनको बन्धनबाट मुक्त हुने निर्णय गर्नु अस्तित्ववादको परिचयक हो। ब्रह्मा बाट विश्वजगत ज्ञान र विज्ञानका घतलाग्दा जानकारी प्राप्त गरिसकेपछि जीवनमा हार खाएर होइन केही गरेर देखाउने अभिलाषा सहित आश्रम खोलेर अशिक्षितलाई शिक्षित बनाउन उद्धत रहँदा समेत जरतकारुमा अस्तित्ववादी चिन्तन उदय भएको देखिन्छ। त्यसैगरी उपन्यासको बिच खण्डमा आएका ब्रह्माशले अस्तित्वको पहिचान गराउनका लागि गरेका प्रयासहरु पनि प्रशंसनीय छन्। नेपाली साहित्यमा विशेषतः उपन्यासका क्षेत्रमा पल्लो घरको झ्यालसँगै अस्तित्वमा आएको अस्तित्ववादी चिन्तन परम्पराले लगभग सात दशक लामो यात्रा तय गरिसकेको छ। यस बिचमा प्राप्त दर्जनौँ अस्तित्ववादी औपन्यासिक कृतिहरूको सूचीमा विश्वेश्वर प्रसाद कोइरालाको तीन घुम्ती र किरण आचार्यको जरत्कारु जस्ता उपन्यास समेत दर्ज भएका छन्। यी दुई उपन्यासको प्रमुख नारी पात्रहरू नै अस्तित्ववादी दर्शन निकट कार्यकलापमा सक्रिय रहँदा सिङ्गो कृति नै अस्तित्ववादी मान्यता केन्द्रित हुन पुगेको छ। दुई कृतिहरूमध्ये पनि तीन घुम्ती उपन्यासकी इन्द्रमाया रतिरागात्मक चिन्तन एवं वात्सल्य प्रेमबाट प्रेरित भएर अस्तित्वको खोजी गरिरहेकी छ भने जरत्कारुमा प्रारम्भिक चरणमा आफ्नो घरव्यवहार वा वैयक्तिक समस्याले अस्तित्ववादी चिन्तन जन्माएको छ र पछिल्लो चरणमा असक्षमलाई सक्षम बनाउने, असभ्यलाई सभ्य बनाउने, अशिक्षितलाई शिक्षित बनाउने हुटहुटी तथा ज्ञानको दियो सल्काउँदै जाने तीव्र चाहनाका कारण अस्तित्ववादी दर्शन प्रादुर्भाव भई क्रमश विकसित अवस्थामा पुगेको छ। यसर्थ विश्वेश्वर प्रसाद कोइरालाको तीन घुम्ती जस्तै आचार्यको जरत्कार उपन्याससमेत अस्तित्ववादी दर्शनको उपयुक्त उदाहरण बनेको छ।









प्रतिक्रिया दिनुहोस्