कोहलपुर ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले वाचापत्र सार्वजनिक गरेका छन् । कृषि, पर्यटन र उद्योगलाई प्रमुख प्राथमिकता दिँदै उम्मेदवार सुनारले आफ्नो वाचापत्र सार्वजनिक गरेका हुन् । ‘अबका दिन, समृद्ध बाँके तीन’ भन्ने मूल नारासहित सुनारले कृषि, पर्यटन र उद्योगलाई समृद्धिका तीन आधारका रूपमा व्यख्यासमेत गरेका छन् ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, महिला तथा बालबालिका, स्वास्थ्य, सुशासन, भूमि व्यवस्थापन, वातावरण र कला एवं संस्कृतिलाई वाचापत्रमा समेटिएको छ । विपन्न तथा गरिब बालबालिकालाई अनिवार्य शिक्षाको पहुँचमा ल्याउने, कृषि क्षेत्रको ठूलो सम्भावना बोकेको पश्चिम नेपाललाई केन्द्रित गरेर नेपालकै ठूलो कृषि विश्वविद्यालय स्थापना, विद्यालय शिक्षामा सुधार र प्रविधिमैत्री अध्ययनको वातावरण सिर्जना गर्ने, फरक क्षमता भएका बालबालिहरूलाई शैक्षिक कार्यक्रममार्फत शिक्षाको मूल प्रवाहमा ल्याउने र विद्यालय पाठ्क्रममा स्थानीय भाषा र लिपिलाई प्राथमिक तहमै समावेश गर्न भूमिका खेल्ने बताएका छन् ।
पूर्वाधारतर्फ विभिन्न कारणले स्थगित योजनाहरूलाई डेटलाइनसहित सम्पन्न गर्ने, मानखोला, बुकानाला, करेलीखोला लगायतका खोलानालाको कटान रोक्न तत्काल तटबन्धन निर्माणको थालनी गर्ने, आरक्ष आसपासको बस्तीमा वन्यजन्तुको आक्रमणबाट हुन सक्ने मानवीय क्षति रोक्न तत्काल मजबुत पर्खाल निर्माण गर्ने,च् यामादेखि सैनिकसम्मको सडक विस्तार तथा स्तरोन्नति सबैखाले सडक कालोपत्रे र ढल निकास तथा फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
कृषि र रोजगारीतर्फ सिक्टा सिँचाइको आयोजनालाई पूर्ण सञ्चालनमा ल्याएर कृषि आधुनिकीकरणमा ध्यान दिने, प्रत्येक पालिकामा कृषि बजार केन्द्र स्थापना, फलफूल र तरकारी भण्डारका लागि कोल्ड स्टोर निर्माण गर्ने, कृषि अनुसन्धान विद्यालय र तालिम सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण र बाँके ३ लाई कृषि हबको रूपमा स्थापना गर्ने उल्लेख गरिएको छ ।
आमाको नामबाट नागरिकता दिने प्रक्रियालाई सहज बनाउने, कृषिमा संलग्न महिलाहरूलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, महिला उद्यमशील कार्यक्रम सञ्चालन र सीमावर्ती क्षेत्रका महिला तथा बालबालिकाहरूको सुरक्षाका लागि ‘सेफ हाउस’ स्थानीय हाउस निर्माण गरिने जनाइएको छ ।
पर्यटन र उद्योगतर्फ वर्षौँदेखि चर्चामा रहेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गरी स्थानीय युवा तथा समुदायलाई प्राथमिकतामा राखी रोजगारी सिर्जना गर्ने, होमस्टे, धार्मिक तथा सांस्कृतिक र पर्यटकीय स्थलहरूको स्तरोन्नति, सीमावर्ती पर्यटन विकास योजना लागू गर्ने, उद्योग सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्ने, युवालाई रोजगारी र उद्यमशीलतामा प्रोत्साहित गर्नुका साथै बाँके ३ लाई पर्यटन तथा औद्योगिक हबको रूपमा विकास गरिने वाचा गरिएको छ ।
यसैगरी, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलाडी उत्पादन, बहुआयमिक खेलकुद एकेडेमी निर्माण, खुला खेलमैदानहरूलाई संरक्षण गरी आवश्यकताका आधारमा स्तरोन्नति गरिने जनाइएको छ । स्वास्थ्यतर्फ सुशील कोइराला प्रखर क्याक्सर अस्पताल खजुरालाई थप स्तरोन्नति गर्ने र अस्पताललाई क्यान्सर रिसर्च सेन्टरको रूपमा विकास गर्ने र स्थानीयलाई अनिवार्य स्वास्थ्य सेवाको पहुँच पु¥याउने प्रतिबद्धता गरिएको छ ।
यस्तै, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, लालपूर्जा वितरण प्रक्रियालाई छिटो सम्पन्न गर्ने र भूमिको वैज्ञानिक व्यवस्थापन साथै नापी तथा अभिलेख सुधार गरिने उल्लेख गरिएको छ । वाचापत्रमा उनले आफू सांसद भएपछि बेथिति र भ्रष्टाचारविरुद्ध उभिने, राष्ट्रिय नीति र बजेटमा बाँके ३ का विकासका मुद्दा सशक्त रूपमा उठाउने, स्थानीय जनताको समस्या संसद्मा निरन्तर उठाउने र स्थानीय सरकार, प्रदेश र संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा काम गर्ने र कार्यान्वयनको वातवरण सिर्जना गर्ने जनाएका छन् ।
मेरो प्रतिबद्धता भन्दै उम्मेदवार सुनारले तीन बुँदामा आफूआबद्ध पार्टीको वाचापत्र ‘थिति बसाल्ने संकल्प कार्यान्वयनको नेतृत्व गर्ने’ सार्वजनिक सेवालाई चुस्त, दुरुस्त बनाउन प्रभावकारी भूमिका खेल्ने र बाँके ३ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरेर स्थानीय सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्