नेपालगन्ज ।
बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ऋषिराज देवकोटाले राष्ट्रिय अस्मिता, सामाजिक सद्भाव र बाँकेको समृद्धिलाई आफ्नो मुख्य एजेण्डा बनाए प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार देवकोटाले राप्रपाको प्रमुख एजेण्डा स्पष्ट गर्दै नेपाललाई पुनः राजासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्न र संघीयता खारेज गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
यसका साथै निर्वाचन क्षेत्रका विकास योजनाहरूमा पहल गर्ने वाचा गरेका देवकोटाले नेपालगन्ज रिङरोड योजना शीघ्र अघि बढाउने, नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि पहल गर्ने, निर्माणाधीन सिक्ता सिँचाइ आयोजना गुणस्तरीय र समयमै सम्पन्न गर्ने उल्लेख गरेका छन् । यस्तै, राप्ती नदी किनारका डुडुवा, चौफेरीलगायत कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्ने, राप्ती खानेपानी आयोजना छिटो सम्पन्न गर्ने, वृक्षारोपण कार्यक्रम लागू गर्ने, डडुवा, चौफेरी, नरैनापुर, बेतनी, होलिया लगायतमा सडक र पुल निर्माणका लागि पहल गर्ने बताएका छन्।
विद्युत आपूर्ति समस्या समाधान गर्ने, कृषकहरूलाई उन्नत बीउ, मल, बीमा र सिंचाइ सुविधा सुनिश्चित गर्ने, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्ने, रंगशाला स्तरोन्नति गर्ने, क्रिकेट मैदान निर्माण गर्ने उनको प्रतिबद्धता छ । यसैगरी, स्वास्थ्य सेवामा सहज पहुँच र स्वास्थ्य बीमा प्रभावकारी बनाउने, बढ्दो धर्मान्तरण रोक्न संविधान र कानुन कडाइका साथ कार्यान्वयन गर्ने, बागेश्वरी मन्दिर क्षेत्रको दीर्घकालीन सौन्दर्यकरण र गुरुयोजना तयार गर्ने पनि उनले बताएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा आंशिक करार शिक्षकको स्थायित्व सुनिश्चित गर्ने, नेपालगन्जलाई नमुना शहर बनाउने नीतिगत पहल गर्ने र मानसरोवर जाने पर्यटकलाई केन्द्रमा राखेर धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उनको योजना छ । यस क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणासमेत सहभागी प्रतिबद्धता सावजनिक गर्न आयोजित कार्यक्रममा राणाले आफूले चुनावमा भाग लिँदा गरेको मल कारखानाको वाचा र विकासका पूर्वाधारहरूको वाचा पूरा नभएको विषमा पत्रकारहरूले प्रश्न सोधेका थिए ।
त्यसक्रममा राणाले आफूले मल कारखानाका विषयमा संसदमा कुरा उठाएको र त्यसको प्रतिफलस्वरुप मल कारखाना खोल्ने विषयमा काम अघि बढेको दाबी गरे । उनले संसदमा पार्टीको राजसंस्था र हिन्दुराष्ट्रको व्यवस्थाका लागि लडेको उनको दाबी छ । उनले सांसदले विकासका योजनाहरू बाँड्नेभन्दा पनि नीति निर्माण गर्ने भूमिका हुने हुँदा त्यसका आधारमा सांसदको भूमिकाको मूल्यांकन गर्नुपर्ने बताएका थिए ।








प्रतिक्रिया दिनुहोस्