आज फागुन ७ गते अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । यो दिनको नेपालमा अत्यन्तै ठूलो महत्व रहेको छ । विसं २००७ साल आजकै दिनदेखि नेपालबाट १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो । यो ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइन्छ । यो दिन नेपाली जनताको संघर्ष र बलिदानबाट मुलुकमा प्रजातन्त्र छाएको खुसीयालीमा सरकारी तथा सामाजिकस्तरमा विभिन्न कार्यक्रम गरी मनाइने एक ऐतिहासिक राष्ट्रिय पर्व हो । विसं २००७ साल फागुन ७ गते राजा त्रिभुवन र राजनीतिक दलहरू (मुख्यतः नेपाली काँग्रेस)को संयुक्त प्रयासमा राणा शासन अन्त्य भएको थियो । यस दिनलाई आम जनता रैतीबाट नागरिक बनेको र जनताको हातमा शासन शक्ति आएको दिनका रूपमा सम्झना गरिने गरिन्छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले फागुन ७ गते सार्वजनिक बिदा दिने गरेको । प्रजातन्त्र दिवसको जगमा नै नेपालमा लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको मानिन्छ । प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि सहिदहरुको बलिदानी र देशको हितमा शासन गर्ने सरकार स्थापित गर्नका लागि गरिएको सङ्घर्षलाई स्मरण गर्ने गरिन्छ ।
महान् सहिदहरूको बलिदानीपूर्ण त्याग र सङ्घर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिन फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रम र उल्लाससहित प्रजातन्त्र दिवस मनाइने गरिन्छ । सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गरिरहेका छन् । २००७ सालको जनक्रान्तिले नै नागरिकलाई अधिकारसम्पन्न बनाउने जग बसाएको थियो । यसपश्चात् देशमा विभिन्न चरणका आन्दोलन तथा जनआन्दोलन भइसकेका छन् । हरेक आन्दोलन र जनआन्दोलनमा सहिदहरुले रगत बगाएका छन् । उनीहरुका रगतबाट देशमा विभिन्न राजनीतिक परिवर्तन भइसकेको छ । संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहारअनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको हो । त्यही जनक्रान्तिको जगमा टेकेर नेपालमा गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास सुरु भएको छ । देशमा विभिन्न चरणमा राजनीतिक परिवर्तन र शासकीयस्वरूपमा रूपान्तरण भए पनि त्यसको आधार २००७ कै क्रान्ति हो ।
२००७ सालभन्दा पहिले नेपालको बेग्लै इतिहास थियो तर जनक्रान्तिपछि राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणका दृष्टिकोणले बेग्लै रह्यो । त्यो केवल एउटा आन्दोलन मात्रै नभएर नागरिकलाई सार्वभौम बनाउने र नागरिकले आफ्ना प्रतिनिधि आफैँले छान्न पाउने व्यवस्थाको आरम्भ भएको दिन होे । नागरिकको अधिकार, हकहितको अनुभूति र अभ्यास गरेसँगै राज्यप्रति आफ्नो दायित्व पूरा गर्न र विकासमा आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ । नागरिकले गुनासो र आलोचना खुला रूपमा राखेर लोकतान्त्रिक व्यवस्थाअनुरूप अधिकारको अभ्यास गरिरहेका छन्, जुन यसैको उपलब्धि हो । २००७ सालबाट सुरु भई गत भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् प्राप्त उपलब्धिहरु जोगाउँदै थप हक अधिकारलाई स्थापित बनाउनका लागि सबै सरोकारवालाको दायित्व र जिम्मेवारी हो । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रात्मक शासन व्यवस्थासम्म आइपुग्दा नेपाली जनताहरुमा राजनीतिक चेतनाको विकास हुँदै आएको छ । हरेक आन्दोलन र परिवर्तनको मुख्य जग भनेकै २००७ सालको राजनीतिक परिवर्तन नै हो । यो इतिहासलाई कसैले पनि बिर्सनु हुँदैन् । २००७ सालदेखि हालसम्मका हरेक राजनैतिक परिवर्तनमा ज्यान गुमाएका सम्पूर्ण सहिदहरुप्रति हार्दिक सम्मान गर्नुपर्दछ । हालसम्म प्राप्त उपलब्धिहरुलाई जोगाउँदै सहिदहरुका रगतले सिंचित भएको देशको माटोलाई सम्मान गर्दै राष्ट्रिय एकताका रुपमा प्रजातन्त्र दिवस मनाऔँ । शुभकामना ।









प्रतिक्रिया दिनुहोस्