यतिखेरको मुख्य सवाल भनेको मतदाताले कस्ता उम्मेदवारलाई चयन गर्ने भन्ने हो । मतदाताले एउटा मत त हो नि भन्दै जसलाई दिए पनि भयो भन्ने ठानेर सोहीअनुसार मतदान गरे भने त्यसले सही प्रतिनिधि छनोटमा सहयोग गर्दैन ।

काठमाडौँ ।
हामी सबैलाई थाहा भएकै कुरा हो जुनसुकै क्षेत्रमा कुराभन्दा कामको महत्व बढी हुन्छ । कुनै संस्था वा कुनै मुलुक नै किन नहोस् जहाँ नतिजामुखी कामलाई महत्व दिइएको हुन्छ, ती संस्था वा मुलुकले प्रगति गरेका हुन्छन् । अब लागौँ । आजको प्रसङ्गतिर । प्रसङ्ग हो– यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार चार सय ६ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतिस्पर्धामा रहेका केहीबाहेक धेरैले निर्वाचनमा विजयी हुने दाबी गरिरहेका छन् । निर्वाचनमा विजयी हुनका लागि हरेकले आफ्नो बलबुताले भ्याएसम्मका गतिविधि गरिरहेका छन् । यही बेला कतिपयले किसानको बारीमा पुगेर कृषिकर्ममा जोडिएर भोट मागिरहेका छन् ।
कतिपय डकर्मी बनिरहेका छन्, कतिपयले बाजा बजाइरहेका छन् । अर्थात् उम्मेदवारहरू मतदाता जेजस्तो अवस्थामा छन्–त्यस्तै गरिरहेका छन्, चाहे निर्वाचनको मिति घोषणा हुनुअघिसम्म सायदै चिनजान भएको होस् । बुधबार पनि चुनावी प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रममा आयोजना गरे । र, ती कार्यक्रममा आफू विजयी भए नयाँ र जनप्रिय काम गरेर देखाउने दाबी गरे ।
नेपाली काँग्रेसले जनकपुरमा आयोजना गरेको कार्यक्रममा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्माको समूहले १० वटा ‘भिजन’ सार्वजनिक ग¥यो । राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा आयोजना गरेको कार्यक्रममा पार्टी सभापति रवी लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिममा काम गरेर देखाउने अठोट लिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापामा र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पूर्वी रुकुमका चुनावी कार्यक्रममा व्यस्त रहे । निर्वाचनको बेला उम्मेदवारहरूले मत आफ्नो पक्षमा पार्न विभिन्नखाले गतिविधि गर्नुलाई अस्वभाविक रूपमा लिन सकिँदैन । किनकि हरेक उम्मेदवारले जितका लागि सपना बुनेका हुन्छन् र त्यसका लागि अनेक प्रयास गर्छन् ।
तर यतिखेरको मुख्य सवाल भनेको मतदाताले कस्ता उम्मेदवारलाई चयन गर्ने भन्ने हो । मतदाताले एउटा मत त हो नि भन्दै जसलाई दिए पनि भयो भन्ने ठानेर सोहीअनुसार मतदान गरे भने त्यसले सही प्रतिनिधि छनोटमा सहयोग गर्दैन । साथै गलत व्यक्ति जनप्रतिनिधि बन्दा त्यसले सिंगो शासकीयस्वरुप र शासन व्यवस्थामा नै प्रश्न खडा गरिरहन्छ ।
मतदाताको लापरवाहीले राम्रो व्यक्ति निर्वाचनमा पराजित हुने र खराब व्यक्ति जनप्रतिनिधि चयन भयो भने त्यसले आमसर्वसाधारणमा निराशा ल्याउँछ । त्यसैले निर्वाचनको बेला उम्मेदवारले कस्ता कुरा गर्छन् ? उनको व्यवहार कस्तो छ ? भनेर मात्र हेर्नुभन्दा पनि उम्मेदवारका विगतका गतिविध, सोच, क्रियाकलापलाई सुक्ष्म रूपमा केलाउनुपर्छ । व्यक्ति को, कस्तो भन्ने कुरा केही समयका गतिविधि तथा बोली व्यवहारको अध्ययन गर्दा थाहा भइहाल्छ ।
तीमध्ये कतिपय उम्मदेवारलाई वास्तविक रूपमा बुझ्न कठिन भयो भने त्यस्ता व्यक्तिको नजिक पुगेर वा आफूले चिनेजानेका व्यक्तिमार्फत पनि बुझ्नु पर्छ । अहिले सूचना र प्रविधिको समयमा कुनै पनि व्यक्तिबारे जान्न वा थाहा पाउन त्यति कठिन पनि छैन । त्यसैले मतदाताले उम्मेदवार छनोट गर्दा चारित्रिक पक्ष, उम्मेदवारका अल्पकालीन र दीर्घकालीन सोच, क्षमता, यथार्थताजस्ता आधारभूत पक्षलाई कहिले पनि बिर्सनु हुँदैन ।
निर्वाचनमा आमनागरिकले तिरेको करको ठूलो रकम खर्च भइरहेको हुनाले आफ्नो मत गलत व्यक्तिमा जाला कि भनेर दायित्व निर्वाह गर्न पनि सक्नु पर्छ । देशमा यो भएन, त्यो भएन भनेर मात्र हुँदैन । कुनै पनि देश बनाउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचनबाटै राम्रो व्यक्ति छान्न सके धेरै सुधार गर्न सकिन्छ ।
लोकतन्त्रको आधारस्तम्भ नै निर्वाचन हो भन्ने कुरा बिर्सनु हुँदैन । नागरिकले आफ्ना प्रतिनिधि आफैँ चयन गर्ने प्रक्रिया लोकतन्त्रको आत्मा हो । निर्वाचन केवल मत हाल्ने औपचारिक अभ्यास मात्र होइन, यो देशको भविष्य कोर्ने गम्भीर दायित्व पनि हो । त्यसैले निर्वाचनमा राम्रा, इमानदार, सक्षम र दूरदर्शी व्यक्तिको छनोट गर्नु अत्यन्त आवश्यक हुन्छ । गलत व्यक्ति सत्तामा पुगेमा राष्ट्रले वर्षौँसम्म त्यसको मूल्य चुकाउनुपर्छ, तर योग्य व्यक्तिको नेतृत्वले समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन सक्छ ।
यदि जनप्रतिनिधिमा दूरदृष्टि, ज्ञान र नैतिकता छैन भने ती निर्णयहरू स्वार्थकेन्द्रित र अल्पकालीन लाभका लागि सीमित हुन सक्छन् । परिणामस्वरूप विकास अवरुद्ध हुन्छ, स्रोतसाधनको दुरुपयोग हुन्छ र जनताको विश्वास कमजोर बन्छ । योग्य र प्रतिबद्ध व्यक्तिको छनोटले मात्र सही नीति निर्माण सम्भव हुन्छ । सुशासन स्थापना गर्न राम्रा व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ ।
निर्वाचनमा धनबल, जनबल वा भावनात्मक नाराको भरमा जित्ने तर नैतिक आधार कमजोर भएका व्यक्तिले सत्तामा पुगेपछि पदलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्ने सम्भावना बढी हुन्छ । इमानदार र नैतिक व्यक्तिले सत्तालाई सेवाको माध्यम ठान्छन्, अवसरको साधन होइन । मतदाता स्वयं सजग, विवेकी र जिम्मेवार भए मात्र राम्रो व्यक्ति छनोट सम्भव हुन्छ । जात, धर्म, क्षेत्र वा व्यक्तिगत लाभको आधारमा मतदान गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ ।
निर्वाचनमा राम्रा व्यक्ति छनोट गर्नु केवल व्यक्तिगत रोजाइको विषय होइन, राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको प्रश्न हो । सक्षम र नैतिक नेतृत्वले राष्ट्रलाई समृद्धि, सुशासन र स्थायित्वतर्फ डो¥याउन सक्छ भने अयोग्य नेतृत्वले अस्थिरता, भ्रष्टाचार र अविश्वास जन्माउन सक्छ । त्यसैले निर्वाचनमा विवेकपूर्ण निर्णय गर्दै देशको भविष्य सुरक्षित गर्ने दायित्व मतदाताको हो ।
काँग्रेसका १० ‘भिजन’
नेपाली काँग्रेसले आगामी कार्यदिशा स्पष्ट पार्दै १० बुँदे भिजन सार्वजनिक गरेको छ । जनकपुरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नारालाई केन्द्रमा राखेर पाँच वर्षे लक्ष्य र दीर्घकालीन नीति प्रस्तुत गरिएको हो ।
‘बदलियो काँग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषसहित सार्वजनिक दस्तावेजमा नागरिकको जीवनस्तर उकास्ने, सुशासन कायम गर्ने र आर्थिक गतिशीलता बढाउने प्रतिबद्धता उल्लेख गरिएको छ ।
पार्टीले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारलाई पहिलो प्राथमिकतामा राख्दै जात, धर्म, लिङ्ग वा भूगोलका आधारमा हुने विभेद अन्त्य गर्ने लक्ष्य अघि सारेको छ । भिजनमा विधिको शासन सुदृढ बनाउने, शक्ति र पहुँचका आधारमा पाइने विशेष सुविधा हटाउने तथा प्रशासनिक बेथिति अन्त्य गर्ने संकल्प गरिएको छ । भ्रष्टाचार नियन्त्रणलाई कडाइका साथ लागू गर्दै सेवा प्रवाहलाई डिजिटल र सहज बनाउने दाबी गरिएको छ, जसले नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्ने उल्लेख छ ।
आर्थिक पक्षमा निजी क्षेत्रलाई विकासको प्रमुख साझेदार मान्दै लगानीमैत्री वातावरण बनाउने नीति प्रस्तुत गरिएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाशक्तिलाई देशभित्रै अवसर उपलब्ध गराउने तथा विदेश पलायन घटाउने रणनीति दस्तावेजमा समेटिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानको आम्दानी बढाउने, उत्पादन र बजार व्यवस्थापन सुधार गर्ने तथा कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई समृद्धिको आधार स्तम्भका रूपमा अघि सारिएको छ ।









प्रतिक्रिया दिनुहोस्