भेरी अस्पतालका उपलब्धि, चुनौती र यथार्थको चिरफार



डा. डक्टप्रसाद धिताल

त्यसैले भेरी अस्पतालको मूल्यांकन गर्दा केवल एउटा घटना, एउटा भिडिओ, एउटा गुनासो वा एउटा समाचारको आधारमा निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन । साँचो पत्रकारिता भनेको माइक्रोफोन तेर्साएर आरोप सोध्नु मात्र होइन । समस्याको जरा पहिचान गर्नु, उपलब्धि देख्नु, कमजोरी औँल्याउनु र समाधानको बाटो खोज्नु पनि हो ।
नेपालगन्जको भेरी अस्पताल केवल एउटा सरकारी अस्पताल मात्र नभएर पश्चिम नेपालको स्वास्थ्य इतिहास बोकेको एउटा जीवित संस्था हो । विसं १९४७ सालदेखि सेवा सुरु गरेको यस अस्पतालले तत्कालीन मध्यपश्चिम र सुदूरपश्चिमका लाखौँ नागरिकको स्वास्थ्य उपचारको केन्द्रका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । तर विडम्बना, आज पनि भेरी अस्पतालको चर्चा हुँदा उपलब्धिभन्दा बढी आलोचना, समस्याभन्दा बढी आरोप र यथार्थभन्दा बढी हल्ला सुनिन्छ । अस्पतालमा औषधि छैन भन्ने समाचार आउँछ, शल्यक्रिया ढिलो भयो भन्ने गुनासो सुनिन्छ, बिरामीको भिड देखाएर सेवा प्रभावहीन भएको आरोप लाग्छ । तर प्रश्न उठ्छ, यी समस्याको जरा कहाँ छ ? पत्रकारिता केवल घटनाको रिपोर्टिङ मात्र हो कि समस्याको गहिराइसम्म पुगेर सत्यको खोजी गर्नु पनि हो ? भेरी अस्पतालको विगत केही वर्षको यात्रा नियाल्दा यहाँ केवल समस्या मात्र छैनन्, इतिहासमै नभएका उपलब्धिहरू पनि छन् ।

नेतृत्व, जसले परिवर्तनको आधार तयार ग¥यो

पूर्वमेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा, निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी, अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा. डक्टप्रसाद धिताल, किरण आचार्य र समीरकुमार गुरुङ लगायतको नेतृत्वकालमा भेरी अस्पतालले सेवा विस्तार र संस्थागत विकासमा उल्लेखनीय फड्को मारेको देखिन्छ । सरकारी अस्पतालहरूमा सामान्यतया नयाँ सेवा सुरु गर्न वर्षौँ लाग्ने अवस्था हुन्छ । तर भेरी अस्पतालले केही वर्षभित्रै दर्जनौँ नयाँ सेवा सञ्चालन गरेर आफूलाई संघीयस्तरको विशिष्ट अस्पतालका रूपमा उभ्याउने प्रयास गरेको छ ।

सिकलसेल रोग उपचारमा राष्ट्रिय नमुना

पश्चिम नेपाल विशेषगरी थारू समुदायमा सिकलसेल रोग ठूलो स्वास्थ्य चुनौतीका रूपमा रहेको छ । भेरी अस्पतालले ६ शय्याको डे–केयर युनिट स्थापना गरेर नियमित ब्लड ट्रान्सफ्युजन सेवाको व्यवस्था ग¥यो । त्यसपछि १० शय्याको विशेष वार्ड सञ्चालनमा ल्याइयो । सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको सिकलसेल र थालासेमियाको नवजात शिशु स्क्रिनिङ सेवा हो । यो सेवा हाल नेपालमै दुर्लभ र विशेष महत्वको मानिन्छ । यसले रोग पहिचानलाई जन्मसँगै जोडेर दीर्घकालीन स्वास्थ्य व्यवस्थापनको नयाँ ढोका खोलेको छ ।

मिर्गौला उपचारमा ऐतिहासिक उपलब्धि

कुनै समय डायलाइसिसका लागि काठमाडौँ धाउनुपर्ने बिरामी आज नेपालगन्जमै उपचार गराउन सक्षम भएका छन् । ६ वटा डायलाइसिस मेसिनबाट सुरु भएको सेवा १० वटा मेसिनसम्म विस्तार गरिएको छ । दैनिक थप १२ जना बिरामीले निःशुल्क सेवा पाउने अवस्था सिर्जना भएको छ । सिरोपोजिटिभ बिरामीका लागि छुट्टै डायलाइसिस मेसिन जडान गरिनु अर्को महत्वपूर्ण उपलब्धि हो । पेरिटोनियल डायलाइसिस सेवा सुरु हुनु र त्यसलाई विपन्न नागरिक उपचार कार्यक्रमसँग जोड्नुले आर्थिक रूपमा कमजोर बिरामीलाई ठूलो राहत दिएको छ । तर सबैभन्दा ऐतिहासिक उपलब्धि भनेको लुम्बिनी प्रदेशमै पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण सम्पन्न हुनु हो । आज भेरी अस्पतालले मिर्गौला प्रत्यारोपण गराउन आउने विपन्न बिरामीलाई प्रतिबिरामी सात लाख रूपैयाँसम्मको सरकारी सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सरकारी अस्पतालका लागि यो सानो उपलब्धि होइन ।

मातृत्व सेवामा गुणात्मक सुधार

नेपालमा मातृ मृत्युदर घटाउने अभियान चलिरहेका बेला भेरी अस्पतालले प्रसूति सेवामा उल्लेखनीय सुधार गरेको छ । दैनिक दुईवटा मात्र हुने शल्यक्रिया बढाएर चारवटासम्म पु¥याइएको छ । पोस्ट अपरेटिभ वार्ड विस्तार गरिएको छ । सिजेरियनपछि उपचार पाउने शय्याको सङ्ख्या बढाइएको छ । यी सुधारले पश्चिम नेपालका हजारौँ आमाहरूलाई प्रत्यक्ष लाभ पुगेको छ ।

शल्यक्रियामा आधुनिकताको प्रवेश

अस्पतालमा चार टेबल क्षमताको आधुनिक अपरेशन थिएटर सञ्चालनमा ल्याइएको छ । अर्थोपेडिक आथ्र्रोस्कोपी र एन्डोस्कोपिक स्पाइन सर्जरी जस्ता सेवा सरकारी अस्पतालमै उपलब्ध हुनु केही वर्ष अघिसम्म कल्पनाभन्दा बाहिरको विषय थियो । आज ती सेवा भेरी अस्पतालमै उपलब्ध छन् ।

शिक्षा र अनुसन्धानको केन्द्रतर्फ यात्रा

सरकारी अस्पतालहरू सामान्यतया उपचारमा सीमित हुन्छन् । तर भेरी अस्पतालले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर शैक्षिक अस्पतालको स्वरूप ग्रहण गर्ने प्रयास गरिरहेको छ । सर्जरी, मेडिसिन, अर्थोपेडिक्स र स्त्रीरोग विषयमा पोस्टग्राजुएट रेजिडेन्सी कार्यक्रम सञ्चालन हुनु भनेको भविष्यका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने थलो बन्नु हो । फ्याकल्टी पद सिर्जना, तालिम कार्यक्रम सञ्चालन र मेडिको–लिगल प्रशिक्षण केन्द्रको रूपमा विकास हुनु अस्पतालको दीर्घकालीन संस्थागत विकासको संकेत हो ।

अन्य सेवाहरूको उल्लेखनीय विस्तार

जेरियाट्रिक वार्ड, बर्न वार्ड, युरोलोजी तथा इएनटी विशेष वार्ड, मेडिकल आइसियु, सर्जिकल आइसियु, हिस्टोप्याथोलोजी सेवा लगायतका विस्तारहरूले भेरी अस्पताललाई बहुआयामिक सेवा केन्द्र बनाएको छ । पार्किन्सन्स, अल्जाइमर्स, मिर्गौला प्रत्यारोपण, पेरिटोनियल डायलाइसिस लगायतका सेवा विपन्न कार्यक्रमअन्तर्गत समावेश हुनु ठूलो उपलब्धि हो । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमध्ये विपन्न कार्यक्रमअन्तर्गत सबैभन्दा धेरै रोगको उपचार सेवा उपलब्ध गराउने अस्पतालमध्ये भेरी अग्रपंक्तिमा देखिन्छ ।

नयाँ मेडिकल सुपरिटेन्डेन्टको व्यवस्थापकीय पहल

निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीको सरुवापछि आएका डा. नवीन दर्नालले अस्पताललाई थप चुस्त बनाउन नयाँ व्यवस्थापकीय अभ्यास सुरु गरेका छन् । हरेक दिन बिहान ९ बजेदेखि ९ः३० बजेसम्म चिकित्सक तथा कर्मचारीहरूको सम्मेलन राख्ने कार्यले समन्वय, जवाफदेहिता र समस्या समाधानमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

यथार्थ ः समस्या कहाँ छ ?’

अब आलोचनाको केन्द्रमा आउने प्रश्नतर्फ जाऔँ । औषधि किन छैन ? धेरैले सोध्छन्, भेरी अस्पतालमा औषधि किन छैन ? तर यसको उत्तर खोज्ने प्रयास कमै हुन्छ । सरकारी अस्पतालमा औषधि खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनले निर्देशित गर्छ । गुणस्तरभन्दा न्यूनतम मूल्यलाई प्राथमिकता दिने प्रणालीका कारण कहिलेकाहीँ प्रभावकारितामाथि प्रश्न उठ्ने औषधि खरिद हुन सक्छन् । अर्कोतर्फ स्वास्थ्य बीमा कार्यक्रमबाट अस्पतालले समयमै भुक्तानी नपाउँदा औषधि खरिदमा गम्भीर आर्थिक संकट सिर्जना हुन्छ । अस्पताल ऋणमा डुबेको अवस्थामा औषधि आपूर्ति प्रभावित हुनु अस्वाभाविक होइन । पत्रकारिताको प्रश्न हुनुपथ्र्यो, ‘औषधि किन छैन ?’ तर धेरैजसो अवस्थामा प्रश्न ‘बन्छ, ‘भ्रष्टाचार भयो कि ?’ दुवै प्रश्नको अर्थ र परिणाम फरक हुन्छ ।

शल्यक्रिया किन ढिलो हुन्छ ?

शल्यक्रिया ढिलो भयो भनेर बिरामी र आफन्त आक्रोशित हुनु स्वाभाविक हो । तर एउटा शल्यक्रिया ढिलो हुनुको कारण केवल चिकित्सकको इच्छाशक्ति मात्र होइन । शल्यक्रिया गर्न पर्याप्त विशेषज्ञ चाहिन्छ, नर्स चाहिन्छ, अपरेशन टेबल चाहिन्छ, उपकरण चाहिन्छ, बेड चाहिन्छ । जब १५० शय्याको जनशक्ति संरचनाले ३०० भन्दा बढी शय्याको अस्पताल धानिरहेको हुन्छ, त्यहाँ कार्यभार दोब्बर हुनु स्वाभाविक हो । त्यसैले ढिलाइको कारण खोज्दा मानव स्रोत र संरचनागत अभावलाई पनि हेर्नुपर्छ ।

भेरीमाथि किन यति धेरै आक्रमण ?

नेपालगन्जमा निजी अस्पताल र मेडिकल सेन्टरहरूको सङ्ख्या बढ्दो छ । सरकारी अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुनु निजी क्षेत्रका लागि प्रतिस्पर्धा बन्न सक्छ । यस्तो अवस्थामा अस्पतालविरुद्ध नकारात्मक धारणा निर्माण गर्ने प्रयास भएको आरोप बेलाबेलामा सुनिन्छ । यस्ता आरोप प्रमाणित गर्न अनुसन्धान आवश्यक हुन्छ । तर एउटा तथ्य के हो भने भेरी अस्पतालमाथि हुने आलोचनामा कहिलेकाहीँ तथ्यभन्दा भावनात्मक प्रतिक्रिया बढी देखिन्छ । चिकित्सकहरूको क्षमता र योगदान भेरी अस्पतालमा कार्यरत धेरै चिकित्सक राष्ट्रियस्तरमै परिचित विशेषज्ञहरू छन् । जस्तै डा. राजन पाण्डे, डा. बद्री चापागाईं, डा. सुरेश नाग, डा. निर्माणबहादुर शाह, डा. कृष्णप्रसाद अधिकारी, डा. विकास नेपाल, डा. संकेत रिसाल, डा. पारस श्रेष्ठ, डा. कृष्णमोहन अधिकारी, डा. अरविन्द शाक्य, डा. विश्वनाथ शर्मा, डा. तिर्थेन्द्र खड्का, डा. उर्मिला रिसाल, डा. दिनेश चौधरी तथा डा. खगेन्द्र शाह लगायतका चिकित्सकले लामो समयदेखि सेवा दिइरहेका छन् । लोकसेवा आयोगमार्फत छनोट भएर आएका विशेषज्ञ चिकित्सकहरूको अनुभव र दक्षता भेरी अस्पतालको महत्वपूर्ण सम्पत्ति हो । तोडफोडको संस्कृति र मनोवैज्ञानिक दबाब स्वास्थ्य सेवामा त्रुटि हुन सक्छ । गल्ती गर्ने जोसुकैलाई कानुनी कारबाही हुनुपर्छ । तर घटना नबुझी अस्पताल तोडफोड गर्ने, चिकित्सकलाई हातपात गर्ने, धम्की दिने प्रवृत्तिले सेवा प्रणालीलाई झन् कमजोर बनाउँछ । एकजना चिकित्सकले दिनभर दर्जनौँ बिरामी हेरेर काम गर्दा एउटा घटनाको आधारमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई दोषी देखाउने संस्कृतिले स्वास्थ्य सेवा सुधारिँदैन ।

भेरी किन पछि प¥यो ?

सबैभन्दा गम्भीर प्रश्न यही हो । सुर्खेत, धनगढी, बुटवल, दाङ लगायतका अस्पतालहरू तीव्र गतिमा अघि बढे । केही संस्थाहरू प्रतिष्ठान बने । जनशक्ति बढ्यो । बजेट बढ्यो । तर भेरी अस्पताल लामो समयसम्म राजनीतिक प्राथमिकताबाट बाहिर रह्यो । यसमा यस क्षत्रमा नेतृत्वको कमी नमान्ने त ? असल नेतृत्व नभएकै कारण नेपालगन्जले यो नियति भोग्नु परेको छ । तत्कालीन विकास समितिका अध्यक्ष प्रमोद धिताल लगायतको सक्रियता, तत्कालीन सहरी विकासमन्त्री मो. इस्तियाक राईको पहलमा नयाँ भवन निर्माणका लागि बजेट नआएको भए आज भेरी अस्पताल झन् कठिन अवस्थामा हुन सक्थ्यो भन्ने धारणा धेरैले व्यक्त गर्छन् । आज पनि पुरानो भवन जीर्ण अवस्थामा छ । अस्पतालको क्षमता बढेको छ, सेवा बढेको छ, बिरामी बढेका छन् तर जनशक्ति र वित्तीय स्रोत त्यसअनुसार बढेका छैनन् । यही असन्तुलन नै भेरी अस्पतालको मूल पीडा हो ।

निष्कर्ष

भेरी अस्पतालको कथा केवल समस्याको कथा होइन, संघर्ष र सम्भावनाको कथा पनि हो । एकातिर सीमित जनशक्ति, आर्थिक संकट, बीमाको भुक्तानी समस्या, औषधि अभाव, संरचनागत चुनौती र राजनीतिक उपेक्षा छन् । अर्कोतिर सिकलसेल उपचार, मिर्गौला प्रत्यारोपण, आइसियु विस्तार, आधुनिक शल्यक्रिया, शैक्षिक कार्यक्रम, एनआइसियु विस्तार योजना जस्ता ऐतिहासिक उपलब्धि पनि छन् । त्यसैले भेरी अस्पतालको मूल्यांकन गर्दा केवल एउटा घटना, एउटा भिडिओ, एउटा गुनासो वा एउटा समाचारको आधारमा निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन । साँचो पत्रकारिता भनेको माइक्रोफोन तेर्साएर आरोप सोध्नु मात्र होइन । समस्याको जरा पहिचान गर्नु, उपलब्धि देख्नु, कमजोरी औँल्याउनु र समाधानको बाटो खोज्नु पनि हो । भेरी अस्पताल आज पनि लाखौँ नागरिकको आशाको केन्द्र हो । प्रश्न अस्पतालमा समस्या छ कि छैन भन्ने होइन । प्रश्न यति हो, हामी समस्याको सतह मात्र हेर्छौँ कि त्यसको गहिराइसम्म पुगेर यथार्थ बुझ्ने प्रयास पनि गर्छौँ ?

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार