दैनिक साढे आठ अर्ब रेमिटेन्स नेपाल भित्रिँदै



काठमाडौँ।

समग्र अर्थतन्त्रको अवस्था सुधारोन्मुख नभइरहेको अवस्थामा विदेश गएका नेपालीले पठाउने रेमिटेन्स आप्रवाहको उत्साह भने कायमै छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा तथ्यांकअनुसार वैशाख महिनामा हालसम्मकै कीर्तिमानी रेमिटेन्स नेपाल भित्रिएको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को वैशाख महिनामा २ खर्ब ५७ अर्ब रूपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

यो भनेको विदेशमा गएका युवायुवतीले दैनिक साढे आठ अर्ब रूपैयाँभन्दा बढी रकम नेपाल भित्रिरहेको हो । वैशाख महिनाको तथ्यांकसहित चालू आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाखसम्म) कूल १९ खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ५७ अर्ब रूपैयाँ रेमिटेन्स नेपाल आएको थियो ।

वैशाखमा २ खर्ब ५७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिँदा यसअघि चैत महिनामा २ खर्ब ९ अर्ब रूपैयाँ नेपाल भित्रिएको थियो । लगातार दुई महिनादेखि मासिक दुई खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिनु अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

अर्थतन्त्रको मुख्य सहारा बन्दै रेमिटेन्स

पछिल्ला वर्षहरूमा निर्यात, उत्पादन र लगानी क्षेत्र अपेक्षित रूपमा विस्तार हुन नसकेको अवस्थामा रेमिटेन्स नै नेपाली अर्थतन्त्रको प्रमुख आधार बनेको छ । विदेशी मुद्राको सञ्चिति वृद्धि, बैंकिङ प्रणालीमा तरलता सुधार, उपभोग खर्च धान्न तथा आयात व्यवस्थापन गर्न रेमिटेन्सले महत्वपूर्ण भूमिका खेलिरहेको छ । विशेषगरी खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान तथा युरोपका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूले पठाउने रकमले ग्रामीणदेखि सहरी अर्थतन्त्रसम्मलाई चलायमान बनाइरहेको छ ।

रेमिटेन्स बाहिरिने क्रम पनि बढ्दो

नेपालमा भित्रिने रेमिटेन्सको मात्रा बढेसँगै बाहिरिने रकम पनि केही बढेको छ । चालू आर्थिक वर्षको १० महिनामा ९ अर्ब ७५ करोड रूपैयाँ बराबरको रेमिटेन्स विदेश पठाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ८ अर्ब ७१ करोड रूपैयाँ रहेको थियो । यद्यपि भित्रिने रकमको तुलनामा बाहिरिने रकम अत्यन्त न्यून भएकाले समग्र विदेशी मुद्रा सन्तुलनमा उल्लेखनीय असर नपरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

चुनौती पनि उस्तै

रेमिटेन्सले अर्थतन्त्रलाई तत्काल राहत दिइरहेको भए पनि यसको अत्यधिक निर्भरता दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने अर्थशास्त्रीहरूको धारणा छ । त्यसैले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सलाई विज्ञहरूले बर्खाको खहरेसँग तुलना गर्ने गर्छन् ।

उत्पादन, उद्योग, कृषि र रोजगारी सिर्जना गर्ने क्षेत्रको विकास नगरी केवल वैदेशिक आम्दानीमा आधारित अर्थतन्त्र टिकाउ नहुने उनीहरूको भनाइ छ । यद्यपि वर्तमान अवस्थामा विदेशी मुद्रा सञ्चिति मजबुत बनाउने, उपभोग बजार चलायमान राख्ने तथा आर्थिक गतिविधि सञ्चालनमा योगदान पु¥याउने मुख्य स्रोतका रूपमा रेमिटेन्सले नेपाली अर्थतन्त्रलाई धानेको तथ्यांकले स्पष्ट देखाएको छ ।

भुक्तानी सन्तुलनमा सुधार 

विदेशी मुद्रा आर्जनमा भएको उल्लेखनीय वृद्धिसँगै नेपालको बाह्य क्षेत्र थप मजबुत बनेको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो १० महिनामा मुलुकको भुक्तानी सन्तुलन (शोधानान्तर स्थिति) ८ खर्ब ६३ अर्ब रूपैयाँ बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा देशमा भित्रिएको विदेशी मुद्रा बाहिरिएको रकमभन्दा ८ खर्ब ६३ अर्ब रूपैयाँ बढी रहेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा यस्तो बचत ४ खर्ब ३८ अर्ब रूपैयाँ थियो । भुक्तानी सन्तुलनले कुनै देशमा विदेशी मुद्रा कति भित्रियो र कति बाहिरियो भन्ने समग्र अवस्था देखाउँछ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्स, पर्यटन आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य स्रोतबाट प्राप्त विदेशी मुद्राले देशको बाह्य क्षेत्र बलियो बनाउन योगदान पु¥याएको छ ।

श्रम स्वीकृति लिनेको सङ्ख्या घट्यो 

रेमिटेन्स बढे पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने केही घटेको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६ लाख ६१ हजार पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ६ लाख ८५ हजार रहेको थियो । विशेषज्ञहरूका अनुसार श्रमिक सङ्ख्या घटे पनि विदेशमा रहेका नेपालीको आम्दानी वृद्धि, औपचारिक बैंकिङ प्रणालीमार्फत रकम पठाउने प्रवृत्ति बढ्नु तथा विभिन्न मुलुकमा पारिश्रमिक दर बढ्नुले रेमिटेन्स रकम भने उच्च दरले बढेको हो ।

मध्यपूर्वी तनावको प्रभाव

चालू वर्षको केही अवधिमा मध्यपूर्व क्षेत्रमा उत्पन्न भूराजनीतिक तनावले नेपाली श्रमिकको आवागमनमा असर पारेको थियो । विशेषगरी इरान–इजरायल द्वन्द्व चर्किएपछि खाडी क्षेत्रतर्फ हुने हवाई उडानहरू प्रभावित भएका थिए । चैत महिनाको दोस्रो सातातिर केही दिनसम्म नेपालबाट मध्यपूर्व जाने नियमित उडानसमेत प्रभावित हुँदा नयाँ श्रमिकको प्रस्थानमा अवरोध सिर्जना भएको थियो ।

चालू खातामा उल्लेखनीय नाफा 

देशको खुद आम्दानीको सूचक मानिने चालू खातामा पनि उल्लेखनीय सुधार देखिएको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा चालू खाता ७ खर्ब २९ अर्ब रूपैयाँ नाफामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालू खाताको बचत २ खर्ब ७२ अर्ब रूपैयाँ मात्र थियो । यसरी एक वर्षमै चालू खाताको नाफा झण्डै तीन गुणाले बढेको देखिएको छ । चालू खाताले बस्तु तथा सेवाको व्यापार, रेमिटेन्स, ब्याज, लाभांश तथा अन्य नियमित अन्तर्राष्ट्रिय कारोबारबाट प्राप्त हुने खुद आम्दानीको अवस्था प्रतिविम्बित गर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार