म को हुँ ?



अन्ततः नतिजा जीवनको एउटा हिस्सा मात्र हो, सम्पूर्ण जीवन होइन । विद्यार्थीको मूल्य केवल अंकले होइन, उसको प्रयास, चरित्र, सोच र सम्भावनाले निर्धारण गर्नुपर्छ । परिवार, विद्यालय र समाजले विद्यार्थीलाई बुझ्ने, साथ दिने र हौसला दिने वातावरण बनाउन सके मात्र स्वस्थ, आत्मविश्वासी र सफल नागरिक निर्माण गर्न सकिन्छ । विद्यार्थीलाई दबाब होइन, दिशा र विश्वास चाहिन्छ ।

कृष्टीना चन्द

म को हुँ ? भन्ने प्रश्नले मानिसलाई आफ्नो पहिचान बुझाउन मद्दत गर्छ । म एक विद्यार्थी हुँ । विद्यार्थी हुनु भनेको सिक्ने यात्रामा हुनु हो । म विद्यालय गएर शिक्षक÷शिक्षिकाबाट ज्ञान लिन्छु र किताब पढेर आफ्नो भविष्य उज्यालो गराउने प्रयास गर्छु । मानिस जन्मेको ३ वर्षको उमेरदेखि विद्यालय जान सुरु गर्छन् । यस उमेरमा बच्चाले खेल्दै खेल्दै अक्षर बुझ्ने र राम्रो बानी सिक्न थाल्छ । साथीहरूसँग खेल्दा बच्चाले मिलेर बस्न, बोल्न, अनुशासन सिक्छ । विस्तारै पढाइमा रुचि राख्न सक्छ । विद्यार्थी जीवन असल अनुशासन, मेहनत र धैर्यको समय हो । म समयमै विद्यालय जान्छु, गृहकार्य गर्छु र नयाँ कुरा सिक्न उत्साहित हुन्छु । शिक्षाबिना मानिसको जीवन अधुरो हुन्छ, त्यसैले म पढाइलाई आफ्नो मुख्य कर्तव्य ठान्छु । म राम्रो विद्यार्थी बनेर असल नागरिक बन्न चाहन्छु । भविष्यमा देश र समाजको सेवा गर्ने सपना मेरो मनमा इच्छा छ । त्यसैले म गर्वका साथ भन्छु– ‘म विद्यार्थी हुँ’ ।

विद्यार्थीका इच्छा र आकांक्षा

विद्यार्थी जीवन मानिस जीवनको अत्यन्त महत्वपूर्ण चरण हो । यही समयमा विद्यार्थीले आफ्नो भविष्यका सपना देख्छ । लक्ष्य निर्धारण गर्छ र ती लक्ष्य पूरा गर्न मेहनत गर्न थाल्छ । विद्यार्थीका इच्छा र आकांक्षा भनेका उसका भविष्यसँग जोडिएका चाहना र इच्छाहरू हुन् । हरेक विद्यार्थीको इच्छा एउटै हुनुपर्छ भन्ने हुँदैन । हरेक विद्यार्थीको इच्छा फरक फरक हुन्छन् । यी सबैको इच्छाको मुख्य उद्देश्य भनेको आफ्नो जीवन सफल बनाउनु र समाजमा केही योगदान दिनु हो । विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार लक्ष्य रोज्नुपर्छ । विद्यार्थीको आकांक्षामा राम्रो शिक्षा हासिल गर्नु मुख्य हुन्छ । शिक्षा नै सफल जीवनको आधार हो । विद्यार्थीले अनुशासन, परिश्रम र इमानदारीका साथ पढाइमा लागेमा आफ्नो सपना साकार गर्न सक्छ । समयको सदुपयोग गर्नु, गुरुजनको सम्मान गर्नु र आत्मविश्वास राख्नु पनि विद्यार्थीको महत्वपूर्ण आकांक्षा हो । विद्यार्थी केवल आफ्नो व्यक्तिगत सफलता मात्र चाहँदैन, ऊ देश र समाजका लागि पनि केही गर्न चाहन्छ । देशको विकासमा योगदान दिनु, समाजमा व्याप्त अशिक्षा, गरिबी र अन्य समस्याहरू हटाउन सहयोग गर्नु विद्यार्थीको महान् इच्छा हो । त्यसैले विद्यार्थीलाई भविष्यको कर्णधार मानिन्छ ।

विद्यार्थी जीवनमा नतिजाको दबाब, अपेक्षा, सामाजिक निर्णय र तुलना

आजको समयमा यो जीवन केवल ज्ञान आर्जनमा सीमित नभई नतिजाको दबाब, परिवारको अत्यधिक अपेक्षा, समाजको निर्णय र निरन्तर तुलनाजस्ता समस्याले बोझिलो बन्दै गएको छ । यी सबै कुराले विद्यार्थीको मानसिक, भावनात्मक र सामाजिक जीवनमा गहिरो असर पारिरहेका छन् । आजको शिक्षा प्रणालीमा विद्यार्थीको क्षमता र मेहनतलाई भन्दा अंक र ग्रेडलाई बढी महत्व दिइन्छ । ‘कति प्रतिशत आयो ?’, ‘फलानोको त यति आयो’ भन्ने प्रश्नहरू विद्यार्थीका लागि सामान्य भए पनि ती प्रश्नहरू भित्र ठूलो दबाब लुकेको हुन्छ । नतिजाले मात्र विद्यार्थीको भविष्य निर्धारण गर्छ भन्ने सोचले डर, तनाव र आत्मविश्वासको कमी पैदा गर्छ । धेरै विद्यार्थी असफल हुने डरले आफ्नो रुचि र सिर्जनात्मकतालाई दबाएर अंकका लागि मात्र पढ्न बाध्य हुन्छन् । यससँगै परिवारको अपेक्षा पनि विद्यार्थीका लागि अर्को ठूलो दबाब बन्छ । अभिभावकहरू आफ्ना सपना र चाहना बालबालिकामाथि थोपर्ने गर्छन् । ‘डाक्टर बन्नुपर्छ’, ‘इन्जिनियर हुनुपर्छ’ जस्ता अपेक्षाले विद्यार्थीको आफ्नै इच्छा र क्षमता ओझेलमा पर्छ । अभिभावकको माया अपेक्षामा बदलिँदा विद्यार्थी आफू असफल भए माया पनि घट्छ कि भन्ने डरमा बाँच्न थाल्छ । समाजको निर्णय र धारणा पनि विद्यार्थी जीवनलाई गाह्रो बनाउने प्रमुख कारण हो ।

राम्रो नतिजा ल्याउने विद्यार्थीलाई तुरुन्त सफलको ट्याग दिइन्छ भने कम अंक ल्याउनेलाई कमजोर, अल्छी वा अयोग्य भनेर हेर्ने प्रवृत्ति समाजमा व्यापक छ । समाजले विद्यार्थीको मेहनत, परिस्थिति र संघर्ष नबुझी केवल नतिजाका आधारमा मूल्यांकन गर्छ, जसले विद्यार्थीलाई मानसिक रूपमा चोट पु¥याउँछ । अर्को गम्भीर समस्या भनेको तुलना हो । अभिभावक, शिक्षक र समाजले एक विद्यार्थीलाई अर्कोसँग तुलना गर्ने गर्छन् । यसले ईष्र्या, आत्महीनता र निराशा जन्माउँछ । हरेक विद्यार्थी फरक क्षमता, रुचि र गति लिएर जन्मन्छन् भन्ने सत्यलाई तुलना संस्कृतिले बेवास्ता गर्छ । तुलना गर्दा विद्यार्थी आफ्नो मूल्य र पहिचान नै बिर्सिन थाल्छ । अन्ततः नतिजा जीवनको एउटा हिस्सा मात्र हो, सम्पूर्ण जीवन होइन । विद्यार्थीको मूल्य केवल अंकले होइन, उसको प्रयास, चरित्र, सोच र सम्भावनाले निर्धारण गर्नुपर्छ । परिवार, विद्यालय र समाजले विद्यार्थीलाई बुझ्ने, साथ दिने र हौसला दिने वातावरण बनाउन सके मात्र स्वस्थ, आत्मविश्वासी र सफल नागरिक निर्माण गर्न सकिन्छ । विद्यार्थीलाई दबाब होइन, दिशा र विश्वास चाहिन्छ ।

विद्यार्थी हुनुमा किन गर्व ?

त्यसैले विद्यार्थी हुनु केवल पढाइ गर्ने अवस्था मात्र होइन, आफ्नो जीवन र राष्ट्रको भविष्य निर्माण गर्ने जिम्मेवारी बोकेको पहिचान हो । यही कारणले विद्यार्थी हुनुमा गर्व गर्नुपर्छ । विद्यार्थी जीवन ज्ञान आर्जन गर्ने सबैभन्दा उपयुक्त समय हो । विद्यालय र कलेजमा विद्यार्थीले अक्षर चिन्ने मात्र होइन, जीवन जिउने कला पनि सिक्छ । शिक्षामार्फत उसले सही र गलत छुट्याउने क्षमता, तार्किक सोच, अनुशासन र नैतिक मूल्यहरू सिक्छ । ज्ञानले अज्ञानताको अन्धकार हटाउँछ र उज्यालो भविष्यतर्फ डोहो¥याउँछ । यसरी ज्ञान प्राप्त गर्ने अवसर पाउनु आफैँमा गर्वको विषय हो । संघर्षबाट सिक्ने अवसर पाउनु विद्यार्थी जीवनको अर्को गर्विलो पक्ष हो । अन्त्यमा भन्नुपर्दा, विद्यार्थी जीवन केवल किताबमा सीमित हुँदैन, यो भविष्य निर्माण गर्ने प्रशिक्षणकाल हो । ज्ञान, अनुशासन, संघर्ष, नैतिकता र जिम्मेवारीको संगम भएको यो चरण अत्यन्तै गर्विलो छ । त्यसैले, विद्यार्थी हुनुमा गर्व गर्नुपर्छ, किनकि यही पहिचानले व्यक्ति र राष्ट्र दुवैको उज्ज्वल भविष्य सुनिश्चित गर्छ । विद्यार्थीका इच्छा र आकांक्षा उसको भविष्यको दिशा निर्धारण गर्ने आधार हुन् । सही मार्गदर्शन, मेहनत र सकारात्मक सोचका साथ अघि बढेमा हरेक विधार्थीले आफ्नो इच्छा पूरा गर्न सक्छ । त्यसैले विधार्थीले ठूला सपना देख्नुपर्छ र ती सपना पूरा गर्न निरन्तर प्रयास गर्नुपर्छ ।

(लेखक चन्द नेपालगन्जस्थित सोफिया रेसिडेन्सियल स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।)

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार