रुपन्देही– २ मा चार जनाबीच मुख्य प्रतिस्पर्धा



नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली काँगे्रसका चुन्नुप्रसाद पौडेल शर्मा, नेपाली कम्युनिस्ट पार्टीका सुवास पाण्डे विश्वदीप र रास्वपाका शुलभ खरेल चुनावी मैदानमा छन् ।

श्यामलाल पोखरेल । बुटवल ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा चुनावी माहोल तातेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन जित्नका लागि सबै दलले चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । नेपाली काँगे्रस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, रास्वपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमुक्तिसहित विभिन्न पार्टी र स्वतन्त्र समूहरूले चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।

निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार दलहरू घरदैलोमा केन्द्रित भएका छन् । प्रचार प्रसारका विभिन्न माध्यमबाट दलहरूले मतदातासँग मत माग्नका लागि प्रतिस्पर्धामा उत्रेका छन् । रुपन्देहीको अन्य क्षेत्रमा भन्दा क्षेत्र नम्बर २ लाई विशेषगरी दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरन्तर रूपमा जित्दै आएको क्षेत्र हो रुपन्देही २ नम्बर क्षेत्र ।

यो क्षेत्रको निर्वाचन जित्नका लागि चुनाव जित्दै आएको एमाले, काँगे्रस, नेपाली कम्युनिस्ट पार्टी र रास्वपाले विशेष प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली काँगे्रसका चुन्नुप्रसाद पौडेल शर्मा, नेपाली कम्युनिस्ट पार्टीका सुवास पाण्डे विश्वदीप र रास्वपाका शुलभ खरेल चुनावी मैदानमा छन् ।

आर्थिक र सांस्कृतिक केन्द्रको रूपमा विकास हुँदै गएको विकसित क्षेत्र भएको र लामो समयसम्म एमालेले चुनाव जित्दै आएकाले यो क्षेत्रमा एमाले फेरी पनि चुनाव जसरी पनि जित्नुपर्छ भन्ने अठोटका साथ चुनावी अभियानमा लागेको छ । काँगे्रसले संगठन मजबुत हुँदा पनि कहिले चुनाव हार्ने र कहिले गठबन्ध हुँदा छोड्नु परेकाले अहिले जसरी पनि जित्नुपर्छ भन्ने अठोटका साथ घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी पनि आफुहरू नयाँ बनेर आएकाले जसरी पनि चुनाव जित्नुपर्छ भन्ने अभियानका साथ चुनावी अभियानलाई घरदैलामा केन्द्रित गरेको छ । त्यस्तै रास्वपा आफूलाई नयाँ शक्तिको रूपमा चित्रण गर्दै यस क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएर चुनावी अभियानलाई सशक्त बनाएको छ । अन्य दलहरूले पनि आआफ्नो ढंगले मतदाताको भरदैलोमा पुगेर आफ्ना घोषणापत्र दिने र मतदातासँग मत माग्ने कामलाई तीव्रता दिएको देखिन्छ ।

लुम्बिनी प्रदेशमै रुपन्देहीको २ नम्बर क्षेत्र प्रतिष्ठाको विषय बनेकाले कडा प्रतिस्पर्धा हुने र यसैले जित्छ भन्न नसकिने अवस्था देखिए पनि संगठनको आधार एमालेको बलियो भएकाले विष्णु पौडेलको जित्ने सम्भावना अली बढी रहेको रुपन्देहीका पुराना वामपन्थी नेता विनबहादुर कुवँरले बताए ।

निरन्तर चुनाव जित्दै आएका पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेल पाल्पा क्षेत्र नम्बर २ मा जान थालेको बेला यस क्षेत्रका नेता र कार्यकर्ताले पार्टीमा दबाब दिएपछि अन्तिममा रुपन्देहीको पुरानै ठाउँमा फर्किएका पौडलका लागि नयाँ अनुहारसँग प्रतिस्पर्धा गरेर जित निकाल्न त्यति सजिलो नभएको कतिपय स्थानीयको भनाइ छ । यहाँ २०६४ सालदेखि एमालेले चुनाव जित्दै आएको छ ।

काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल ठूलै उद्योगी तथा व्यवसायी भएकाले अहिले व्यवसायीले विष्णु पौडेललाई भोट नदिने र अहिले काँगे्रसको कसैसँग तालमेल नभएकाले यो चुनावमा काँगे्रसले जित्न सक्ने पनि कतिपयको अनुमान छ । त्यस्तै प्रचण्ड नेतृत्व माओवादी र माधव नेपाल नेतृत्व समाजवादी लगायतका दर्जन बढी पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले आफूले सहज रूपमा चुनाव जित्ने नेताहरूको दाबी छ ।

यता रास्वपा नयाँ रूपमा उदाएको र देशभर घण्टीको माहोल भएकाले रुपन्देही रास्वपाको जित सुनिश्चित भएको कतिपय मतदाता बताउने गरेका छन् । चार दलबाहेक अन्य साना दल तथा समूहरूले अन्तिममा जसलाई साथ दिन्छन् उसैले बाजी मार्न सक्ने पनि राजीनितक वृत्तमा अनुमान गरिएको छ ।

निर्वाचन कार्यालयका अनुसार १ लाख ३५ हजार ५० जना मतदाता सङ्ख्या रहेको रुपन्देही २ मा बुटवल उपमहानगरपालिका–१ देखि १३, तिलोत्तमा नगरपालिकाका–१ देखि ६ तथा सैनामैना नगरपालिका वडा नम्बर १ देखि वडा ४ नम्बर वडा पर्दछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार