मुगुमा यस्तो छ चुनावी चहलपहल



मुगु ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा एमालेबाट पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा माओबादीका रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल प्रतिस्पर्धामा छन् ।

विसं २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् । एमालेका रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख पनि छन् । नेपाली कम्युनिष्ट पार्टीका शाही भने २०५६ सालको संंसदीय निर्वाचनमा विजयी भएका थिए । उनले विसं २०७४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्रीसमेत भइसकेका छन् ।

विसं २०७९ मा भएको निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो हुँदा कांग्रेस दोस्रो भएको थियो । साथै तेस्रोमा माआवादी केन्द्र र चौथोमा नेकपा एकीकृत समाजवादी पार्टी भएका थिए । तत्कालीन समयमा एमालेले आठ हजार ६४३, नेपाली कांग्रेसले आठ हजार ४४०, माओवादी केन्द्रले चार हजार ६५० र एकीकृत समाजवादिले दुई हजार ६१२ मत प्राप्त गरेका थिए । अहिले माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टीबीच एकता भएर नेकपा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटा आफूलाई नयाँ अनुहारका रुपमा प्रस्तुत गर्नुभएको छभने अन्य पार्टीका नेताले पनि आफूहरुको जित सुनिश्चित भएको दाबी गर्दै मत मागिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ जना मतदाता छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । विसं २०७९ को निर्वाचनमा यहाँ ७४ प्रतिशतले मतदान गरेका थिए ।

विसं २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फको नेकपा माओवादी केन्द्र,एकीकत समाजवादी र नेपाली कांग्रेसले गठबन्धन गर्दा कांंग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गर्नुभएको थियो भने एमालेका उम्मेदवार राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याउनुभएको थियो । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार