बाँके २ का युवा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धतापत्र



नेपालगन्ज (बाँके) ।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा रहेका युवा उम्मेदवार दीपेन्द्र विष्टले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आइतबार नेपालगन्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उम्मेदवार विष्टले आफ्ना १४ बुँदे निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रले बाँके–२ को विकास बहसलाई नयाँ उचाइमा पु¥याएको छ । सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको प्रतिबद्धतापत्रले ‘भ्रष्टाचार शून्य बाँके–२’ अभियानलाई मूल आत्माका रूपमा अघि सारेको छ ।
प्रतिबद्धतापत्रमा नेपालगन्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ ।

नागरिकका दैनिक काम सहज बनाउन सिफारिस, कर भुक्तानी र विभिन्न सरकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराइने, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने तथा फाइलको अवस्था नागरिकले आफैँ अनलाइन ट्र्याक गर्न सक्ने व्यवस्था लागू गरिने उल्लेख छ । उच्च गतिको इन्टरनेटसहित टेक पार्क र इन्कुभेसन सेन्टर स्थापना गरी युवालाई कोडिङ, डिजिटल मार्केटिङ र फ्रिलान्सिङजस्ता सीपमूलक तालिम प्रदान गर्ने योजना प्रतिबद्धतापत्रको महत्त्वपूर्ण आधार बनेको छ ।

युवा रोजगारी र उद्यमशीलतालाई प्रतिबद्धतापत्रको मेरुदण्डका रूपमा प्रस्तुत गरिएको छ । बेरोजगार युवाका लागि उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम, युवा उद्यमीलाई बिनाधितो सस्तो ब्याजदरमा स्टार्टअप कर्जा तथा कर छुटको व्यवस्था गर्ने प्रतिबद्धताले स्थानीयस्तरमै अवसर सिर्जना गर्ने लक्ष्य लिएको देखिन्छ ।

बाढी समस्याको दीर्घकालीन समाधानतर्फ प्रतिबद्धतापत्रले ठोस योजना अघि सारेको छ । राप्ती नदीमा वैज्ञानिक र दिगो तटबन्ध निर्माण, बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने र बाढी–डुबान व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने रणनीतिले विकासलाई जोखिम व्यवस्थापनसँग जोडेको छ । भूमिहीन सुकुम्वासीलगायत भूमि समस्याको नीतिगत समाधान गर्ने प्रतिबद्धताले सामाजिक न्यायको सवाललाई पनि समेटेको छ ।

पर्यटन तथा धार्मिक अर्थतन्त्र सुदृढीकरणका लागि लुम्बिनी–नेपालगन्ज पर्यटन सर्किटलाई बलियो बनाउने योजना अघि सारिएको छ । कम्दी–बालापुर क्षेत्रमा रहेको प्राचीन गुम्बा बृहतकालीन सहरको पुरातात्विक खोज तथा अनुसन्धानका लागि लुम्बिनी विकास कोष र नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख छ । साथै बागेश्वरी मन्दिरलाई ‘स्मार्ट बागेश्वरी’का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गर्ने योजना समेटिएको छ ।

सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा प्रतिबद्धतापत्रले ‘भ्रष्टाचार शून्य बाँके–२’ अभियानलाई अघि बढाउँदै सार्वजनिक खर्चको पारदर्शी अनुगमन, सबै ठेक्का र योजनाको डिजिटल सार्वजनिक विवरण, अनलाइन गुनासो व्यवस्थापन प्रणाली तथा सामाजिक अडिटलाई अनिवार्य गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ ।

समग्रमा दिपेन्द्र विष्टको प्रतिबद्धतापत्र केवल बाचा नभएर बाँके–२ लाई प्रविधि, सुशासन र सहभागितामार्फत नमुना निर्वाचन क्षेत्र बनाउने स्पष्ट खाकाका रूपमा हेरिएको छ । अब मतदाताले यो दृष्टिकोणलाई कत्तिको भरोसा गर्छन् भन्ने निर्णय निर्वाचनले नै गर्नेछ । उक्त कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति संयोजक पूर्णाकुमारी सुवेदीले उम्मेदवारले सार्वजनिक गरेको प्रतिबद्धतापत्र अक्षरशः पालना हुने भन्दै प्रत्यक्षतर्फका मात्र नभएर समानुपातिकतर्फका उम्मेदवारहरूलाई पनि विजयी बनाउन तारा चिन्हमा मतदान गर्न आग्रह गरिन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार