कथाः नेता



पुष्पमणि प्रधान

बल बहादुर उसको नाम हो तर गाउँमा सबैले ‘बले’ भनी बोलाउँछन् । हाम्रो नेताको जस्तो नाम, उस्तै काम । आप्mनो बलद्वारा गरिब जनतालाई हेप्ने पेल्ने गर्थे । ऊ गाउँमा सानैदेखि झगडालु स्वभावको थियो । उसले गाउँका निमुखा जनतालाई कति कुट्यो, पिट्यो, कुनै हिसाबकिताब छैन । ऊ कतिपल्ट प्रहरीको डन्डा खाँदाखाँदै जेल गयो । उसको निम्ति जेल जानु त गर्वको कुरा जस्तै थियो । उसको मानसम्मान बढ्नु जस्तै थियो । उसको लागि जेलघर त पाहुना घर झैँ थियो । बले अचानक एक दिन गाउँबाट हरायो । गाउँका साथीभाइले भने ऊ मुग्लान पस्यो रे ! कतिले भने अपहरणमा पो प¥यो रे ! तर धेरै दिनपछि थाहा भयो ऊ त जङ्गल पसेछ । ऊ त क्रान्तिकारी पार्टीको भूमिगत सदस्य बनेछ । अब जङ्गलमा बलेबाट कमरेड ज्वाला बनेछ । उसलाई जङ्गलमा सबै साथीभाइले कमरेड ज्वाला भनेर बोलाउन थाले । ऊ अब सबैको नेता ज्वाला भयो । धेरै वर्षपछि कमरेड ज्वाला गाउँमा लुकिछिपी आउन थाल्यो । आप्mनो क्रान्तिकारी बन्दुकधारी मिलिसियासँग गाउँमा आउन थाल्यो । गाउँघरमा गरिब जनता डराउन थाले । गाउँका राम्री सुन्दरी चेलीबेटीहरुमा भयत्रासको भावना सृजना हुन थाल्यो ।

उसले कतिपल्ट त गाउँका सुन्दरी चेलीहरुलाई हतियार र धम्कीको भरमा जङ्गल लिएर गयो । उसले कतिपल्ट गाउँकै चेलीबेटीहरुको बलात्कार ग¥यो । कसैले विरोध गर्न सकेन, अब गरुन् पनि कसरी ? उसको हातमा बन्दुक छ । गाउँमा चारैतिर डरत्रास छाएको छ । एक पल्ट राई गुरूबाले उसलाई सम्झाउने कोसिस ग¥यो “बले भाइ, अब यो गाउँमा हत्याहिंसा नगर, हाम्रा चेलीबेटीमाथि आँखा नगाड” भनेर सम्झाएका थिए, तर केही समयपछि ज्वालाले मध्यरातमा राईबाको हत्या ग¥यो र गाउँमा धम्कीको भाषामा बोल्यो, “यदि मेरो विरुद्धमा कसैले विरोध गरेमा राईबाको जस्तै हालत हुनेछ ।” त्यसबेलादेखि गाउँमा उसको विरुद्धमा कसैले केही बोल्ने हिम्मत गरेनन् । विरोध गर्ने आँट गरेनन् । केही वर्षपछि देशमा शान्तिको लहर छाउन थाल्यो । देशका नेताहरुले शान्तिसम्झौता गरे । देशमा संविधान सभाको निर्वाचन निम्ति आआप्mना उम्मेदवार चुन्न थाले, हाम्रा देशका ठुला पार्टीका नेताहरुले ज्वालालाई आप्mनो पक्षमा तान्न कोसिस गरे तर कसैले सफलता प्राप्त गर्न सकेनन्।
ज्वालाले आफै नेता बनेर पार्टी दर्ता गरायो । ‘नेपाली क्रान्तिकारी पार्टी’ नामकरण ग¥यो । नेता ज्वाला र उसका चेलाहरु चुनावको निम्ति गाउँगाउँ प्रचारप्रसार गर्दै भोट माग्न थाले । उसले प्रत्येक गाउँघरमा गएर धम्की दिन थाल्यो, “हाम्रो पार्टीमा भोट हाल्नु पर्छ, हाम्रो चुनावचिह्न बन्दुकमा भोट हालेर हाम्रो प्यारो नेता ज्वालालाई बहुमतले विजय बनाउनु पर्छ ।

यदि हाम्रो चुनावचिह्न बन्दुकमा भोट हालेनौँ भने यस गाउँका जनताको के हाल हुन्छ त्यो भविष्यमा थाहा हुनेछ । हाम्रो पार्टीको विरोधमा भोट हालेमा यस गाउँका छोराछोरी, बुढाबुढीले शान्तिको सास फेर्न पाउने छैनन् । तिमीहरु हाँस्न त के रुन पनि पाउने छैनौ । त्यहाँ फेरि रगतको खोला बग्नेछ ।” ज्वालाका चम्चाहरुले हल्ला फिजाए । गाउँगाउँमा धम्कीको भाषा बोले । गाउँमा चुनावको तातो हावा चल्न थाल्यो । गाउँघरमा जनतामा भय त्रासको वातावरण छाएको छ । विरोधी पार्टीका नेताहरुलाई चुनाव प्रचारप्रसार गर्न प्रतिबन्ध छ । कमरेड ज्वाला आप्mना सदस्यहरु लिएर बन्दुक कमब्याक्ट ड्रेसमा चुनाव प्रचार गर्दै भोट मागिरहेका छन् । एक दिन नेता ज्वालाले गाउँमा आमसभा ग¥यो । उसले आप्mनो मिठो भाषणमा जनताको बाटो, स्कुल भवन, अस्पताल भवन, सडक, खानेपानी, पुल, बिजुलीबत्ती र बेरोजगारी समस्याका समाधान गर्ने वाचा ग¥यो । आप्mनो गाउँ जन्मभूमिलाई स्विजरल्यान्ड जस्तै स्वर्गभूमि बनाउने कसम खायो । सोझा जनताहरु खुसीले ताली पिटे ।चुनावको दिन आयो । कमरेड ज्वालाका चम्चाहरुले गाउँलेहरुलाई धम्काएर आफै भोट हाले । आप्mनो हतियारको बलमा मतपेटी कब्जा गरे । एकतर्फी फर्जी भोट हाले । कति विरोधी दलका नेताहरुको टाउको फुटाए । कति प्रहरीका बन्दुक लुटे, कुनै हिसाबकिताब भएन ।

चुनावको मतगणना रातभरी गणना सुरु भयो । ज्वालाका सदस्यहरुको भिडभाड छ । चुनावमा ज्वालाको पार्टी बहुमतले विजयी भयो । ज्वालाका कार्यकर्ताले रङ अबिरको होली खेले । नेता ज्वालाको अबिरले निधार पोतियो, मालाले घाँटी ढाकियो । गाउँगाउँमा चारैतिर ज्वालाको विजय ¥यालीसहित जुलुस निकालियो । खुसी मनाइयो । पटाकाहरु पड्काए ।नेता ज्वाला सांसद बन्यो । उसले ठुला पार्टीको नेताहरुसँग मित्रता बढायो । कहिले कुन पार्टीका नेतासँग, कहिले कुन पार्टीका नेतासँग सम्झैता गरेर ऊ त मन्त्री बन्यो । उसले करोडौँको पजेरो चढ्यो । काठमाडौँमा आलिसान भवन बनायो । पाँचतारे होटल बनायो । उसले काठमाडौँको रङ्गीचङ्गी वातावरणमा गाउँघर बिर्सन थाल्यो । सिंहदरबारको भिडभाडमा आप्mनो कसम र वाचाहरु भुल्न थाल्यो । काडमाडौँमा सम्पत्ति जोडयो । काठमाडौँदेखि हवाइजहाजमा अमेरिका जापान भ्रमण गर्न थाल्यो । उसले आप्mनो गाउँ र जनता सबैलाई बिर्सियो । एक दिन नेता ज्वालाले काठमाडौँमा विशाल आमसभा ग¥यो । काठमाडौँको रङ्गशालामा गाउँघरका सरल सोझा जनतालाई ल्यायो ।

ज्वालाले आमसभामा ठुलाठुला नेताहरुलाई निम्तो बाँड्यो । चारैतिर आप्mनो पार्टीको झन्डा फरफराइ रहेको छ । नेता ज्वाला नेपाली टोपी सेतो कुर्तासुरुवाल, रातो गलबन्दी घाँटीमा बेरेर कालो जुँगामा दाहिने औँलाले ताउ लगाउँदै मञ्चमा घमन्डसँग बसिरहेको छ । उद्घोषकले नेता ज्वालालाई मञ्चमा भाषण गर्न निम्तो ग¥यो । चारैतिर जनताले “कमरेड ज्वाला जिन्दावाद मन्त्री ज्वाला अमर रहुन्” भन्दै नारा लगाए । मन्त्री ज्वालाले खुसीले हात हल्लाउँदै अभिवादन ग¥यो, नमस्कार ग¥यो, मुस्कुरायो । उसले शान्तिशान्ति भन्दै जनताको नाममा सम्बोधन ग¥यो– “मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु मैले देशमा शान्ति र संविधान बनाउन हदैसम्मका कोसिस गर्नेछु तर केही भित्री र बाह्य तङ्खवले बनाउन दिएको छैन । मैले मेरो देशलाई स्विजरल्यान्ड बनाउने इच्छा छ । केही हिंसावादीहरुले बाधा दिइरहेका छन् । जसले देश र जनताको शान्ति र प्रगति चाहँदैनन् । तपाईँहरुलाई भन्न चाहन्छु म एक शान्तिवादी अहिंसावादी नेता हुँ । हाम्रो देश र जनताको सेवा गर्न चाहन्छु, सदैव गरिब जनताको सेवा गर्न सकूँ, मेरो पशुपतिनाथसँग यही प्रार्थना छ ।” भन्दै मन्तव्य समाप्त ग¥यो । जनसभामा निमुखा गरिब जनताले खुसी भएर जोडजोडले ताली पिटे । मन्त्री ज्वालाको ‘जिन्न्दावाद र अमर रहुन्’ भन्दै रङ्गशालादेखि आकाशसम्म आवाज गुञ्जायमान गराए । फेरि मन्त्री ज्वालाको नाममा बन्दुक र पटाकाका आवाज रङ्गशाला गुन्जायमान भयो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार