विष्णु पादुका
नेपालमा जुनसुकै सरकार आए पनि विरोधको स्वर सुनिन्छ । भ्रष्टाचार, बेरोजगारी अनि नातावादले देश सकियो । विकास भएन । त्यसै मेसोमा कसैले भन्छन् यो भन्दा अघि राम्रो थियो । राजाले राम्रो गरेका थिए । तर त्यो अवस्थाका आधाका आधा कुरा मात्र अहिलेका मान्छेले सुन्ने हो । यथार्थमा त्यो बेला पनि विरोध थियो । असन्तुष्टि थियो । मान्छे सत्ता र सरकार प्रती वितृष्णा थियो नै । विरोधको आवाज अहिले जस्तो छिटो फैलिदैनथ्यो । सञ्चारको असुबिधा त्यस बेलाको मुल समस्या थियो । एक खालको सुरक्षाको काम पनि गथ्र्यो होला सत्ता र सरकारका लागि । अहिले कुरा लुकाउन निकै कठिन छ । साना घटनाले देशव्यापी रुप लिन्छ । एक क्लिकमै संसारभरि फैलिन्छ जुनसुकै खवर । यो एक उपलब्धि पनि हो भने अर्को एक जटिलता पनि । बेरोजगारी र भ्रष्टाचार आदिम समस्या हुन् कि नव अर्थतन्त्रले सिर्जना गरेका जटिलता ? जसले जुनसुकै सरकारलाई अस्थिरताको बाटोमा डो¥याउने गरेको छ । आय व्ययको तालमेल मिलाउन नसक्दा परिवार र देश आर्थिक रूपमा मात्रै होइन सामाजिक रुपमै विखण्डित हुन पुगेको छ आजको दिनमा । कहिले हराउँछ त यो गंभिर समस्या ? मानिसलाई गाँस बास र कपास जुटाउन काम गर्नुपर्ने भएको छ । आवश्यकताले निम्त्याएका काम गर्न उसलाई थप कुरामा बल गर्नु प¥यो । सामान्य खानु लाउनु बस्नुमा मान्छे सिमित हुन सकेन । त्यस्ता आधारभूत आवश्यकता भन्दा अघि बढिसक्दा उसको दिनचर्या प्रतिस्पर्धामा पुग्यो । त्यही बस्ने खाने र लाउने कुरामा पनि स्तरीय कुराले प्रभाव पार्न थाल्यो । मीठो खान राम्रो लाउन र सुविधा सप्पन्न हुन उसलाई सिमित आम्दानीले पुग्न छोड्यो ।
यातायातको विकासले मान्छे सबै ठाउँमा पुग्न सक्ने भयो । आफ्नो जग्गा जमिनमा उब्जेको खानामा ऊ सिमित हुन सकेन । उब्जाउ जमिन पनि लामो समय पछि कम उव्जाउ हुन पुग्यो । मानिसहरू आफ्नो काम आफै गर्थे । व्यक्तिगत र सामुहिक सहभागिता हुन्थ्यो । त्यसमा पैसा जोडिएको थिएन । श्रमको सट्टा सीप र सिपको सट्टा श्रम बिनिमय हुन्थ्यो कुनै बेला । सामाजिक र आर्थिक विकास सँगै शिक्षाको विकासले मानिसहरूमा चेतनाको आयाम थपिँदै गयो । पछिल्लो समय सबैकाम पैसासँग जोडियो । कामको परिभाषा पनि बललियो । नगद आम्दानी सहितको कामलाई मात्र काम या रोजगारी भन्न थालियो । जनतामा राज्य , अर्थ व्यवस्था र राजनीतिको पहुँच पुग्यो । सत्ता र सरकारले सबै कामलाई ब्यवस्थित गर्न जिम्मेवारी लियो । नितान्त आफ्नो सीप र श्रम प्रयोगमा ल्याउने जनताले पनि राज्यलाई कर तिर्नुपर्ने भयो । राज्यले कर उठाउन थालेपछि जनताले रोजगारीको माग पनि राज्यसँग माग्न थाले । संसारका सबै देशको भौगोलिक स्थिति एकै छैन । भूगोल र प्राकृतिक सम्पदाका कारण मात्र होइन त्यस देशको नेतृत्वमा रहने सरकारको कारण समेत देशहरूको विकासमा विविधता हुन गयो । समयको अन्तरालमा कुनै देश धनी त कुनै गरीब देशमा गनिन पुगे । जनसंख्या र भूगोलको फैलावट अनुसार सैनिक शक्तिको बलमा देशहरूले एक अर्को सँग सामरिक प्रतिस्पर्धामा समेत उत्रिए ।
तर जुनसुकै देशका जनतामा पनि रोजगारी र भ्रष्टाचारको समस्या साझा देखिन्छ । संसारका कुनै पनि मुलुकमा राज्यले रोजगारी दिन सक्छ त ? सायद सक्दैन । रोजगारीको परिभाषा देश अनुसार भिन्न होला तर साझा रूपमा भन्दा रोजगारी भनेको आवश्यकता परिपुर्ति हुन सक्ने एउटा काम हो । जसलाई व्यक्तिले नियमित रूपमा गर्न सकोस् । उत्पादन र सेवा क्षेत्रनै रोजगारीका श्रोत हुन् । काम नै रोजगारी हो । काम भनेको आफुले गर्ने हो कसैले दिने भन्दा पनि । आफुले सीप हासिल गरेर त्यसलाई निरन्तरता दिने हो । आफुले हासिल गरेको सीप र श्रमको बजार सुहाउँदो र जीविकोपार्जन या आवश्यकता पुर्ती हुनसक्ने आम्दानी हुनु हो । मूलतः कामको सबैभन्दा परिपक्व परिभाषा होला । कामको आधार भनेको सीप श्रम र कला हुन् ।सीप हासिल मात्र नभएर निरन्तरता र श्रमको बजारसँग मेल भइ जीविकोपार्जन र आवश्यकतापूर्ति हुने आम्दानी हुनु नै रोजगारी हो । यो आर्थिक रूपले दिन सकिने परिभाषा हो। तर काम यतिमै सीमित हुँदैन आजको युगमा । काम पेट भरिने गणित मात्र रह्यो भने अन्य कुरा छुट्छन् । सबै आम्दानी दिने काम सम्मानजनक भएका छैनन् । कति काम सामाजिक दृष्टिले स्वीकार्य हुँदैनन् । मान्छे पेटले बाँच्न सक्छ तर अपमानले लामो समय बाँच्दैन । सम्मान सहितको रोजगारी हो जुनसुकै युगको माग । सीप र श्रम भए पनि आधुनिक बजार निर्मम र निर्दयी हुन सक्छ ।
श्रम शोषण हुन सक्छ । सहि मूल्य नपाइन सक्छ । त्यसैले राज्यको दायित्व यी कुराबाट रोजगारीलाई जोगाउनु पनि हो । सीप, श्रम, बजार सँगै व्यक्तिगत गरिमा र अर्थबोध पनि खोज्छ मान्छेले । कामले तपाईंलाई सानो नबनाओस् । मौन अपराधी नबनाओस् । न्यायसंगत संरचना जहाँ सीपको मूल्य पनि होस् । श्रमको सम्मान र सुरक्षा पनि होस् । काम भनेको आफूले सिकेको सीपलाई श्रममा रूपान्तरण गरी बजारसँग संलग्न गराउँदै जीवन चलाउने मात्र होइन आफूलाई मानविय रूपमा सम्मान सहित भेट्न पाउने अवस्था पनि हो रोजगारी भन्नू । रोजगारसँग जोडिने कुरा कला सीप र उद्यम पनि हो । आज नेपालमा श्रम अपमानित छ ।सिप भएर पनि गरिबी छ । काम र मजदुरीको भिन्नताले सामाजिक रूपमा बिचलन आएको छ । उद्योगको विकासले रोजगार बढाए जस्तै आधुनिक औद्योगिकरणले रोजगारी खोस्दै गयो । जसको कारण बिकसित भनिने देशमा रोजगारीको अभाव देखियो । अविकसित र अल्पविकसित देशमा त्यो समस्या यथावत थियो नै । नयाँ प्रविधिको विकासले मानविय श्रमलाई निकै अवमूल्यन ग¥यो । मानिसहरूलाई समय सापेक्ष हुन कठिनाइ हुन जानू नै बेरोजगारीको समस्या हो । छिटोभन्दा छिटो मेसिन र प्रविधिले श्रमशक्तिको प्रयोगलाई घटायो ।
उत्पादनमा मेसिनको प्रयोगले उत्पादित सामान सस्तो र एकै खाले आउन थाल्यो जसले गर्दा बजारको बिस्तार हुन पुग्यो । समय सापेक्ष मेसिनको प्रयोगका नाममा आजको मान्छे रोबोट र किर्तिम बौद्धिकता सम्म पुगेर बसेको छ । थाहा छैन यो यात्रा कहाँ पुगेर रोकिन्छ । मान्छे निश्चित कुरामा दक्ष हुन सक्छ । सर्वगुण सप्पन्न हुनु अपवाद मात्र हो । मान्छेलाई समान दृष्टिकोण राख्न सकिन्न मेसिनलाई जस्तो । मान्छेको बौद्धिक स्तर सीप निर्माण हुन धेरै कुराले प्रभाव पारेको हुन्छ । युग आधुनिक हुँदै जानुमा मान्छेकै मस्तिष्कको भरपुर प्रयोग हो । प्रविधि र मेसिनको प्रयोग मानिसका लागि सहयोगी भए पनि कालान्तरमा समस्या पनि उत्तिकै छोडेको हुन्छ । रोजगार दिनु भन्दा राज्यको दायित्व नागरिकलाई आफ्नोलागी आफै बाँच्न सक्ने अवस्था सिर्जना गरिदिनु हो कि । त्यसपछिको व्यापक समस्या भनेको भ्रष्टाचार हो जसलाई त्यसको नालिबेली बुझ्न सजिलो होला । नेतृत्व र नैतिकता तराजुका दुई पल्ला हुन् । आलम्ब बनेर चेतना अडिएको हुन्छ । कुन दिन नतिकता हलुका हुन पुग्छ त्यो नेतृत्वमा रहनेले भुल्छ कि कहिलेकाही । नेतृत्वमा पुग्ने धेरै मानिस सामान्य जनताभन्दा शिक्षा, अनुभव, पहुँच र निर्णय गर्ने शक्तिमा अघि हुन्छन्। त्यसैले उनीहरू “उच्च चेतनामा हुन्छन्” भन्ने धारणा आंशिक रूपमा सही हो। तर चेतना उच्च हुनु , नैतिकता सधैं उच्च हुनु भन्ने अनिवार्य हुँदैन।
सबै नेताबाट सधैं भ्रष्टाचार हुन्छ त ? साच्चिकै मनमा एउटा खुल्दुली उब्जिन्छ । हुन्छ पनि, हुँदैन पनि दुवै सम्भावना हुन्छ। उत्तिकै हुन्छ कि !
कसरी हुन्छ? ठूला बजेटमा निर्णय गर्ने अधिकार नेतृत्वमा हुन्छ । ठेक्का, नियुक्ति, नीति बनाउने शक्ति ,नियम तोड्दा पनि जोगिन सक्ने पहुँच भएको बेला यदि व्यक्तिगत लोभ बलियो भयो निगरानी प्रणाली कमजोर भयो भने पार्टी, परिवार वा समूहलाई फाइदा पु¥याउने सोच आयो भने चेतनशील व्यक्ति पनि भ्रष्ट हुन सक्छ।भोक नभएको मानिसले पनि स्वादका लागि धेरै खान सक्छ कहिलेकाही ठीक त्यस्तै पो हुन्छ कि ।
सबै नेता भ्रष्ट हुन्छन् त ,अर्को प्रश्न उठ्छ फेरि , सायद हुँदैनन् कि ! धेरै नेता छन् जो व्यक्तिगत जीवनमा सादा छन् । सरल जीवन यापन देखिन्छ उनीहरुको । सत्ता गुमाउँदा पनि सम्पत्ति जोड्दैनन् । आलोचना सहेर पनि गलत सम्झौता गर्दैनन् । तर इमानदार नेताको खबर कम बन्छ । सरलतालाई कसैले ध्यान दिँदैनन् । भ्रष्टको कथा छिटो फैलिन्छ । फैल्याउने माध्यममा निकै फैलावटको प्रयोग हुन्छ । अनि सबै नेता भ्रष्ट भन्ने भाष्य किन बन्छ ? कसरी बन्छ होला ? सिगमण्ड फ्रायड मुलत यौन दार्शनिक भनेर चिन्छौं हामी । तर उनको चरित्र र नैतिकताको सिद्धान्त नेपाली या संसारकै राजनीतिज्ञ सँग मेल खान्छ । फ्रायडले मानव व्यक्तित्वलाई तीन भागमा बाँडेका छन् । इड – अवचेतन इच्छा, मुख्यत, यौन आर्थिक र आक्रामक प्रवृत्तिहरू । भोकको अवस्था , आवश्यकताको बेला भनी बुझिन्छ इड को अर्थ । जन्मसिद्ध सन्तुष्टि खोज्ने प्रवृति , सुखसयलको उत्कर्षको खोजी ।
इगो – यथार्थवादी भाग, जसले इडको चाहनाहरूलाई समाज र वास्तविकतासँग सन्तुलन गर्छ । नियम कानुन र सामाजिक धरातल बिर्सन हुन्न भन्ने चेतना स्तरको एक आपसमा संघर्ष हुने अवस्था भनी बुझिन्छ इगोको परिभाषा । सुपरइगो – नैतिक चेतना, सामाजिक नियम, धर्म, र संस्कारबाट निर्माण हुन्छ । त्यसलाई बेलाबेला अवचेतन अवस्थामा धकेल्छ मान्छेलाई । उ सबै सिमा तोड्न पनि पछि पर्दैन । लोभ र मोहले उसलाई डुबाइदिन्छ । फ्रायडका अनुसार नैतिकता केवल समाजले थोपरेको नियम मात्र होइन । यो हरेक मान्छे भित्रको सुपरइगो र इडबीचको द्वन्द्व हो। जब इडको कामुक वा आक्रामक इच्छा समाजले स्वीकार्य सीमाभित्र सन्तुलित हुन्छ, त्यही नै संगतपूर्ण नैतिक व्यवहार हो । हामिकहाँ यो नैतिकता आर्थिक कुरामा ठ्याम्मै मिलेको देखिन्छ । यसका तीन ठूला कारण होलान् भन्ने लाग्छ । वास्तविक घटनाहरूमा देख्न सकिन्छ कि , केही ठूला भ्रष्टाचारका घटनाले सबैलाई एउटै तराजुमा राखिदिन्छ। राजनीतिक प्रोपोगन्डा विपक्षीलाई बदनाम गर्न र सत्ता पल्टाउन अनि जनताको रिस उपयोग गर्न पनि भ्रष्टाचारको आरोप सबैभन्दा सजिलो हतियार हुन्छ पटकपटक । नेतृत्वले सरल ,सक्षम र पारदर्शी ढंगले आफ्नो कार्यक्रम दिन नसक्दा जनताको निराशामा वृद्धि हुन्छ । उचित सेवा नपाउँदा, न्याय ढिलो हुँदा , जीवनयापन कठिन हुँदा जनताले सरकारको विश्वास जित्न सक्दैन । जनताले दोष खोज्छन् र त्यो दोष सिधै नेतामा जान्छ।
एउटा कोणबाट हेर्दा जनताको दिमागमा अविश्वास फैलाउने खेल पनि हो भ्रष्टाचार । केही हदसम्मको सत्यता यसपाटोमा पनि भेटिन्छ । तर भ्रष्टाचार पूर्ण रूपमा मात्र प्रोपोगन्डा मात्र पनि होइन । यो एक राजनीतिक मिश्रण पनि हो । केही सत्य,केहीअतिरञ्जना केही योजनाबद्ध भ्रम यही मिश्रणले सत्ता परिवर्तन पनि गराउँछ । नेतृत्व चेतनाको उचाइले नभएर प्रणाली र चरित्रले भ्रष्टाचार रोक्छ । नेता मात्र दोषी होइनन् कमजोर निगरानी र मौन मतदाताको समाज पनि जिम्मेवार हुन्छ । सबै नेता खराब होइनन् तर खराबलाई छुट दिने संस्कृतिले सबैलाई सदैव बदनाम बनाउँछ । इतिहासमा कलंक बनेर भावी पुस्ताले समेत दुत्कार्छ । भ्रष्टाचारका यावत नकारात्मक कुरा हुँदाहुँदै पनि पार्टी र नेताहरूले चुनावका बेला चन्दा र सहयोग लिन्छन् हुनेखाने सँग । पुजीपती र धनाढ्यसँग लिएको पैसाको सावाँ ब्याज कसरी तिर्छन् ती नेता र दलहरूले ? यो प्रश्न सबैभन्दा चोटिलो हो । अर्वपतिहरू पनि सांसद र मन्त्रीहुन किन चुनावमा होमिन्छ्न् । पुजीवादी यो युगमा एक प्रतिशत नेताले पनि देशका लागि सेवा गर्ने लक्षण देखिन्न । देश चुनावको संघारमा उभिएको छ । खराब आलुको बोराबाट सबैभन्दा कम खराब छान्न जनता विवश छन् । राजनीतिलाई पेशा बनाउनेको जमातमा मास्कहरू फेरिएका छन् । मुखुण्डोहरू नयाँ पुराना लगाएर गाइजात्रा देखाइ रहेका छन् । नेपाल सकिएको सकिदै गएको यस्ता चुनावले पनि हो भन्दा चुनाव बिरोधी प्रजातन्त्र विरोधीको आरोप लाग्ला । तर नियम कानुन र नैतिकता बिनाका यस्ता चुनावले सकारात्मक परिवर्तन दिने अपेक्षा गर्न सकिँदैन ।









प्रतिक्रिया दिनुहोस्