अब एचपिभी खोप सेवा नियमित सञ्चालन



सुर्खेत ।

पाठेघरको मुखको क्यान्सर निवारणका लागि लक्षित एचपिभी खोप सेवा आर्थिक वर्ष २०८२–०८३ देखि नियमित खोप कार्यक्रम अन्तर्गत सञ्चालन गरिने भएको छ । खोप सेवाका विषयमा जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा सम्पन्न भएको हो ।

जिल्ला खोप समन्वय समिति प्रमुख गंगाराम सुनारले एचपिभी खोपबारे समुदायमा सही सन्देश प्रवाह गर्न र खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरे । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कार्यालय प्रमुख करुणा भट्टराईले एचपिभी खोप पाठेघरको मुखको क्यान्सर रोकथामको प्रभावकारी उपाय भएको उल्लेख गरेका थिए ।

खोप सेवा लक्षित उमेर समूहका किशोरीहरूमा खोपको पहुँच सुनिश्चित गर्न सबै पक्षको समन्वय आवश्यक रहेको भट्टराईको भनाइ छ ।खोपबारे देखिने भ्रम र गलत सूचनालाई तथ्यपरक जानकारीमार्फत चिर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उनले बताइन् । कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत प्रकाश पौडेलले एचपिभी खोपलाई नियमित खोप कार्यक्रममै समावेश गरेर दीगो रूपमा सञ्चालन गर्ने योजनाबारे जानकारी गराएका थिए ।

उनका अनुसार विद्यालय, समुदाय र स्वास्थ्य संस्थाको सहकार्यमा खोप अभियान प्रभावकारी बनाउने तयारी छ । एचपिभी खोपको महत्व, प्रभावकारिता र सुरक्षाबारे जानकारी दिदैँ उनले खोप सुरक्षित रहेको र यसले भविष्यमा क्यान्सरजस्ता ज्यान जोखिममा पार्ने रोगबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार नियमित एचपिभी खोप सेवा फागुन १ गतेदेखि सञ्चालन हुनेछ । खोप सम्बन्धित विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा लगाइने छ ।

यो खोप कक्षा ६ देखि १० मा अध्ययनरत सबै छात्रा, तथा विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई दिइँदैछ । साथै गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११–१४ वर्ष उमेरका किशोरीहरूलाई पनि खोप दिइने जनाइएको छ । खोप सेवा निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्यकर्मीहरूका अनुसार एचपिभी खोप सुरक्षित छ र यसले दीर्घकालीन रूपमा जीवन रक्षा गर्न सहयोग पु¥याउँछ । स्वास्थ्य निकायले लक्षित समूहका अभिभावक तथा किशोरीहरूलाई खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

प्रदेश अस्पताल सुर्खेतका बाल रोग विशेषज्ञ डाक्टर सुवास शर्माले पाठेघरको मुखको क्यान्सरको कारण, लक्षण र निवारणका उपायबारे प्रस्तुतिमार्फत जानकारी दिए । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरका कारण औसतमा चार जना महिलाको ज्यान जाने गरेको तथ्यांक प्रस्तुत गर्दै समयमै खोप र नियमित स्वास्थ्य जाँचले यस रोगबाट जोगिन सकिने उनले स्पष्ट पारे ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार