‘अहिले देशलाई सम्हाल्न सक्ने शक्ति काँग्रेस मात्रै हो’



नेपालगन्ज ।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिले देश विषम परिस्थितिबाट देशलाई सम्हाल्ने शक्ति नेपाली काँग्रेस मात्रै रहेको बताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समिति बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले इतिहासका विषम परिस्थितिमा काँग्रेसले नै देशलाई सम्हाल्दै ल्याएको दृष्टान्त दिँदै अहिले पनि सबैलाई समेटेर लैजानसक्ने नीति र कार्यक्रम भएको पार्टी काँग्रेस मात्रै रहेको दाबी गरे । उनले नेपालगन्ज सुशिल कोइरालाको गृहनगर भएको स्मरण गर्दै कोइरालाको पालामा जारी भएको संविधानलाई बलियो बनाउनुपर्ने जिम्मेवारी आएको पनि बताए ।

उनले अहिले देशमा विश्वास र प्रेम जलेको बताउँदै त्यसलाई जोड्न काँग्रेसले कार्यक्रमसहित जनतामाझ आएको बताए । उनले राजनीतिक पद्धतिप्रतिको विश्वास जगाउनुपर्ने ठूलो जिम्मेवारी काँग्रेसको काँधमा रहेको पनि बताए । पार्टीपंक्तिलाई अहिले सुधारिएर आएको शक्ति काँग्रेसमात्रै रहेको कुरा जनताहरूलाई बुझाउन पनि कार्यकर्ताहरूलाई निर्देशन दिए । पार्टीभित्रका मतभिन्नतालाई थाति राखेर अहिले काँग्रेसलाई जिताउन लाग्न उनले निर्देशन दिएका छन् ।

देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एक्लो दल काँग्रेस रहेको, करिब दुई तिहाई उम्मेदवार नयाँ बनाएको दल काँग्रेसमात्रै रहेको उनले स्मरण गराए । यसैगरी अर्कोपटक उम्मेदवार क्रियाशिल सदस्यले छान्न पाउनेगरी व्यवस्था गरिएको पनि उनले बताए । उनले काँग्रेसले जसको जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँ भन्ने नाराका साथ चुनाव अभियान अघि बढाउने पनि बताएका छन् । अब काँग्रेसले गर्ने कार्यक्रममा लामो अथिति आसन ग्रहण नगराइने र भाषणमा पनि कटौति गरिने उनको भनाइ छ ।

कार्यक्रममा बाँकेका तीनवटै निर्वाचन क्षेत्रकाट उम्मेदवार रहेका उम्मेदवारहरूले पनि आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार सुधांशु कोइरालाले सुशील कोइरालाको निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएर आफूमाथि जिम्मेवारी थपेको बताउँदै कोइरालाले आफूले यस क्षेत्रको राजनीतिक इतिहास र जनभावनालाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार