स्मृतिमा विद्यार्थी जीवनका ती मोहक दिनहरु



राजेन्द्र प्रसाद धिताल

मान्छेको हृदय अनुभूतिहरुको अनमोल केन्द्र रहेछ ।मान्छेले स्मृतिभित्र अनगिन्ती अनुभूतिहरु सगालेर राखेको हुनेरहेछ ।जीवन भोगाइ नै अनेक अनुभूतिहरुको जननी होझैँ लाग्छ मलाई ।कलिलो वयमा सगालिएका कोमल अनुभूतिहरुले जीवनका हरेक आयामहरुलाई रोचक बनाउदा रहेछन् ।सानाभन्दा साना विषयहरु कहिलेकाही ठूला र प्रेरक सन्दर्भ बन्दारहेछन् ।अतीतलाई फर्केर हेर्ने हो भने विगत सपनाझै लाग्दोरहेछ,साच्चै हो कि झै हैन कि झैं ।स्मृतिहरु स्रष्टाका हृदयबाटकृतिमा अनुवाद हुँदा रहेछन् ,कथा ,उपन्यास कथिदा रहेछन् ,कविता ,गजल रचिदा रहेछन् ।जीवन हो त अनुभूतित हुन्छन् नै तिता पनि हुन्छन् ,मिठा पनि हुन्छन् ।कतिपय दार्शनिकहरुले तिता अनुभूतिहरुलाई अतीतको गहिरो गर्तमा पुरिदिन भनेका छन् भने मिठा अनुभूतिहरुलाई हृदयको केन्द्र भागमा सजाएर राख्न सुझाएका छन् ।अनुभूतिहरुलाई आफूखुसी सगाल्न र विस्मृतिमा विलिन गराउन सक्ने सबैसबैको बसमा कहाँ हुन्छ र रुसामान्य मान्छेका रूपमा त हामी ससाना अनुभूतिहरुमै लुट्पुटिएर हराउछौ झै लाग्छ ।म स्वयं त्यस्तै पात्र हुझै लाग्छ ।हृदयबाट अनायासै स्मृतिमा सजीव अनुभूति आज पोखूपोखू लागिरहेछ।

२०४६ साल मङ्सिर महिनातिरपहिलोपटक नेपालगन्ज सहरमा पाइला टेकेको थिए ।मैले बर्दिया जिल्लाको दुर्गम गाउँ गोलामा बाल्यकाल बिताएको हु।मैले त्यतिबेलासम्म देखेको ठूलो बजार राजापुर मात्र थियो।गाउँबाट राजापुर पुग्न पैदल हिडेर ३र४ घण्टा जति लाग्थ्यो ।सानोतिनो सामान किन्न पनि राजापुर नै जानु पर्थ्यो।राजापुर त्यतिबेला पश्चिम नेपालको ठूलो हाटबजार थियो ।मध्य र सुदूरपश्चिमका धेरैजसो पहाडी जिल्लाका मानिसहरुको प्रमुख बजार राजापुर थियो।भारततिर जाने मानिसहरुको ठूलो भीड राजापुरमा देखिन्थ्यो ।राजापुर बजारमा नेपाल राष्ट्र बैंकको सटही काउन्टरबाट भारु पैसा बदल्ने मान्छेहरुको भीड म अहिले पनि सम्झन्छु।राजापुर बजार त्यतिबेला निकै गुल्जार हुन्थ्यो।विशेषगरी हिउँदमा पहाडबाट झर्ने हटारुको हुल र स्थानीय किसानहरुले धान बेच्न बजारमा हिडाउने गोरुगाडाका लहरहरुले राजापुर बजारको रौनक बढाएका हुन्थे। राजापुर मलाई निकै राम्रो र आकर्षक बजार लाग्थ्यो ।बजार जान पाउनु निकै खुसीको विषय हुन्थ्यो हाम्रा लागि । लेपहिलोपटक भिडियोफिल्म हेरेको यहीँ हो।अङ्ग्रेजी र गणित विषयको ट्युसन पढ्न बसेको यहीँ हो।कोठा लिएर पहिलोपटक डेरामा बसेको यहीँ हो।

राजापुर बजार मेरो सपनाको सहर थियो ।राजापुर मेरा लागि सबैभन्दा ठूलो सहर थियोे ।संयोगले मलाई त्योभन्दा ठूलो सहरमा जानुपर्ने अवस्था आइपर्यो।२०४६ सालमा क्याम्पस पढ्नु पर्ने भयो ।राजापुर क्षेत्रमा क्याम्पस थिएनन् ।उच्च शिक्षा हासिल गर्न सबैभन्दा नजिकको ठाउँनेपालगन्ज नै थियो ।त्यसैले नेपालगन्ज जानुपर्ने भयो।उतिबेला गोलाबाट नेपालगन्जको यात्रा निकै कठिन थियो।पहिलोपटक नेपालगन्ज आउँदाको घटना म अहिले पनि सम्झन्छु ।नेपालगन्ज जानु आजको जस्तो सहज थिएन ।गाउँबाट ५र६ घण्टा पैदल हिडेपछि कोठियाघाट पुगिन्थ्यो। ठियाघाटमा लामो समयसम्म डुङ्गाको प्रतीक्षा गर्नुपर्थ्यो।डुङ्गा पार गरेपछि कोठियाघाट बजारमा भारतीय बस लागिरहेका हुन्थे ।ती बसमार्फत भारतीय बजार नानपारा पुग्नुपर्थ्यो।नानपारामा फेरि अर्को बस बदलेर रुपैडिया पुगेपछि त्यहाँबाट टागा अथवा रिक्सामर्फत नेपालगन्ज पुग्न सकिन्थ्यो ।पहिलोपटक पटक नेपालगन्ज पुग्दाको अनुभूति मैले अहिलेसम्म हृदयमा सगालेर राखेको छु।एकातिर क्याम्पस पढ्नजाने भन्ने कुराको खुसी र रोमाञ्चको अनुभूतिले हृदय आनन्दित थियो ।अर्कोतिरटाढा र नयाँ ठाउँमाजानुपर्नेविषयले मन चिन्तित बनेको थियो ।चिन्ताभन्दा आनन्द नै अधिक थियोकिनभने म एक्लो थिएन ।म पहिलोपटक नेपालगन्ज जान लाग्दा पिताजी लगायत अभिभावकहरु आधाबाटोसम्म पुर्याउन आउनु भयो ।दाजु पूर्ण प्रसाद धितालले टाढैसम्म पुर्याएर फर्कनु भयो ।

बाटोकेको बारेमा जानकार मामा लक्ष्मीकान्त आचार्य साथमा हुनुहुन्थ्यो ।मेरा सहपाठी साथीहरू ईश्वर रेग्मी र गणेश भण्डारी पनि सगै थिए ।बिहान ४ बजे गाउँबाट हिडेकाहामी राति ८र९ बजेतिर नेपालगन्ज सहरमा पुग्यौं ।मैले यसअघि कहिल्यै बिजुली बत्ती बलेको देखेको थिएन ।राति सहरको झिलिमिली देखेपछि म चकित भएको थिए।राति महेन्द्र बहुमुखी क्याम्पसको छात्रावासमा गाउँकै दाइ नगेन्द्र रेग्मीको कोठामा बस्यौं ।बिहान छात्रावासमा बस्नेअग्रज दाइहरुसग भेट भयो।गाउँकै दाइहरु धेरै भएकोले होला त्यो ठाउँ नौलो लागेन ,आफ्नै ठाउँ जस्तो लाग्न थाल्यो ।दाइहरुकै सहयोगमा डेराको बन्दोबस्त भयो।क्याम्पसभन्दा अलि माथि ट्राफिक प्रहरी कार्यालय नजिकैको घरमा थियो हाम्रो डेरा ।म र साथी गणेशभण्डारी एउटा कोठामा बस्ने भयौं ।कोठाको व्यवस्था भएपछिविस्तारा लगायतका सामग्री किन्न दुईभाइ बजारतिर गयौं ।सामान किन्यौ,विस्ताराको गुन्टा बनायौ।हाम्रा नागरिकता लगायतका प्रमाणपत्र र रुपैयाँपैसा समेत त्यसै गुन्टाभित्र बेर्यौ।गुन्टा रिक्साको पछाडि राख्यौं र डेरातर्फ सवार भयौं ।रिक्सावालले सररर रिक्सा चलाएको छ।हामी रिक्सामा बसेका छौ।यसरी रिक्सा चढेको हाम्रो पहिलो अनुभूति थियो । मीले आफैलाई बर्सिरहेका थियौ।रिक्सा आफ्नो गतिमा थियो ।हामी भावनाको लहरमा थियौं ।यत्तिकैमा झट्ट पछाडि हेर्छु त सामान छैन ,गुन्टा त बाटैमा खसेछ।विद्युत प्राधिकरण नजिक पुगिसकेका थियौ।अब के गर्ने रुरिक्सा रोकायौ,त्यो रिक्सावाला दाइलाई फर्कन भन्यौं ।उनी फर्कन मानेनन् ,हामीले उनलाई छोड्यौ र पैदलपैदल सोधपुछ गर्दै बजारतिर लाग्यौं ।

भेरी अस्पतालभन्दा अलिमाथि गोर्खा फर्निचर उद्योग लेखिएको फर्निचरको पसल थियो ।त्यही पसलका सहृदयीले गुन्टा राखिदिनुभएको थियो ।पसलमा वरपरका धेरै मानिसहरू थिए ।उनीहरूले हामीलाई सहरका नयाँ र कलिला विद्यार्थी सम्झेर माया गरे।गहिरो सहानुभूति देखाए र सहरी जीवनका जटिलताका बारेमा सम्झाए।मैले त्यतिबेला सहरमा जीवन्त मानवता को दृश्यलाभ गरे ।उहाहरुको स्नेह र करुणाबाट कृतज्ञ हुदै हामी कोठामा फर्कियौ।कोठामा साझपख धेरै साथीहरूको जमघट भयो ।हाम्रो अनाडीपनधेरै साथीहरुको हासोको विषय बन्यो ।नेपालगन्ज सहरमा मैले अनुभूत गरेको त्यो सानो घटना सधैको लागि अविस्मरणीय बनेको छ। कोठाको सम्पूर्ण व्यवस्थापनपछि हाम्रो पठनपाठनको सिलसिला सुरु हुन थाल्यो ।हामी नियमित रूपमा कक्षा कोठामा जान थाल्यौं ।बिस्तारै क्याम्पसमा जीवनमा अभ्यस्त हुन थालेका थियौं जाडो बिदा भयो। माघ महिनाको पहिलो हप्तामा जाडो बिदापछि क्याम्पसमा पुनः पठनपाठन प्रारम्भ भयो। क्याम्पसमा पठनपाठन बाहेक जोडतोडका साथ संचालन हुने राजनीतिक गतिविधिसग पनि हामी जोडिन थाल्यौं ।त्यतिबेलाका विद्यार्थीहरु मुख्य रूपमातीनथरि राजनीतिक विचारधाराको पक्षपोषण गर्ने गर्थे ।स्थापित राजनैतिक सत्तालाई समर्थन गर्ने विद्यार्थी सङ्गठन नेपाल राष्ट्रिय विद्यार्थी मण्डल थियो।त्यो विद्यार्थीसंगठनसग आबद्ध विद्यार्थीहरुलाई आम विद्यार्थीहरु मण्डलले भनेरचिन्दथे।पन्चायत व्यवस्थाको विरोधमा सङगठित विद्यार्थीहरुमध्ये प्रजातन्त्रवादी विचार धारामा आवद्ध विद्यार्थीहरु नेपाल विद्यार्थी संघ नामक विद्यार्थी समूहमा आवद्ध थिए ।विद्यार्थी आन्दोलनको अर्को ठूलो प्रवाहवामपन्थी विद्यार्थीहरुको थियो ।

वामपन्थी विद्यार्थीहरुकाधेरै सङ्गठन थिए ।अनेरास्ववियु पाँचौ ,छैटौं ,एघारौं ,नेपाल प्रगतिशील विद्यार्थी युनियन ,नेपाल क्रान्तिकारी विद्यार्थी संघ जस्ता विद्यार्थी सङ्गठनहरु विद्यार्थीहरुवीच लोकप्रिय थिए ।सत्ताको पक्षपोषण गर्ने विद्यार्थी सङ्गठनको विद्यार्थीहरुबीच खासै पकड थिएन ।प्रजातन्त्रवादी विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।सवैभन्दा धेरै राजनैतिक गतिविधि वामपन्थी विद्यार्थीहरुले गर्ने गर्थे ।क्याम्पसभित्र सत्तालाई समर्थन गर्ने विद्यार्थीहरुको उपस्थिति उग्र र अराजक हुन्थ्यो ।उनीहरू त्रास र आतंकका विम्वका रूपमा प्रस्तुत हुन्थे ।उनीहरू सत्ताको विरोधमा संघर्षशील विद्यार्थीलाई दमन गर्ने रणनीति बनाउथे र जासुसी गर्थे ।त्यतिबेला मलाई आश्चर्य लाग्थ्यो तत्कालीन राज्यसत्तासग समान रुपले संघर्ष गरिरहेका प्रजातन्त्रवादी र वामपन्थी विद्यार्थीहरुबीच पनि सहिष्णुता र प्रेम थिएन ।उनीहरूका वीचमा अस्वस्थ प्रतिस्पर्धा ,कटुता र शत्रुता चरम अवस्थामा हुन्थ्यो ।एउटै मूल राजनीतिक आदर्श साम्यवाद मान्ने विद्यार्थी सङ्गठन बीचमा त झनै अस्वस्थ प्रतिस्पर्धा देखिन्थ्यो ।कम्युनिस्ट विचारधारा बोक्ने विद्यार्थी सङ्गठनहरु निकै लोकप्रिय तथा जुझारु हुन्थे ।तर्क,अध्ययन ,गीत सङ्गीत ,कला ,साहित्य ,व्यक्तिगत चरित्र तथा सहयोगी स्वभाव आदि हरेक कोणबाट उनीहरू अब्बल र अनुकरणीय थिए ।विशेषगरी लोभलाग्दा सान्सकृतिक कार्यक्रमहरु र मोहक जनवादी गीतहरूमा वामपन्थी विद्यार्थीहरु अनुपम हुन्थे ।

मलाई पनि कहिलेकाही त कम्युनिस्ट बनू बनू लाग्थ्यो ।तरतिनको चरम असहिष्णुता र टुटफुटका कारण म वामपन्थी विद्यार्थी समूहमा आवद्ध हुन सकिन ।तथापि मेरो किशोर हृदयमा कम्युनिस्ट दर्शनप्रतिको गहिरो आकर्षण भने यिनै विद्यार्थी सङ्गठनहरुले भरिदिएका थिए ।यो बर्ष नेपालको लोकतान्त्रिक आन्दोलनको ऎतिहासिक बर्ष थियो ।२०४६ सालको जन आन्दोलनको केन्द्र भागमा विद्यार्थीहरु थिए ।हामी पढ्न गएका विद्यार्थीहरु कहिले कक्षा बहिष्कार गर्न थाल्थ्यौ त कहिले रातिराति वालपेन्टिङ गर्न थाल्थ्यौ।विस्तारै विस्तारै संयुक्त जन आन्दोलनको वातावरण वन्दै जान गयो ।अब भने विद्यार्थी सङ्गठनहरुबीच नजानिदो ढङ्गलेसहिष्णुता र सद्भाव कोअभिवृद्धि हुन थाल्यो ।विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा संयुक्त रूपमा सभाहरु हुन थाले । एकीकृत विद्यार्थी आन्दोलनले तत्कालीन सत्तालाई लल्कारेको म झलझली सम्झिरहेको छु।विद्यार्थी आन्दोलनको त्यो रोमाञ्चक आकर्षणर विद्यार्थीहरु बीचको इन्द्रेणी एकतासम्झदा मलाई अहिले पनि गहिरो आनन्दको अनुभूति हुन्छ ।अपसोच१यस्तो इन्द्रेणी एकता अनवरत कायम रहन सकेको भए यो मुलुकको मुहार कति छिटै बदलिन्थ्यो होला रुत्यतिबेला बनेको सहिष्णुता नभत्केको भए यो देशमा द्वन्द्वको आगो कहिल्यै थिएन होला । उग्रता र आवेग विद्यार्थी राजनीतिबाट राख्न सकेको भए ,आहा १ यो देशको मुहारमा कति धेरै मुस्कान पोतिएको हुन्थ्यो होला ?

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार