योग्य उम्मेदवार छनोट गर्न ठम्मर बिष्टको आह्वान



वीरेन्द्रनगर ।

उज्यालो नेपाल पार्टीका कर्णाली प्रदेश संयोजक तथा सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठम्मर बिष्टले निर्वाचनमा योग्य उम्मेदवार छनोट गर्न आग्रह गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अन्य उम्मेदवारको तुलनामा आफूनै योग्य रहेको दाबी गरेका हुन्। आगामी निर्वाचनलाई पुरानो शैलीको दल वा उम्मेदवार छनोटको प्रक्रिया नभई परिवर्तन र पश्चगमनबीचको निर्णायक संघर्षका रूपमा लिन उनको आग्रह छ ।

दलभन्दा योग्य उम्मेदवारको बहस आवश्यक रहेको बताउँदै बिष्टले पार्टी आफैँ नबोल्ने र काम गर्ने व्यक्ति नै निर्णायक हुने धारणा राखे । विगतमा हतारमा गरिएका गलत निर्णयका कारण जनताले दुःख भोग्नुपरेको भन्दै यसपटक सचेत भएर निर्णय गर्न उनको आग्रह छ । २०७९ को स्थानीय तथा संसदीय निर्वाचनमा सीमित राजनीतिक पृष्ठभूमि भएका उम्मेदवारहरू जनताको बलमा विजयी भएको उदाहरण दिँदै उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछिको रगतको जगमा निर्माण भएको पार्टी भएको दाबी गरे ।

बिष्टले देश लामो समयदेखि भ्रष्टाचार, कुशासन र अनियमितताको चक्रब्यूहमा फसेको उल्लेख गर्दै जेनजी आन्दोलन सामान्य आन्दोलन नभई चरम भ्रष्टाचार र अन्यायविरुद्ध जनताको अन्तिम चित्कार भएको तर्क गरे । ‘जनताको जागरणले मात्रै परिवर्तन सम्भव हुने फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम र नेपाली क्रान्तिहरू त्यसकै उदाहरण हुन्,’ उनले भने, ‘त्यसैले भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध निरन्तर संघर्ष गर्ने मेरो प्रतिबद्धता छ । मतदाताले पनि मलाई नै भोट दिनेमा विश्वस्त छु ।’

उज्यालो नेपाल पार्टीले विगतमा लोडसेडिङ अन्त्य गरी देश उज्यालो बनाउने ऐतिहासिक कामको सुरुवात गरेको भन्दै अब जनतालाई आर्थिक समृद्धितर्फ जोड्ने अभियानमा रहेको बिष्टले बताए । आसन्न निर्वाचनमा कर्णाली प्रदेशबाट उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर–१ का ठम्मर बिष्ट, क्षेत्र नम्बर–२ का गम्भीरसिंह भुल, जाजरकोटका कर्णबहादुर नेपाली तथा रूकुम पश्चिमका नरेन्द्र केसीलाई अत्यधिक मत दिएर विजयी गराउन पार्टीले अपिल गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार