
सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेत क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवार विजयी हुने दाबी गरेको छ । एमाले, कांग्रेस र माओवादी जस्ता पुराना दलहरूको बलियो पकड मानिने यस क्षेत्रमा आफ्नो उम्मेदवार रमेश सापकोटा विजयी हुने रास्वपा कर्णालीको दावी छ ।
यसैबिच आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन रास्वपा उम्मेदवार सापकोटाले मतदाताहरु आफूहरू भारी मतका साथ विजयी गराउन आतुर रहेको दावी गरे । यातायात व्यवसायी समेत रहेका सापकोटा चुनावी मैदानमा आफ्नो पक्षमा मतदाताहरुको सोचेभन्दा राम्रो लहर देखिएको बताए । उम्मेदवारी दर्तापछि गाउँ अभियानमा निस्किएका सापकोटाले मतदाताहरू पुराना दलहरूसँग निकै रुष्ट रहेको स्पष्ट पारे ।
‘मैले भेटेका अधिकांश मतदाताले यस पटक हाम्रो चुनाव चिन्ह्र घण्टीमै भोट हाल्ने प्रतिबद्धता जनाएका छन्, कतिपयले त तपाईँ नआए पनि हामी घण्टीमै भोट हाल्थ्यौँ समेत भनेका छन्’ उनले भने, ‘जनतामा पुराना शक्तिप्रतिको वितृष्णा नै आफ्नो जितको मुख्य आधार बनेको छ । जनताको बुझाइ पनि रास्वपाप्रति सोचेभन्दा राम्रो छ ।’
भोलि नै चुनाव हुने हो भने पनि मानिसहरू रास्वपालाई भोट हाल्न आतुर रहेको सापकोटाको दावी छ । सुर्खेत–२ मा यसअघि कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । तर यस पटक रास्वपा पनि प्रमुख प्रतिस्पर्धीको रुपमा उत्रिएको छ । रास्वपा उम्मेदवार रमेश सापकोटासँगै कांग्रेसबाट नारायण प्रसाद कोइराला, एमालेबाट कुलमणि देवकोटा र नेकपाबाट झकबहादुर मल्ल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।









प्रतिक्रिया दिनुहोस्