नेपाली राजनीतिका दृश्य अदृश्य पक्ष !



विष्णु पादुका

नाटक घर जस्तो ,सिनेमा हल जस्तो पो देखिन्छ यो देश । भिडहरू र भिडको नेतृत्व भेटिन्छ जताततै । अस्थिर सिनहरू छिटोभन्दा छिटो बदलिदै छन् । नायक हुन खोज्नेहरूको नायकत्व तत्काल स्खलित भएर रित्तिन्छन् । नेताहरू भेटिने सम्भावना दिन्छ त यो चुनावले ? आजका युवाले पछ्याएकाहरूको मोडलिङ्ग भोलिसम्म कायम रहला त ! उसो त यो देशमा लेखिएका सिद्धान्तलाई कसैले अवलम्बन गरेन । अलिखित कुराहरू क्रमशः स्थापित हुँदै छन् । फेरि पनि एउटा स्पष्ट धरातल सबैको आवश्यकता हो । एउटा पुल छ । पुलको छेउमा तर्नेहरूको भिड छ । तर्न सक्नेको सिमा छ । तर्न पाउने एउटा सर्त छ । पुल तरेर जानेले त्यो पुलको स्वरुप फेर्ने सपना देखाउने चलन छ । चलनहरू परिवर्तनसिल छन् । सपनाहरू फेरिएका छन् । गहिरो नदी अनि संबेदनसिल पुल । नेपाली राजनीतिका सुन्दर असुन्दर बिम्ब हुन् । बिम्बको प्रयोग सुन्दर रूपमा मात्र हुने रहेनछ । सपनाहरूको बर्णन सपनामै गर्न सकिन्न । निदाएर ब्युँझिदा सपनाहरू रोपिइ सकेका हुन्छन् । सपनाका प्रतिफल देखिइ सकेका हुन्छन् । जनताको निद भन्दा नेताको चरित्र निकै पातलो हुँदै गएकोले होला सामान्य नागरिकले पनि औंला उठाइ रहेछन् ।
नेपाली राजनीतिको यो सपनामय निद्रामा देश अहिले लठ्ठ छ । सबै पार्टी र नेता भिड बटुल्न ब्यस्त छन् । कति कुरा पत्यार लाग्दा छन् । कति धेरै कुरा अपत्यारिला । पत्याउन बाध्यता पार्ने बाध्यता पनि छन् कति । पत्याउन नसकिने कृतिम कुरा पनि उत्तिकै छन् नेता र दलका । साच्चिकै लठ्ठ पार्ने सपना होइन त यो ?

वैचारिक धरातल हुँदैन सपनामा जो देखिन्छ मात्रै । तर मानसिकताको गहिराईमा जरा चाहिँ टेकेकै हुन्छ सपनाले पनि । नयाँ बिरुवाका पनि जरा त हुन्छन् । जो हर्लक्क बढेका हुन्छन् । साच्चिकै प्रत्यक्ष बोले पनि फरक नपर्ला कि ! रवि लामिछानेको उदय र रास्वपाको पार्टी निर्माण अनि जेन्जी आन्दोलन र विध्वंस राजनीतिको सरल बाटोमा आएका घुम्ती हुन् भन्नू मुर्खता हुनेछ । घटनाहरूको विश्लेषण गहिरोसँग गर्ने हो भने राष्ट्रिय तथा अन्तराष्टिय षड्यन्त्रको गन्धले नाक छोप्नुपर्ने स्थिति छ । तर त्यो गन्ध मेटाउन कृत्रिम बास्ना फैल्याउन सक्दो प्रयास भएकै छ । कृत्रिम बास्नाको हरक निकै बाक्लो छ । जसले अरु सबैकुराको बास्ना छोपिदिएको छ । कन्स्पिरेसी थ्योरी (षड्यन्त्र सिद्धान्त) भनेको ठोस प्रमाणभन्दा आशंका, डर, अविश्वास र अनुमानमा आधारित व्याख्या हो । जसले जटिल घटनालाई लुकेको शक्तिको गोप्य चाल का रूपमा बुझ्न बुझाउन खोजिन्छ यसमार्फत । कन्स्पिरेसी थ्योरी प्रायः तब जन्मिन्छ, जब राज्य, सत्ता, मिडिया वा संस्थाप्रति जनविश्वास कमजोर हुन्छ । साँचोकुरा हामीलाई लुकाइएको छ भन्ने भावना बलियो हुन्छ यस्तो बेला । जटिल सामाजिक, राजनीतिक वा वैज्ञानिक घटनालाई कन्स्पिरेसी थ्योरीले एकैचोटि बुझाइदिन्छ । बिआर आइ सम्झौता , नयाँ अन्तरास्ट्रिय विमानस्थलको असफलताले धक्का दिइरह्यो । बेइजिङ्ग सम्मेलन अनि पुटिनसँगको सानिध्यता , नेपाली काँग्रेस र एमालेको चुलिदो आत्मविश्वास र साथले पुरानो सत्तालाई अहंको शिखरमा चढायो । अघिल्लो धक्काले नढलेको सत्तालाई एक्कासि जमिनमा पनि अडिन दिएन । नेपाली नागरिकको नामले चिनिएको भयावह आन्दोलनले । दोषी एउटै हुन्छ, कथा सरल हुन्छ, तर यथार्थ विकृत हुन्छ। सुन्दा सुनाउँदा यी कुरा कथा जस्तो लाग्छ । कथाले हामी ठगियौँ, हामीमाथि खेल खेलियो भन्ने अनुभूति पैदा गर्छ जनमानसमा ।

शक्तिलाई प्रश्न गर्नु स्वस्थ लोकतन्त्र हो। तर प्रमाण नखोजी, विरोधी प्रमाण अस्वीकार गर्दै, सबै कुरा गोप्य षड्यन्त्रमा मिलाउनु कन्स्पिरेसी थ्योरी हो ।यसले सामाजिक विभाजन बढाउँछ । भएको मुलकुरा , विज्ञान र ज्ञानप्रति अविश्वास फैलाउँछ । हिंसा र घृणालाई बल पुर्याउँदै यथार्थ आवाजलाई ओझेल पार्छ। आजको समयमा सामाजिक सञ्जाल , एल्गोरिदमले उक्साउने सनसनी , तथ्यभन्दा भावनालाई प्राथमिकता , अष्पट अस्थिर राजनीति र असमानताले कन्स्पिरेसी थ्योरी सत्यको खोज जस्तो देखिने भ्रम मात्र जस्तो लाग्छ ।  यसले प्रश्न त उठाउँछ तर जवाफ चित्तबुझ्दो गरि दिदैन तर भविष्यले बेला बेला प्रमाणित गरिदिएको हुन्छ । पछिल्लो नेपाली राजनीतिमा किन कन्स्पिरेसी थ्योरी उब्जिन्छ बेलाबेला ? प्रश्नले घोचीरहन्छ ।नेपालको राजनीति अहिले तीन तहको संकटमा छ । वैचारिक संकट दलहरूमा विचार छैन । केवल सत्ता गणितले सधै दलहरूलाई डो¥याएको छ । छ । नैतिक संकटले भ्रष्टाचार, सौदाबाजी, दण्डहीनतालाई जितिरहेछ । प्रतिनिधित्वको संकट , जनभावना र सत्ता बिचको दूरीका बिच सबै जनताले गंभिर सोध्नु र सोच्नु ठिकै हो ।

यदि हामीले भोट दिएका हौँ भने निर्णय किन अरूले गर्छन्? यसपटकको चुनाव अझ भिन्न देखिन्छ । सामान्य जनताको नजरमा सरकार गैर दलिय थियो । स्थानीय प्रतिनिधिको पदावधि बाँकी नै थियो । केन्द्रिय सरकार होस् या स्थानीय सरकार नाम कामको चर्चा कमाएका पात्रहरूलाई संसद या मन्त्रीकै पदले किन तानेको होला ? साच्चिकै देश बनाउन जुनसुकै तहमा रहेर पनि सकिन्छ भन्ने आत्मविश्वासमा पनि धमिरा लाग्यो अब । यो देश हाँक्ने सारथि होइन छिटो कमाउने धन्दा बन्दैछ राजनीति भन्ने बलियो प्रमाण हो पछिल्लो पदत्याग र उम्मेदवारी दर्ता। यस्ता प्रश्नबाट नै हो कन्स्पिरेसी थ्योरी जन्मिने ।

जेन्जी आन्दोलन स्वतःस्फूर्त थियो कि नियोजित?

जेन्जी आन्दोलन बाहिरबाट चलाइएको हो । यसको उद्देश्य पुराना दललाई असफल पारेर ढाल्नु मात्र हो । यो डिजिटल इन्फ्लुएन्सर र एल्गोरिदमको खेल हो भन्ने एकतर्फी षड्यन्त्रको कुरालाई बल पुग्ने धेरै कुरा छन् । जेन्जी आन्दोलन पूरै नियोजित षड्यन्त्र नहोला तर पूरै स्वतःस्फूर्त पनि त होइन । यो एउटा भावनात्मक विस्फोट थियो । रोजगारी छैन । भविष्य छैन । सुन्ने नेतृत्व छैन । अझ सामाजिक सञ्जाल प्रतिबन्धित छ । त्यो बाहेकको डिजिटल प्लेटफर्मले यसलाई तीव्र बनायो । तर यहि कारण राज्य र दलहरूको विफलता देखियो ।
तर जे सफल भयो भनियो ,के त्यसको सफलताको सिमा यत्ती थियो त ? एमाले ,काँग्रेस र अन्य दलले देखाएको प्रतिक्रियाले थप बल दिन्छ षडयन्त्रको चलखेलमा । जुनसुकै दलले त्यो आन्दोलनलाई गहिरो गरि बुझ्नु भन्दा भुल्न चाहन्छन् । हिजो भारतिय बिस्तारबाद र अमेरिकी साम्राज्यवादको बिरोधमा उठ्ने आवाज आज सेलाएको छ बरू अधिकांश दल र व्यक्ति परोक्ष या प्रतक्ष्यरुपमा उनिहरूकै निर्देशनमा अभिनय गर्दैछन् । विकल्पको व्यवस्थापन गरिएको असन्तोष हो रास्वपा? सिस्टमले नै जन्माएको पार्टी हो कि योजनावद्द योजनाको एउटा बलियो कडि हो ? कि पुराना शक्तिले नयाँ मुखौटा लगाएको हो । कि यो केवल असन्तुष्ट भोट काट्ने उपकरण बनाएर उभ्याइएको हो ?

प्रश्न जटिल भए पनि सरल जवाफ दिनु छ । संस्थागत अनुभव कमजोर र नैतिक पूँजी बलियो बनाएको नयाँ पार्टीको रूपमा स्थापित छ रास्वपा भनेर देखाउन खोजिदै छ । संरचनागत स्पष्टता अपूर्ण छन् फेरिपनि । यसलाई लिएर कन्स्पिरेसी झन् झन् फैलिदै छ किनकि जनताले सधै चमत्कार पो खोज्यो नेपाली समाजले । बालेन शाहलाई एक प्रतीक, चुनौती र डरको रूपमा समेत स्थापित ग¥यो । बालेन व्यक्ति होइन प्रतीकको रूपमा चिनाइयो । उनको लोकप्रियताले सत्ता र दलहरू बालेनसँग डराउँछन् । किनकि उनी परम्परागत राजनीति नमान्ने पात्रका रूपमा देखिएका थिए । भोलि निर्वाचन केवल औपचारिकता साबित भयो भने त्यसले धेरै कुरा प्रमाणित गर्नेछ । देश प्रवाहपूर्ण राजनीतिक परिवर्तन भैरहँदा पनि नियमित चल्ने कर्मचारी संयन्त्रले हो । यो कुरा संसारका सबै देशमा लागू हुन्छ । अति संक्रमणको बेला पनि देशको सामान्य व्यवस्था सुचारु राख्ने जिम्मेवारी लिएको कर्मचारी व्यवस्था र कानुनी व्यवस्था पनि यस्तै बेला धेरै चर्चामा आउने रहेछ । य
यथार्थ नेपालमा समस्या चुनाव होइन, चुनावपछिको राजनीति हो । जनताले फरक जनादेश त दिन्छन् । दलहरूले गठबन्धनमा त्यसलाई उल्ट्याउँछन् । दलहरूको संख्या थपिनुले यो कुरालाई अझ बल पु¥याएको छ । यसले लोकतन्त्रलाई कानुनी तर अनैतिक बनाएको छ इतिहास देखि ।

भत्किएको काँग्रेस र टालटुल पारिएको एमाले अनि जोरगाँस पारिएको माओवादीको नेकपा जोसुकैका इतिहास मात्र सुनौला छन् । भविष्य त पुलकै छेउमा प्रतीक्षारत छ । संस्थागत लोकतन्त्र बिना , वास्तवमा एमाले अनुशासित संगठन र व्यक्तिकेन्द्रित शक्ति बीचको द्वन्द्वमा छ आज पनि । दल बलियो होला तर लचकता छैन । यही कठोरता भविष्यमा जोखिम हुन सक्छ । अन्यन्य दलहरू केवल मौन सहयात्री जस्ता छन् ।आजको दिनमा । माओवादी, मधेस केन्द्रित दलहरू स्थिति अनुकूल सत्ता साझेदार मात्र बनेका छन्। सत्ता पारदर्शी हुन सकेन न हिजो न आज। दल जवाफदेही छैनन् आजपनी । र जनताले आफूलाई निर्णायक ठान्न छोडेका छन् । हिजो बालबालिका गुमाएका परिवार आँसुमै डुबेका छन्। अधिकांस परिवारका आफन्त देश बाहिर छन् । देशले घोषणा गरेको चुनावले सामान्य जनतामा खासै उत्साह जगाएको छैन । राजनीतिक दल र उनिहरुका नेतालाई राम्रैसँग चुनावले छोइसकेको छ । उनिहरुले सपना देखाइसकेका छन् । सत्ताको बागडोर हाक्ने अनुहार देखाउँदै ।
षडयन्त्रको अन्तिम र भावी कडिको चर्चा पनि नभएको होइन नेपाली राजनीतिक वृत्त भित्र । दलाइ लामाको असली सेल्टर नेपालमा स्थापित हुन सक्ने , र बाराको बिमानस्थल छिटो निर्माण गरिने कुराको भविष्यवाणी सुन्न सकिन्छ ।

बलिया र आणविक युद्ध झेल्न सक्ने देशका सामु नेपालले प्रतिवाद गर्ने भन्ने कुरा दिवा स्वप्न हो । उनीहरुको चलखेल छैन भनेर भन्न सक्ने अवस्था हुने कुरा भएन । तर कुन स्वार्थको र कुन तहको उपस्थिति हो भन्ने कुरा जुनसुकै दलले या राजनीतिक नेतृत्वले नेपाली जनतालाई स्पष्ट बुझाउन सकेको देखिदैन । नेपाली जनतामा सधै एउटा आसाको बीउ उम्रेर बस्छ । त्यस्तो आसा जो सायदै पूरा होला । अन्तरास्ट्रिय लेखाजोखा एकातिर छ । राजनीतिक ध्रुवीकरण र द्वन्द एकातिर छ । फेरि पनि नेपाली जनतामा मुतको न्यानो जस्तो साना ठूला सपनाको बिस्कुन सुकाइएको छ फेरि । प्रयोगशाला त हो नै नेपाली भूमी तर भयानक विडम्बना छ कि जो कि कसैबाट प्रयोग भएको छ तर त्यो प्रयोग भएको पत्तो छैन । भयंकर स्वतन्त्रता बोकेर नाचिरहेको देख्छ आफुलाई जो अदृश्य निर्देशन मिलेको थाहै पाउँदैन । कस्को नाच सबैभन्दा बढी बलियो देखिन्छ ? त्यसको जवाफ भविष्यले नै दिनेछ । ठूला मुलुकको आँखाले नियालेर हेरेको यो चुनावका परिणामले थप संकट र अस्थिरता नल्याओस् । कामना मात्र गर्न सकिन्छ यो सपनाको पूर्व सन्ध्यामा ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार