बलिदान !



नवराज भट्ट

एकहुल मानिस झन्डा र ब्यानर बोकेर जिन्दावाद र मुर्दावादको नारा घन्काउँदै अघि बढिरहेका हुन्छन् । मानिसहरू गाडीबाट ओर्लेर त्यही हुलमा सहभागी भएका हुन्छन् । जोड जोडले नाराबाजी घन्किदै जान्छ । “लोकतन्त्र जिन्दावाद निरङकुशतन्त्र मुर्दावाद !” देशभर आन्दोलन चलिरहेको बेला नेपालगन्जको सडकमा पनि आन्दोलनको एउटा उभार आएको हुन्छ । आन्दोलनले विशाल रुप लिँदै जान्छ । मानव सागर धम्वोझी , बि.पी.चोक , गणेशमान चोक ,त्रिभूवन चोक र सदरलाइन हुँदै सहरको अग्रभागमा अघि बढिरहेको हुन्छ । सडक किनाराको वालमा लेखिएको दुइ लाइन अक्षर माथि मेरो आँखा पुग्छ ! “हुँदैन उज्यालो मिर्मिरे तारा झरेर नगए ! बन्दैन देश दुइचार सपुत मरेर नगए !” सुरक्षाकर्मीका भ्यानहरू आन्दोलनको अघि र पछि गुडिरहेका हुन्छन् । शान्ति र लोकतन्त्र पुनस्र्थापनाको निम्ति देशभरी चलेको त्यस विशाल जनमानसभा मजदुर ,किसान ,विद्यार्थी ,वकिल ,पत्रकार ,व्यापारी कर्मचारी ,शिक्षक ,डाक्टर,इन्जिनियर लगायत बिभिन्न पेशा व्यवसायीहरु पनि सहभागी हन्छन् । देशको आधिकांश भू–भागमा चलेर्को ०६२÷६३ को ऐतिहासिक जनआन्दोलन नेपालगन्ज नगरीमा पनि कम हुँदैन । ’ महिला र पुरुषहरू कोही भन्दा कोही कम थिएनन् । वास्तवमा भन्नुपर्दा मेरो जीवनमा पहिलो पटक देखेको थिएँ शान्ति र लोकतन्त्रको पक्षमा उर्लिएको त्यो जनलहर ! त्यो उत्साह ,त्यो जोस् र जाँगर ! आआफ्नो पहिचानमा तमाम जाति समुदायका मान्छेहरु आआफ्नो कला संस्कृति प्रदर्शन गर्दै आन्दोलनमा सरिक थिए । मादल , बाँसुरी र लोकदोहरीमा कलासँस्कृतिहरु प्रदर्शन हुँदै थियो । कवि साहित्यकारहरू गजल र कविता वाचन गर्दै उत्साही देखिन्थे । आमा, दिदी ,बहिनीहरु झाडु र डाडु उचाल्दै थिए । ‘गर या मर !’ को अवस्थामा उर्लिएको त्यस मानव सागर भित्र सबैको एउटै आवाज घन्किएको थियो र्! लोकतन्त्र जिन्दावाद !’

नगरका विभिन्न स्थान र क्षेत्रहरुमा निषेधाज्ञा जारी थियो । आन्दोलनको उभार पुष्पलाल चोकबाट सुरु भएर त्रिभूवन चोकबाट त्रिवेणी मोड हुँदै न्यूरोड बाट अगाडि निषेधित क्षेत्रमा प्रवेश गर्दै गयो । जोडजोडले नाराबाजीे घन्किँदै थिए । सुरक्षाकर्मीहरु माइक समातेर सचेत पारिरहेका थिए ।’तपाईँहरु अगाडि नबढ्नुस् ! पछि हट्नुस् ’ तर मानव सागर रोकिने अवस्थामा थिएन झन् अगाडी बढ्दै गयो । आन्दोलनकारी र सुरक्षाकर्मी आमने सामने भयो । ‘ पट्…पट्.. पट्….!’ गोलीको आवाज आयो । नाराबाजी गर्दै जुलुसले निषेधित क्षेत्र तोड्यो । असिनाको वर्षाझैँ अन्धाधुन्द गोलीका बर्षा हुन थाले । मानिसहरुको भागदौड मच्चियो र्। अनिकालमा बिउ जोगाउनु हुलमुलमा जिउ जोगाउनु ! ’ सानो छँदा बा ले भनेको सम्झिना भयो । गड्याङ गुडुङ मेघ गर्जिएर झरीबर्षापछि शान्त आकासझैँ केहीबेरमा घटनास्थल पनि शान्त भयो । एम्वुलेन्स त्यहाँ पुग्यो । सडकको वरपर रक्ताम्मै भएर ढलेका आन्दोलनकारी र सुरक्षाकर्मीहरूलाई केही बेरमै एम्वुलेन्सले साइरन बजाउँदै हस्पिटल लगेकोे त्यो दृष्य हेर्नै सकिन मैले । शायद मेरो जीवनमा पहिलो पटक देखेको थिएँ ति दृष्यहरु । जिल्लाको सरकारी अस्पताल घाइते आन्दोलनकारी र सुरक्षाकर्मीले भरिएका थिए । डाक्टर, नर्स र अन्य कर्मचारीहरू दगुरिरहेका थिए । ‘ऐया ऽऽ..ऐया…ऽऽ .! ’ चिच्याउँदै थिए वेडमा आन्दोलनका घाइतेहरु । त्यसैक्रममा एउटा बेडमा भर्खरको युवा टाउकोमा सेतोपट्टी बाँधेर पल्टिरहेको देखेँ ।

उसको एउटा हातबाट स्लाइन चढाएको थियो । लगभग चौबिस पच्चिस वर्ष उमेरको हुनुपर्छ ऊ ! चिउँडोमा चुस्स दाह्री, पातलो जुँगा , गोरो बाटुलो अनुहार सानो आँखा , गहिरो हेराइ थियो उसको ! यताउता नाच्दै थिए उसका आँखाहरू । शायद उसले मलाई चिनेझैँ गरेर शिरदेखि पाउसम्म नियाल्दै थियो । मैले पनि उसलाई त्यसरी नै नियाल्दै गएँ । अगाडिको स्टुल खाली थियो । नजिकै गएर बसेँ अनि सोधें ! ‘तपाईंलाई कस्तो छ ?’ उसले जवाफ दियो ! ‘मलाइ ठिक छ ! टाउकोमा हल्का चोटबाहेक अन्त खासै चोट छैन ।’ मैले उसको परिचय मागेँ । ‘म प्रकाश ! ’ उसले आफ्नो नाम बतायो । ‘के गर्नु हुन्छ तपाइँ ?’ मैले थप प्रश्न गरेँ ! ‘म क्याम्पस पढ्दै छु यही नेपालगन्जमा ।’ ‘अनि तपाईँको परिचय ?’ उसले मेरो परिचय माग्यो । “म सूर्य ! म एउटा गैरसरकारी संस्थामा काम गर्छु र अफिसले मलाइ दिएको जिम्मेवारी अनुसार म खोजमूलक विषयमा अनुसन्धान गर्छु अनि प्रतिवेदन तयार पार्छु । अफिसले मासिक रुपमा स्मारिका प्रकाशन गर्छ ।” मैले आफ्नो परिचय सहित सम्पुर्ण डिटेल्स बताएँ । उसले पुन ः मलाई सोध्यो ! ‘तपार्इँ कस्ताखाले विषयहरू अनुसन्धान गर्नुहुन्छ ?’छोटोमा जवाफ दिएँ मैले ! ‘विशेषगरी सामाजिक , सांस्कृतिक र राजनैतिक ! ’

‘भन्नाले तपाईँ त्यही सूर्य हुनुहुन्छ ? यहाँको स्थानीय पत्रिकामा तपाईँका लेखहरु प्राय ः मैले पढेको छु ! तपाईँको लेखमा समाजको चित्रण र विसङगतिको चिरफार दुबै भेटेको छु मैले ।’ उसले मलाई गरेको यो तारिफलाई मैले भने, ‘धन्यवाद !’ ‘तपाईँलाई भेटेर मेरो आधा दुखाई सन्चो भयो ।’ उसले मेरो थप तारिफ ग¥यो । ‘मलाई तपाईँ सँग केही अरु कुराहरू गर्न मन छ ! ’ उसले भन्यो । ‘हुन्छ भन्नोस् !’ मैले भने । उसले सविस्तार आफ्ना कुराहरु राख्दै गयो । “यहाँ अब जनतालाई सर्वशक्तिमान् बनाइनु पर्छ । आज पनि हाम्रो समाजमा भेदभाव कायमै छ । त्यसैले यो निरंकुश तन्त्रलाई जरैदेखि उखेलेर फाल्नु पर्छ र दलित जनजाति आदिवासी मधेसी मुस्लिमहरूलाई अधिकार सम्पन्न बनाइनुपर्छ हामी जस्ता युवावर्गको हातमा शासन व्यवस्था हुनुपर्छ । तब देशमा आमूल परिवर्तन हुन्छ ।” निकै जोसिलो अभिव्यक्तिको साथ ऊ आफ्ना विषय उठाउँदै थियो । ऊ बिचबिचमा कतै अप्ठ्यारो भएझैँ गरी सुस्त बोल्ने गथ्र्यो । बोल्दा उसका मुखको हाउभाउ सँगै उसका आँखा र आँखीभौँहरु यता उता हल्लिन्थ्यो र नाकका पोराहरु फुल्थ्यो । नजिकबाट उसको कुरा सुनेर म भित्र पनि केही सोचहरु पैदा हुँदै थियो ।
“मैले भने यो देशमा सबै जाती ,धर्म लिँग र वर्णका मान्छेहरू आआफ्ना पेसा व्यवसाय छोडेर हातेमालो गर्दै यो ऐतिहासिक जनआन्दोलनमा सहभागी भएका छन् तर कसैलाई पनि अधिकार र अवसरबाट बञ्चित गरिनुहुन्न । शिक्षा र रोजगारमा सबैको पहुँच सुनिश्चित गरिनुपर्छ ।

परिवर्तनको कुरा गरिरहँदा हामीहरू आफैँमा पनि परिवर्तन हुन जरुरी छ ! ‘हाम्रो सोच, व्यवहार र दृष्टिकोण ।’ यो विशाल जनलहरमा सबैको आआफ्ना समस्या माग ,मुद्दा अनि दृष्टिकोणहरू अवश्य पनि फरक फरक होलान् तर राज्यले सबैलाई अवश्य समेट्नु पर्छ !” म भित्रको बिचार पनि उसलाई सुनाउँदै गएँ म । मेरो बिचारमा सहमत भएर होला सायद ऊ हो मा हो गर्दै थियो । त्यसपछि केहीबेरको बसाइपछि त्यहाँबाट निस्कने सोच बनाएँ मैले । बाँकी नै रहेछन् सायद उसका बिचारहरू पनि । ऊ भन्दै थियो “जबसम्म देशमा लोकतन्त्र आँउदैन तवसम्म आन्दोलनलाई निरन्तरता दिनु जरुरी छ । ”उसको उत्साह ,आँट ,हिम्मत र जोसले कता कता प्रभावित बनाउँदै थियो म भित्र । ‘देशलाई यस्तै परिवर्ततकामी युवाको खाँचो छ ।’ मेरो मनले तारिफ गर्दै थियो उसलाई । त्यसैक्रममा केही अन्य युवाहरु पनि बाहिरबाट आइपुगछन् त्यहाँ ।प्रकाश र उनीहरु विच हात मिलाउने र अभिवादन गर्ने क्रम चल्दै जान्छ । ‘ जय नेपाल ! लाल सलाम ! अभिवादन आदि आदि । ’ त्यहाँ आउने मध्ये कसैका कपाल लामा थिए , झ्याप्प थिए कसैका दाह्री जुँगाहरु । कसैको गालामा चोटका पुराना खदहरु देखिन्थ्यो । हिँड्दा अलि खोच्याउँथे कोही । प्रकाशले आफ्ना साथीहरू सँग परिचय गराउँदै गयो । ‘ अग्नि ,ज्वाला, बिहानी ,किरण ,नवीन आदि आदि । ’ बाहिर रात निष्पट्ट अँध्यारो भइसकेको थियो । भोलि भेट्ने प्रतिबद्धता प्रकट गरेर पुन ः स्वास्थ लाभको कामना गर्दै त्यहाँबाट पाइला बढाएँ मैले ।

छुट्टिनेबेला प्रकाशले कसिलो सँग हात मिलायो । उसका कसिला हातले केहीबेर चरप्प पारिरह्यो र भन्यो ! ‘तपाईँ हामी सँगै मिलेर अगाडि बढ्नु पर्छ अब ! ’ मैले ‘अवश्य’ भनेर सहमति जनाएँ । उसका कसिला हातबाट मेरो हात फुस्किँदै गयो । त्यसपछि त्यहाँबाट हिडेँर आफ्नो कोठामा पुगेँ म । देशमा कहाँ कहाँ के भयो खबर बुझ्न आतुर थिएँ म । कोठामा पुगेर टिभी खोलेँ समाचार वाचकले समाचार भनिरहेको थियो ! “राजनैतिक दलहरुको माग र जनआन्दोलनको भावना अनुसार लोकतन्त्र बहाली भएको छ । ” टिभीको पर्दा तल किनारामा ठुलो अक्षरमा लेखिएको समाचार पढेँ र थप अरु समाचार पनि सुन्दै गएँ र्। देशमा सम्सद पुनस्र्थापना भएको छ ! आन्दोलनको माग पुरा भएपछि राजनैतिक दलहरुको आन्दोलन पनि स्थगित भएको छ । ’ टेलिभिजनमा समाचार हेरेपछि देशमा लोकतन्त्र पुनस्र्थापना भएको खुसियालीमा केही साथीहरूलाई फोन लगाएँ र बधाई भनेँ । उताबाट पनि बधाई आउनेक्रम जारी नै थियो । “जनताको रगत पसिना र सहिदहरुको बलिदानबाट प्राप्त भएको हो यो लोकतन्त्र ! अब यहाँ लोकतन्त्रको पुनस्र्थापना सँगै राजनैतिक दलहरुमा देशलाई समृद्धि तुल्याउने अठोट हुन जरुरी छ र सोहि अनुसारको लक्ष्य योजनाहरु बनाउन जरुरी छ ! देशलाई आमुल परिवर्तन चाहिएको छ । मेरो मतलव अब देशमा गरिबी हट्नु पर्छ । वेरोजगारी हल हुनु पर्छ । ”मेरा एक सहकर्मीले लोकतन्त्र बहालीको खुशियालीको अवसरमा आफ्नो राय विचार पनि व्यक्त गर्दै थिए । उनको बिचार सँग सहमत हुँदै थिएँ म पनि ! अनि कताकता मेरो धड्कनले पनि भन्दै थियो ‘ देशको बिकास र समृद्धि सँगै आमुल परिवर्तनको लागि नै भएको हो सहिदहरुको यति ठूलो वलिदान !’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार