वीरेन्द्रनगर ।
नेपाली काँग्रेसबाट सुर्खेत क्षेत्र नम्बर १ को उम्मेदवार रहेका विष्णुकुमार खड्काले आफू पूर्णबहादुर खड्काको भाइ भएर मात्रै टिकट नपाएको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले परिवारवादको आरोपबारे प्रष्टीकरण दिँदै सो कुरा बताएका हुन् । काँग्रेस विशेष महाधिवेशनपछि उनका दाजु समेत रहेका काँग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको मुद्दा अदालतमा रहेकाले नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरेका थिए ।
तर उनको क्षेत्रमा उनकै भाइ विष्णुले टिकट पाएका हुन् । एकातिर विशेष पक्षलाई आधिकारिक काँग्रेस नमानेका खड्काहरू अदालतमा गए भने अर्कातिर सभापति गगनकुमार थापाकै हस्ताक्षर भएको टिकट उनका भाइले पाए । अहिले यही विषयमा स्थानीयवासीले खड्कामाथि परिवारवाद र नैतिक प्रश्न उठाउँदै आएका छन् ।
उम्मेदवार रहेका विष्णुले आफू २०४६ सालदेखि निरन्तर रूपमा पार्टीमा काम गरेको बताएका छन् । आफ्नो क्षेत्रका हरेक समस्यामा प्रत्यक्ष रूपमा संलग्न भएको र त्याग गरेको कारण आफूले टिकट पाएको उनको दाबी छ ।
‘क्षेत्र नम्बर १ मा काँग्रेसलाई जित्न नसक्ने अवस्था भएपछि खाली पूर्णबहादुर खड्काको भाइलाई दाइले टिकट दिए भनेर हल्ला फिँजाइयो । त्यो गलत छ,’ उनले भने, ‘काँग्रेसले उक्त क्षेत्रमा चुनाव जित्छ, यदी म सांसद भएको खण्डमा विगतभन्दा राम्रो काम गर्नेछु ।’ विष्णु काँग्रेस सुर्खेतका उपसभापति हुन् भने यातायात र मेडिकल व्यवसायी समेत हुन् ।








प्रतिक्रिया दिनुहोस्