पूर्ण ओली
चार वर्षअघिको कुरा हो । रुकुमका शैक्षिक धरोहर शिवकुमार शर्मा दाहाललाई कोहलपुरस्थित घरमा भेट्न गएको थिएँ । त्यस वेला उहाँको स्वास्थ्य अवस्था जटिल हुँदै गइरहेको थियो । जीवनमा देखेका–भोगेका अनुभवलाई पुस्तकमा उतारेर आफ्नै जीवनकालमै प्रकाशित गर्ने उहाँको ठूलो धोको थियो । त्यस पुस्तकलाई छिट्टै प्रकाशन गर्ने उद्देश्यले उहाँका छोरा केशव शर्मा, भान्जा कमलमणि देवकोटा, दीपक समीरलगायत हामी सबै जुटिरहेका थियौँ । त्यही क्रममा म पनि उहाँको घरमा दुई दिन बस्ने अवसर पाएँ । छोटो छलफलपछि बिदा हुने बेला उहाँले मलाई माधवी उपन्यास उपहार दिँदै भन्नुभएको थियोः “यो पुस्तक पढिसकेर यसको बारेमा मलाई बताउनु है पूर्णबाबु ।” पुस्तक खुल्ला दराजमा राखिएकोले पाहुनाहरूले वल्टाइपल्टाइ गर्दा गर्दा गाता च्यातिन लागेको थियो र सुरुका केही पानाहरू मैलिएका थिए, तर भित्रका अधिकांश पृष्ठहरू पल्टाउँदै नपल्टाइएका जस्ता ‘भर्जिन’ देखिन्थे । शिवकुमार सरसँग पढ्ने वाचा त गरियो, तर यति मोटो किताब कहिले पढिसक्ने भन्ने चिन्ता मनमा पलायो । नेपालगन्जदेखि काठमाडौँसम्मको हवाइ यात्रामा जम्मा दुई पृष्ठ मात्र पढ्न सकेँ । क्लिष्ट शब्दहरूको आधिक्यताले बुझ्न कठिन भयो र त्यसपछि पाना पल्टाउन समेत् जाँगर चलेन । आकारको तुलनामा पुस्तकको वजन निकै गह्रौँ थियो । कतै खाँदिएका शब्दहरूले नै वजन बढाएका त होइनन् भन्ने शंका उत्पन्न हुन्थ्यो ।
पुस्तक उपहार पाएको दुई महिनापछि उहाँको निधन भएको खबर पाएँ । माधवीले उहाँको अनुहारको झझल्को लगाउन थाल्यो । साहित्यकार कमलमणि देवकोटाको अथक परिश्रमले उहाँको संस्मरणात्मक पुस्तक “उहिलेका कुरा अहिलेको सम्झना” भने ४५ औँ दिनमै प्रकाशित भयो । विमोचन समारोहमा सहभागी हुँदा मेरो कानमा शिवकुमार सरकै आवाज गुन्जिरहेझैँ लाग्यो, “माधवी पढिसक्यौ त पूर्णबाबु ?” चार महिनासम्म पनि पढ्ने वाचा पूरा नगरेकोमा कार्यक्रम अवधिभर ग्लानि महसुस भइरह्यो । त्यसो त अन्य पुस्तकहरू पढ्नुभन्दा माधवी नै पढिसक्नुपर्छ भन्ने लागिरहन्थ्यो । माधवीकै कारणले अरू महत्त्वपूर्ण पुस्तकहरू पनि प्राथमिकतामा पर्न छोडेका थिए । यात्राको क्रममा होस् कि अफिस जाँदा होस् मेरो झोलामा माधवीले नै स्थान ओगट्थ्यो र माधवीले नै झोला गह्रुँगो बनाउँथ्यो । तर पढाइ भने अगाडि बढ्नै सकेको थिएन । रुकुम सरुवा भएपछि मेरो एउटै लक्ष्य थियो माधवी जसरी पनि पढिसक्ने । तर रुकुममा ठुला साहित्यिक कार्यक्रमहरूको तयारी र केही पुस्तकहरूको सम्पादनको जिम्मा लिएकोले झनै फुर्सद मिलेन । साहित्यकार गिरिप्रसाद बुढाबाट प्राप्त भएको झनै ठुलो आकारको पुस्तक ‘का. जलजला’ले पनि माधवीलाई ओझेलमा पारिदिएको थियो । हवाइयात्रामा पनि ह्यान्ड ब्यागेज माधवीले नै ओगट्दथ्यो । सुरक्षा जाँचमा माधवी रहेको झोलाको गहन खानतलासी लिइन्थ्यो । सुरक्षाकर्मीले सशंकित हुँदै केरकार गर्थेः यो पुस्तकको गाताभित्र वा पाना पानामा सुनका नदेखिने तारहरू लुकाइएको छ कि ?
त्यसो त करिब १५० पृष्ठका उपन्यास मैले एकै दिनमा पढिसकेका अनुभवहरू पनि छन् । विवेककुमार शाहको ६०० पृष्ठ मोटो ‘मैले देखेका दरबार’ पढ्न पनि मलाई उति धेरै समय लागेको थिएन । सूर्यबहादुर थापाको झण्डै ५०० पृष्ठको ‘अपराजिता’ उपन्यास र ६०० पृष्ठभन्दा बढीको नन्दकिशोर पुनको ‘यात्रा जिन्दगी’ पुस्तक पनि मैले चार पाँच दिनकै अन्तरमा पढिसकेर विमोचनको क्रममा समीक्षा पनि प्रस्तुत गरेको थिएँ । आकारमा बाक्ला देखिए पनि उल्लिखित पुस्तकहरू १ लाख ५० हजार शब्दभन्दा कमकै हुन् । यो उपन्यासमा भने केही शब्दहरू नेपाली शब्दकोशमै नभेटिने र केहीको अर्थ भेटिए पनि अर्थ फरक लाग्ने, बदलिइरहने उपकथाहरूमा आउने झण्डै २०० पात्रहरू र १०० भन्दा बढी स्थान विशेषका नामहरू पनि सुनेको भन्दा पृथक रहेकोले द्रुत गतिमा पढ्न मुस्किल नै थियो । पढेपछि बुझ्नु पनि पर्यो । यिनै कारणहरूले गर्दा माधवी पैटाउन सकस भइरहेको थियो । सेवाबाट अवकाश हुनेबित्तिकै दिनमा सालाखाला ७ पृष्ठको दरले माधवी छिचोल्दै गएँ । ५६७ पृष्ठको यस उपन्यासको १०० पृष्ठ मात्र पढ्न पनि मलाई १५ दिन लाग्यो । १०० पृष्ठ पढिसक्दा यो उपन्यासका विरलै पाठकहरूमध्ये म पनि पर्ने भएँ भन्ने अहङ्कार पनि जाग्यो । एक पटक साहित्यकार शशिराम कार्कीसँग भेट हुँदा उहाँलाई सोधेँः के तपाईँलाई माधवी उपन्यासको बारेमा थाहा छ ? उहाँले भन्नुभयोः मदन पुरस्कार विजेता माधवी उपन्यासको बारेमा थाहा नहुने नेपाली साहित्यकार को होला र ? मैले माधवी उपन्यास २ चोटि पढिसकेर अब तेस्रोचोटि पढ्दै छु ।
त्यसपछि जुन जुन साहित्यकारहरूलाई माधवी उपन्यासको बारेमा सोध्थेँ, उहाँहरू सबैले पढिसकेको जानकारी दिनुहुन्थ्यो । मलाई लाग्यो कि माधवी नपढ्नेमध्येको एक अल्छी पाठक त मै पो रहेछु । अब जतिसक्दो छिटो माधवी उपन्यास पढिसक्नैपर्छ भन्ने चेतनाले काम गर्न थाल्यो । घरमा होस् वा बाहिर फुर्सद मिल्नेबित्तिकै माधवीको पाना पल्टाइहाल्थेँ । उपन्यास उत्कर्षतिर गइरहेकोले र साहित्यिक एवम् पौराणिक शब्दहरू पनि सजिलो हुँदै गएकोले उपन्यासले झन् झन् मन तान्दै लग्यो । अन्य कामहरूलाई पन्छाएर भए पनि दिनको सालाखाला २० पृष्ठको लक्ष्य निर्धारण गरेर पढ्न थालेँ र करिब १ महिनामा करिब २ लाख हाराहारी शब्दको ५६७ पृष्ठको पूरै उपन्यास पढिसक्न सफल भएँ । मलाई माधवीजस्तो नेपाली साहित्यको विशिष्ट उपन्यास पढिसकेकोमा गर्वको साथै आत्मसन्तुष्टि मिल्यो । फेरि पढ्ने जोस र बल पनि थपिदियो ।माधवी पढ्नै पर्ने महाभारतको गालव–माधवी प्रसङ्गलाई आधार बनाएर लेखिएको यस उपन्यासमा प्रेमकथासँगै उत्तरवैदिक समाजको राजनीतिक, सामाजिक र आर्थिक अवस्था चित्रण गरिएको छ । यो उपन्यास ३ वर्षमा लेखिसकेको भनिए तापनि विस्तृत अध्ययन र खोज–अनुसन्धान गरेर निकै लामो अवधि लगाएर लेखिएझैँ प्रतीत हुन्छ । उपन्यासकी मुख्य पात्र माधवीले गरेको त्याग, बलिदान र निष्ठाले उपन्यासलाई औधी कारुणिक र प्रेरणादायी बनाइदिएको छ । कतै कतै उपन्यासले पाठकलाई उमङ्ग फैलाइदिन्छ त कतै भक्कानो छुटाइदिन्छ । उपन्यासले प्राचीन भारतीय समाजदेखि लिएर तत्कालीन नेपाली समाजको राजनीतिक–सामाजिक संरचना बुझ्न मद्दत गर्नुका साथै त्याग, बलिदान, निष्ठा र प्रेमका गहिरा अर्थहरूलगायत मानवीय मूल्यहरू सिकाउँदछ ।
उत्तरवैदिक कालमा दास प्रथाको अवस्थाको जीवन्त चित्रण र दास प्रथा उन्मुलनको लागि भए गरिएका अनौठा उदाहरणहरू दिँदै वर्तमान समाजलाई सकारात्मक सन्देश छोड्न पनि यो उपन्यास सफल छ । पौराणिक कथालाई आधुनिक दृष्टिकोणमा पुनःसंरचना गर्ने कलाकै कारणले यस उपन्यासले मदन पुरस्कार प्राप्त गरेको हुनुपर्छ । नेपाली साहित्यमा यस्तै प्रकारको उपन्यास अर्को भेटाउन कठिन देखिन्छ । यसको भाषा र कथनशैली अत्यन्तै आकर्षक भएकोले यसका पाठकले साहित्यिक सौन्दर्य अनुभूत गर्न सक्छ । हाम्रो समाजमा मिल्दै नमिल्ने र अनौठो लाग्ने घटनाहरूको वर्णनले ठाउँठाउँमा दिमाग हल्लाइदिन्छ । अधिकांश ठाउँमा लम्बेतान वर्णन पनि परेको हुँदा पढ्दा पढ्दै अधैर्य पनि उत्पन्न हुन्छ । यो उपन्यास साहित्यिक शब्दहरू र शब्दावलीहरूको विशाल भण्डार भएकोले लेखकहरूको लागि पनि उपयोगी छ । माधवी उपन्यास वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले लेखेका हुन् । साझा प्रकाशनबाट वि.सं. २०३९ मा प्रकाशित यो उपन्यासले सोही वर्ष मदन पुरस्कारसँगै साझा पुरस्कार पनि जित्न सफल भएको थियो ।









प्रतिक्रिया दिनुहोस्