गणेशा कार्की
मनमायाको तीन जनाको सुखी परिवार थियो । लोग्ने पदम र एक छोरा प्रशान्त । धेरै सन्तान जन्माउँदा हुर्काउन, पढाउन, लेखाउन गाह्रो हुन्छ भनेर एक छोरामा मात्र चित्त बुझाएका थिए । उनीहरू गरिब भनेर मागी खाने पनि हैन, धनी भनेर नोकरचाकर चलाउने खालका पनि थिएनन् । मनमायाको लोग्नेको हुलाकमा हलकाराको जागिर थियो । गाउँमा माटो खेलाइ मुठीको उपजा हुने ठाउँमा बाहिरको दुईचार पैसा आयआर्जन हुँदा ठुलै देखिन्थ्यो । जागिर खाने मान्छेसित पैसा हुन्छ भनेर कैयौँले सरसापट मागेर हैरान पारेका थिए । सापट माग्दा नदिएपछि मुख नै बन्द भएका थिए कति छिमेकी र आफन्तका । पदमको जागिर थियो सानै भए पनि । मनमाया जागरिली थिइन् । उनले आफै पनि बनीबुतो गरेर दुईचार पैसा गोजीखर्च जुटाउने गर्थिन् । उनको भेरी नदीको किनाराको खोप्री भन्ने ठाउँमा अलिकति जग्गा थियो । बढी मेहनत गर्ने भएकोले उब्जनी राम्रै हुन्थ्यो त्यही बारीमा पनि । उनको बारीमा बलौटे माटो भएकोले बदाम खेती एकदमै सप्रेको हुन्थ्यो । उनले चामल र दाल खरिद गरेर तथा आफ्नै बारीका बदाम लिएर जाजरकोट बजारमा बेच्न जान्थिन् । यस्तै मेहनती हात र पैसा जम्मा गर्न सक्ने मितव्ययी बानीले मनमायाका लोग्नेस्वास्नी छोराहरू पढाउन घरबाट धेरै टाढा नेपालगन्ज हँदै काठमाडौँसम्म बिनाअप्ठ्यारो पठाउन सक्ने भएका थिए ।मनमायाको छोरा प्रशान्त काठमाडौँ पढ्न जाँदा उनले एक्लै सोच्थिन्, ‘कता होला त्यो काठमाडौँ ?’ आत्तिदै कैनकाँडा, जक्तपुर, कालीमाटीका लेकतिर हेरेर बर्र आँसु खसाल्थिन् । उनलाई के थाहा कता हो काठमाडौँ ? असाध्यै टाढा लाग्थ्यो उनलाई आफ्नो छोरा पढ्ने त्यो काठमाडौँ ।
कहिले उनले लोग्नेलाई भन्थिन्, ‘तिमी काठमाडौँ नगएरै जागिर खानसक्ने भयौ । हाम्रो छोरालाई किन काठमाडौँ जानु परेको ? तिमी नै त हौला नभएको नाटक गरेर छोरालाई काठमाडौँ पठाउने ।’
पदमले कहिले सम्झाउँदै र कहिले रिसाउँदै भन्थे, ‘तेरा तेरौँताले पनि म वाक्क भाको छु । मायाले पुग्छ ? त्यही खोप्रीको बलौटे माटोमा जोतेर, बदाम लगाएर तेरा र मेरा जस्ता दुःख पाइरहने बनाएको भए खुसी हुन्थिस् त ? त्यै त आइमाई भन्छन् । कुरा त टाढाको पो सोच्नुपर्छ । मायाले बिगार्ने होइन, सपार्ने पो गर्नुपर्छ । बिगार्ने माया त दुश्मनी भयो क्यार ।’ मनमायाले हरदिन सोच्थिन् ‘उनको छोराले दुःख नपाओस् ।’ ‘कस्तोलाई सुख भन्ने ?’ फेरि उनले यस्तै सोचेर टोलाउथिन् । यस्तै गर्दागर्दै रात, दिन, महिना र वर्ष बित्दै गए । उनले हरेक दिन ‘छोराको चिट्ठी ल्याएनौ हुलाकी ?’ भनेर सोध्थिन् तर चिट्ठी आएको हुँदैनथ्यो । कहिले होस् हराए झैँ हाँस्थिन् भने कहिले छोराको चिट्ठी पर्खेर न्यास्रो अनुहार बनाउथिन् । लोग्नेले भन्थे, ‘त्यही चिट्ठी लेख्ने काम मात्र हुँदो हो त उसको ? पढ्न गएको छोराको काम पढ्ने हो । वर्षमा एक पटक घर आकै छ । महिनामा एक पटक फोन गर्न पाकै छेस् । कति आत्तिन्छेस् ? धेरै माया गरेको ग¥यै ग¥यो भने पढ्ने मन लाग्दैन के घरको मायाले उसलाई ।’ मनामायाले मनमनै सोच्थिन्, ‘हुन त आमाबाबुको माया सन्तानहरूमा, सन्तानको माया ढुङ्गापहरामा भन्छन् । ठिकै त हो ।’ खोप्रीका बदाम, तिहारका रोटी छोरालाई राखिदिएर तिनै नासोलाई आत्तिदै ओल्टाइपल्टाई पार्थिन् । यति मात्र नभएर एक दिन मनमायाको छोरा डिभी परेर अमेरिका जाने खबर केही खुसी र केही स्वास्नीलाई झन पिर पर्ला भनेर डराउँदै उनका लोग्नेले बताए । उनले लोग्नेलाई सोधिन्, ‘के हो यो डिभी भनेको ?’
पदमले भने, ‘डिभी भनेको अर्को मान्नमी अमेरिका गएर सधैँको लागि उतै बस्ने हो । अरू कुरा धेरै म पनि जान्दिन । ऊ अब घर आउछ र उसैले बताउछ ।’
यो सुनेर मनमाया झन रुन थालिन् । उनले रुँदै भनिन्, ‘कहिले आउछु भन्या छ ? कति दिन बस्छु रे घरमा ?’ पदमले भने, ‘त्यो भनेको छैन । कति दिन बस्छ ? ऊ आएपछि थाहा पाइहाल्छेस् नि ! कति पिर गर्छेस् ? पिरले आफै रोगी भइन्छ । ऊ राम्रो भएको तलाईँ हेर्ने मन छैन ? धेरै पिर ग¥यो भने त्यसले घरका अन्य परिवारलाई पनि दुःखी बनाउछ । यो बानी राम्रो होइन ।’ ‘के गरूँ त पापी मन मान्दैन । नाटक गरेको होइन मैले ।’ मनमाया भन्थिन् । ‘मन बुझाउने त हो । कसलाई पिर लाग्दैन र ? हाँसेको अनुहार सबलाई हेर्न मन पर्छ । रोएको कसैलाई मन पर्दैन । खुसी हुन प्रयास गर्नुपर्छ । आफ्नो मन आफैले बुझाउने पो हो त । यस्तो खुसीमा पनि दुःखी हुने कस्तो अभागी स्वास्नीमान्छे होस् क्या तँ ?’ केही दिनपछि घरमा आएर आमाबाबुसित भेटघाट गरेर मनमायाले नजा भनेर रुँदा कराउँदा पनि नमानेर छोरा प्रशान्त अमेरिका गयो । जसरी चौरजहारी छोडेर काठमाडौँ जाँदा ‘फर्केर आउछु क्या आमै । यही गाउँको स्कुलमा मास्टर हुने गरी पढ्छु ।’ भनेर गएको थियो, अमेरिका जाँदा पनि त्यस्तै वचन दिएर गयो । फर्कँन्छु भनेर गयो । अमेरिकामा पढेर आफ्नै देशमा जागिर खाने गरी आउँछु भनेर गयो । आफ्नो छोरा भनेर के गर्नु, जीवन आआफ्नो हुने रहेछ । उनले माया त मान्छिन् तर फर्केर आउला भनेर आशा मान्दिनन् किनकि ‘भने जस्तो हुन्न जीवन, सोचे जस्तो हुन्न जीवन ।’ भन्छन् गीत गाउनेले । त्यस्तै रहेछ साँच्ची मान्छेको वास्तविक जीवन । मनमायालाई चिन्ता र पिरको भारी बोकाउँदै समयले पखेटा फिजाउँदै गयो । उनको छोरा अमेरिका गएको पनि औंला भाँचेर गन्दा छ वर्ष पुगेछ । उनले औंलातिर हेरेर लोलाउथिन् र लामो शास तान्थिन् । यस्तो गर्दागर्दै उनको छोराले अब उतै विवाह गरिसक्यो रे भन्ने सुनिन् मनमायाले । उनलाई अब आफ्नी बुहारीलाई हर्ने तीब्र इच्छा हुनथाल्यो । कस्ती होली बुहारी भनेर आत्तिन्थिन् । आत्तिदाआत्तिदै केही वर्ष अरू बिते । उनले सुनिन् कि उनका दुईओटा नातिहरू भइसके । उनले नातिका अनुहार फोटोमा देखिन् । हातले छाम्न र काखमा लिन मन लाग्यो । आँखाले हेरेर मन बुझेन ।
पढ्नमा ओमका नाम टोम नजान्ने मनमाया आजभोलि काम पाएर काजी भएकी छिन् । छोराले घरमा इन्टरनेट जोडिदिएको छ । माया लाग्दा नेटबाट छोराबुहारी र नातिका अनुहार हेर्न पाएकी छिन् । केही नहुनु भन्दा त्यो पनि धेरै ठुलो कुरा हो भन्ने लाग्छ उनलाई । घरघरमा इन्टरनेट, हात हातमा मोबाइल भन्ने नारा लगाएर यो सुविधा दिने नेतालाई उनले धेरै धेरै धन्यवाद दिन्छिन् । तारबाट जति कुरा गरे पनि उनको मन अघाउँदैन । अघाओस् पनि कसरी, चुला वरिपरि बसालेर घन्टौँ कुरा गरेको छोरा यसरी अलप भएको अवस्थामा । आँखामा छोराबुहारी र नातिका तस्बिर नाचिरहन्थे, पानी पँधेरो, घाँसदाउरा गर्दा पनि । उनले आफै प्रश्न गर्थिन् आफैसँग, ‘एकन्ताका त मैले छोराका लागि काम गर्छु भन्थेँ । आजभोलि त मैले मेरा कालेलाई पाल्नु पर्दैन । तर पनि किन उस्तै कामको धपेरी ? मैले कसका लागि गर्छु काम ?’ उनले आफ्नी आमाले भनेको पनि सम्झन्थिन्, ‘काम मान्छेले आफ्नो पेटका लागि गर्नुपर्छ ।’ उनले भनेको कुरा पनि ठिकै रहेछ । आफूलाई पहिले जस्तै लखतरान काम गरेको पाउँदा कहिलेकाहीँ दिक्क पनि हुन्थिन् । उनी सुत्दा उता छोराबुहारी उठ्छन् रे । उता उनीहरू उठ्दा यता आफू सुतिन्छ रे । यस्तै कुरा सुन्थिन् उनी । कहिलेकाहीँ मध्ये रातमा ब्युँझिएर सोच्थिन्, ‘मेरो काले अहिले के गर्दै होला ? काम गर्दागर्दा भोकाएको होला । कस्तो के काम गर्दै होला ?’ उनी ओछ्यानमा कति रात नसुतेर बिताउछिन् । कहिलेकाहीँ यो पाप हो कि धर्म भनेर सम्झँदै रुन्छिन् । अब एक ज्यानमा तीन थपिए उता अमेरिकातिर । मनमायालाई मायामाथि मुहुनी थपियो । साउँभन्दा ब्याजको माया भने झैँ छोराको माया त आफ्नो ठाउँमा छँदै छ, त्यसैमा नातिहरू र बुहारीको मायाले उनलाई गाँजको छ झन अब । मोबाइलको भिडियोबाट उडेर जाऊँ कि गुडेर जाऊँ झैँ भएर उनी अत्तालिन्छिन् । आफ्नो घरका सबै कुरा उनले छोराका सन्तानलाई देखाउछिन् । उनले दसैँलाई भनेर कहिले कुखुरा, कहिले खसी पाल्छिन् तर काट्दा एक हात आँसु र एक हात गाँस गरेर दसैँ कहिल्यै रमाइलो गरी खुसी ल्याएर आउन सक्दैन ।
उनले दसैँको रातो टीका र पहेँलो जमरामा आफ्नै छोराका औँला र निधार चल्मलाएको देख्छिन् । अहिले पनि छोराको भाग भनेर जमरा पाँच पूर्णेसम्म स्याहारेर राख्छिन् । यसरी चलिरहेको छ उनको जीवन, उनको बँचाइ । ‘मनको बह कसैसित नकह’ भने जस्तै कति बिलाप सुनाउनु अरूलाई । त्यसैले दबाएर अँचेटेर राख्छिन् अब पीडा आफ्नै मनभित्र । उनका नातिहरूले त्यहाँबाट नबुझिने गरी बोलेर ‘के छ ?’ भनेको सुन्छिन् र मख्ख पर्छिन् । एक पटक दसैँलाई भनेर ल्याएको कुखुरा देखाएकी थिइन् नातिलाई । त्यही सम्झेर नातिले अघिपछि पनि ‘कुखुरा खोइ ?’ भनेको उनले सुनिरहन्छिन् । नातिहरूलाई देखाउन भनेर शब्दबाट नै माया फेर्न उनले एउटा कुखुरोल्याएर पालिन् । त्यही कुखुरो नाातिहरूलाई देखाएर आफ्नो माया साट्न थालिन् । कुखुरो किनेर नातिहरूलाई देखाउँदा उताका नाति र बुहारीले त्यो कुखुराको नाम के राख्ने भनी छलफल गरेर उतैबाट नाम राखिदिए ‘खैरी’ । अब त्यो भाले पंक्षी नभएर ‘खैरी’ भयो । ‘खैरी’लाई मनमायाले मान्छेको रूपमा पो देख्न थालिन् । त्यो ‘खैरी’ पनि निकै स्याहारसम्भारले गर्दा हलक्क बढ्यो । मनमायाका लोग्नेस्वास्नीसँगै भित्रबाहिर गर्नथाल्यो । आएर काखमा बस्न थाल्यो । दिउँसो यसो पल्टेको समयमा खाटको नजिकै आएर बच्चाले झैँ कुर्न थाल्यो । बिहानै तीन बजे बासेर मनमायाका दुई जनालाई फूर्तिलो बनाइदिन थाल्यो । ‘खैरी’ अब पूरा उमेरको भयो । पालिरहन पनि नसकिने भयो । काट्ने विचार आउने बित्तिकै मनमा पाप गरेको जस्तो अनुभव हुने र माया लागे जस्तो हुने भयो । छोराछोरी जस्तो लाग्न थाल्यो । ‘नखाऊँ त दिनभरिको सिकार, खाऊँ भने कान्छा बा’को अनुहार ’ जस्तो हुन थाल्यो । छोराबुहारी र नातिहरूको माया आधा त नातिहरूलाई देखाउन भनेर पालेको कुखुरा ‘खैरी’मा स¥यो ।
उनीहरूको छोरा पनि शिवपार्वतीको वरिपरि गणेश घुमे झैँ कहिल्यै टाढा नजाने छोरा आज टाढा मात्र हो र ? सात समुद्र पारि गएको देख्दा यस्तो पनि हुँदोरहेछ भनेर मनमाया टोलाउने पनि गर्थिन् । आजभोलि नातिका लागि पालिदिएको ‘खैरी’ को त्यस्तै आफ्नो वरिपरि घुम्ने बानीले छोराको बालापन सम्झाइदिएको छ । त्यसैले झन ‘खैरी’ प्यारो भएको छ । त्यसरी आमाबाबुको गणेश भएको छोरा सपनाबाहेक अघिपछि भेट्न नसक्ने बिराना मान्छेका देशमा गएको पीडाले मनमाया व्याकुल हुन्छिन् । सपना पनि चाहेको बेलामा कहाँ छोराको तस्बिर ल्याएर उपस्थित हुन्छन् र ? यो सपनासँग पनि मनमाया दुःखी हुन्छिन् । त्यसमा पनि जताततै फिजिएको मायाको बल्छीमा अर्को ‘खैरी’ को माया आएर बल्झियो, मनमायाका मनमुटुमा । आजभोलि यो माया गर्ने मन दुःख दिने मन हो कि सुख दिने मन हो भनेर मनमाया रनभुल्लमा छिन् । छोरा, बुहारी र नातिहरूको माया ‘खैरी’मा सर्दा त्यो पंक्षी त आजभोलि असाध्य प्यारो भएको छ, ज्यानभन्दा पनि प्यारो ।









प्रतिक्रिया दिनुहोस्