राजेन्द्र प्रसाद धिताल
उत्तरतर्फ चुरे पर्वतका हरिया थुम्का, दक्षिणमा भारतीय भूभागबाट अलग्गै हुन ठडिएका जङ्गे पिलरहरु, पूर्वमा हिमालको निर्मल जल प्रवाह सहित वगेको रापती नदी र पश्चिममा भारतीय सीमा छुट्याउदै बहने महाकाली नदी विचको तराईको उर्वरा भूभागको नाम हो नयाँमुलुक । प्राकृतिक सौन्दर्य र वैभवले भरिपूर्ण यो क्षेत्र अन्तर्गत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरु पर्दछन् । पश्चिम नेपालको तराई क्षेत्रमा रहेको यो ठाउँ इतिहासको प्राचीन कालखण्डमा नेपालकै अविछिन्न भूभागका रुपमा रहे पनि समयक्रमले नेपालको लागि यो भूमि नयाँ बन्न पुग्यो र अहिले यो नयाँमुलुकको नामबाट परिचित छ । नेपाल एकीकरण हुनुभन्दा पहिले यो क्षेत्र नेपालका विभिन्न वाइसी राज्यहरुको अधिनमा रहेको पाइन्छ । नेपालको शक्तिशाली खस साम्राज्यको विघटन हुनु पूर्व यो क्षेत्र सिंजा साम्राज्यको मातहतमा रहेको इतिहासकारहरुको भनाइ छ । बर्दियामा रहेको दानव ताल र कैलालीमा रहेको मलवारा फाँटा जस्ता ठाउँका प्राचीनताले उक्त कुरालाई पुष्टि गर्दछन् । वि।सं। १८०० तिरबाट गोरखाका राजा पृथ्वी नारायण शाहले बाइसी चौविसी राज्यहरुलाई एकीकृत गर्दै विशाल नेपाल निर्माण गर्ने अभियान प्रारम्भ गरे । अल्पायुमै निधन भएकोले आफ्नो जीवनकालमा उनको अभियानले पूर्णता पाएन । उनको अधुरो कामलाई उनका उत्तराधिकारीहरुले जारी राखे । उनी पछि राजा भएका उनका जेठा छोरा प्रताप सिंह शाहको पनि अल्पायुमै असमयीक निधन भयो ।
उनका नाबालक छोरा रणवहादुर शाह नेपालका राजा भए । रणवहादुर शाहकै पालामा नेपाल एकीकरण अभियानले गति लियो । रणवहादुर शाहका काका तथा पृथ्वीनारायण शाहका छोरा वहादुर शाहले पश्चिम नेपालको एकीकरणलाई तीब्र रुपमा अघि बढाए । यिनैको पालामा पश्चिम नेपालका धेरै भूभागहरु नेपालको मातहतमा आए । विशेषगरी पर्वत, गुल्मी, अर्घा, खाँची, रुकुम, प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, कुमाउ गढवाल हुँदै सतजल नदी पारिसम्म गोरखाली फौज पुगेको पाइन्छ । यसैक्रममा वि।सं। १८४६ तिर यो क्षेत्र एकीकृत नेपालमा समावेश भएको हो । यसै वीच वि।सं। १८७१ मा अंग्रेज नेपालबिच युद्ध शुरु भयो । युद्धमा नेपाल पक्ष पराजित भएकोले १८७२ मा भएको सुगौली सन्धीमा नेपालले आफ्ना धेरै भुभागहरु गुमायो । उक्त सन्धी अनुसार खजहनी, स्युराजदेखि पश्चिम र महाकाली नदी पूर्वका चुरे पर्वतदेखि दक्षिणपट्टिका सम्पूर्ण भूभाग नेपालले गुमायो र यो क्षेत्र तत्कालीन इष्ट इन्डिया कम्पनी अर्थात अंग्रेज सरकारको अधिनमा गयो । सन १८५७ मा भारतमा अंग्रेज विरुद्ध सशस्त्र विद्रोह शुरु भयो । झाँसीकी रानी लक्ष्मीबाई, तात्या तोपे आदिको नेतृत्वमा शुरु भएको सैन्य विद्रोहले ठूलो रुप लिन थाले पछि अंग्रेजहरुले नेपालसँग सहयोग मागे । नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जंगवहादुर राणाले भारतीय स्वतन्त्रता संग्राम दवाउन उल्लेखनीय सहयोग गरे । उनी स्वयम् उपस्थित भएर अंग्रेज सरकारलाई सैन्य सहयोग गरेका थिए । जंगवहादुुर राणाको सहयोगले अंग्रेजहरु खुशी भए र उनीहरुले उक्त सहयोगको बदलामा उपहार स्वरुप नेपाललाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका तराईका भूभाग फिर्ता गरे । यसरी नेपालमा फिर्ता गरिएको भूभागलाई नयाँमुलुक भनियो ।
सन् १९६० मा नयाँमुलुक ९बाँके, बर्दिया, कैलाली र कञ्चनपुर० सहितको भूक्षेत्र नेपाल मातहतमा आएपछि यस क्षेत्रमा व्यवस्थित वसोवासको उपक्रम शुरु हुन थाल्यो । जंगवहादुरले यस क्षेत्रलाई नयाँमुलुक नाम दिएर बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ४ जिल्लामा विभाजन गरे । यसको केन्द्रको रुपमा बाँकेको नेपालगञ्जलाई प्रशासनिक केन्द्र तोकी व्यवस्थित वजारको प्रकृया शुरु गरे । चार जिल्लाको समतल भूखण्डलाई त्यतिबेला प्रगन्ना, टप्पा, मौजा र गाउँ गरी विभाजन गरिएको पाइन्छ । शुरुवातमा यस क्षेत्रको अधिकाँस उर्वरा जमिनलाई जंगवहादुरका भाई तथा सन्तानहरुका नाममा विभाजन गरी दर्ता गरिएको पाइन्छ । पछिल्ला दिनहरुमा जग्गाजमिनमा जनताको स्वामित्व स्थापित हुँदै यस क्षेत्रमा वस्ती विस्तारको क्रम शुरु भएको देखिन्छ । विशेष गरी सन् १९५९ देखि शुरु भएको औलो उन्मुलन अभियानले यस क्षेत्रको वस्ती विकासमा उल्लेखनीय क्रान्ति ल्याएको देखिन्छ । औलो उन्मुलन कार्यक्रमले यहाँको जनजीवनमा व्यापक प्रभाव पारेको छ, पहाड तथा हिमालबाट तराईमा स्थायी वसोवास गर्ने क्रम यसपछि मात्र वढेको पाइन्छ । औलो उन्मुलन हुनुभन्दा पहिले पहाड र हिमालबाट मानिसहरु हिँउदमा तराई झर्ने र जाडोमा फर्केर पहाड जाने गर्थे । औलो उन्मुलनको प्रभावले नयाँमुलुकमा बसाईसराई बढ्दै जान थाल्यो । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका उर्वरा फाँटहरुमा पुनर्वासको व्यवस्था गरियो र व्यवस्थित वस्ती विकासको थालन भयो । पहिले बाँझा रहने खेतहरुमा व्यवस्थित खेती प्रणालीको शुरुवात भयो । जनसंख्या बढ्दै जाँदा बाटाघाटको विकास बढ्दै जानथाल्यो ।
पूर्वपश्चिम राजमार्ग र हुलाकी सडक निर्माणले सडकका चोकचोकमा शहरीकरण शुरु भयो । औद्योगिकरण बढ्यो, स्वास्थ्यको पहँुच विस्तार भयो, शैक्षिक विकासले गति लियो । महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज, बबई बहुमुखी क्याम्पस, गुलरिया, कैलाली बहुमुखी क्याम्पस, धनगढी जस्ता शैक्षिक संस्थाहरुले यस क्षेत्रलाई शैक्षिक गन्तव्यको रुपमा विकास गरे । गाउँ गाउँमा विद्यालय तथा क्याम्पसहरु खुले । शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थामा आएको सुधारको परिणाम स्वरुप यहाँका मानिसहरुको जीवनस्तरमा सुधार आयो र समयक्रमसँगै नयाँ मुलुक गुलजार हुँदै गयो र समृद्धिको बाटोमा अघि बढ्यो । नयाँमुलुक प्राकृतिक रुपमा सुन्दर र रमणीय भूक्षेत्र हो । रापती, बबई, कर्णाली, मोहना र महाकाली नदी जस्ता नदीहरुले सिंचित यो क्षेत्र अन्नको भण्डार हो । यस क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, घोडाघोडी राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता अनमोल प्राकृतिक सम्पदाहरु रहेका छन् । बाँकेको नेपालगञ्ज र कोहलपुर, बर्दियाका गुलरिया र राजापुर, कैलालीका धनगढीका र टिकापुर र कञ्चनपुरका महेन्द्रनगर र बेलौली जस्ता शहरहरुले यस क्षेत्रमा आधुनिकताको झलक प्रस्तुत गरेका छन् । कञ्चनपुर जिल्लामा रहेका झिलझिला ताल, दोधारा चाँदनी पुल, रानी ताल र बेदकोट ताल, कैलालीका घोडाघोडी क्षेत्र, टिकापुर पार्क, गोदावरी र शिवपुरी धामहरु, बर्दियाका इन्टेक क्षेत्र, कर्णाली नदीका चिसापानी र कोठियाघाटस्थित पुलहरु, ठाकुरद्वारा, कोटही र बगलामुखी मन्दिर, कृष्णसार क्षेत्र त्यसैगरी बाँकेको सुप्रसिद्ध बागेश्वरी मन्दिर, जुँगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाह मस्जिद, महेन्द्र पार्क, रानीतलाउ जस्ता ठाउँहरु यस क्षेत्रका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हुन् ।
जातीय धार्मिक तथा सांस्कृतिक विविधता यस क्षेत्रको विशेष पहिचान हो । नयाँमुलुकमा लगभग सिंगै नेपालको जनमानसको उपस्थिति देखिन्छ । यस क्षेत्रले सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्दछ । विविधता विच एकता र एकता विच विविधता यस क्षेत्रका विशेषता हुन् । महाकाली, सेती, कर्णाली, भेरी र रापतीको चिसो पानी जसरी यहाँको धर्तीमा भिजेको छ, त्यसैगरी पहाडी हिमाली सभ्यता समेत यहाँको रैथाने थारु तथा मधेसी संस्कृतिसँग घुलमिल भएको छ । थारु, मधेसी, मुुसलमान, दलित, गुरुङ्ग, मगर, नेवार र खस आर्य जस्ता समुदाका मानिसहरुको वसोवास भएको यस क्षेत्रमा थारु समुदायको बाक्लो उपस्थिति छ । सांस्कृतिक विविधताले भरिपूर्ण भएर पनि यो क्षेत्र सामाजिक सद्भाव र सहिष्णुताको लागि नमूना ठाउँ मानिन्छ । परापूर्व कालदेखि यहाँ विभिन्न जातजातिका मानिसहरु मिलेर बसेको पाइन्छ । विगत राणा तथा पञ्चायत कालमा यस क्षेत्रमा केही सीमित सामन्त तथा जिमिन्दारहरुको वोलवाला रहेता पनि कालान्तरमा यो नेपालका लगभग देशभरिका बासिन्दाहरुको संगमस्थल बन्न पुगेको छ । यस क्षेत्रमा तराई र हिमाल, पहाडका बासिन्दा वीच परापूर्व कालदेखि नै अन्योन्याश्रित सम्वन्ध देखिन्छ । हरेक हिउँदमा पहाड, हिमालबाट मानिसहरु घोडा, भेडा र भैसी पाल्नका लागि तराई झर्थे । कतिपय हिमाल पहाडका मानिसहरु हिमाली जडीवुटी, घिउ, फलफूल लगायतका सामानहरु तराईमा बेचेर जीवनयापन गर्थे । कोइलाबास, नेपालगञ्ज, राजापुर र सत्ती बजार, धनगढी र महेन्द्रगनर बजार धेरै पहिलेदेखि नै चलनचल्तीमा आइसकेका थिए ।
यस क्षेत्रको विकास उन्नयन र समृद्धिका लागि सबै समुदायले समान योगदान, भूमिका र श्रम गरेका छन् । नेपालको आधुनिकीकरण र लोकतान्त्रिक चेतना निर्माणका लागि यस क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । राणा शासन विरुद्धको सशस्त्र क्रान्तिदेखि शुरु भएको लोकतान्त्रिक आन्दोलनको गति पञ्चायत व्यवस्था विरुद्धका विभिन्न आन्दोलन, २०४६ सालको ऐतिहासिक जनआन्दोलन, २०६२÷०६३ सालको गणतान्त्रिक आन्दोलन, आफ्नो हक अधिकार स्थापित गर्नका लागि भएका मधेशी थारु लगायतका विभिन्न आन्दोलनहरुमा यस क्षेत्रले सकृय सहभागिता र उपस्थिति जनाएको छ । नेपाली समाजलाई समुन्नत बनाउन र मुलुकमा स्वतन्त्रता, समानता र भातृत्वको भाव स्थापना गर्न यस क्षेत्रले सर्वथा अगुवाई गर्दै आएको छ । नयाँमुलुकले आधुनिकताको स्पन्दनलाई छोएको छ, छामेको छ । राजनीति, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, साहित्य, खेलकुद, पत्रकारिता जस्ता अनेक विधामा नयाँमुलुकले सिंगो देशलाई नेतृत्व दिने गरेको छ । कुनै समय कालापानी भनेर शासकहरुले दण्डित गरेर पठाइने ठाउँको परिचय पाएको यो क्षेत्र आज मुलुककै सुन्दर गन्तव्य बनेको छ । नेपालको अहिलेको राज्यको संरचना अन्तर्गत नयाँमुलुकका चारवटा जिल्लाहरु लुम्विनी र सुदुपश्चिम गरी दुईवटा प्रदेशमा विभाजित छन् । बाँके र बर्दिया लुम्विनी प्रदेश अन्तर्गत छन् भने कैलाली र कञ्चनपुर सुदुरपश्चिम प्रदेशमा रहेका छन् । एकै प्रकारको भू–बनौट, समान प्रकृतिका जातजातिहरुको बसोबास, एकअर्कासँग प्राचीन कालदेखिको सुसम्वन्ध रहेको यो क्षेत्रका बासिन्दालाई अलग अलग प्रदेशमा राखिएको पीडा त्यति सान्दर्भिक र बैज्ञानिक मानिदैन । प्रशासनिक रुपमा अलग अलग प्रदेशमा रहे तापनि भावनात्मक रुपमा नयाँमुलुक एउटै भू–क्षेत्रको रुपमा अनुभूत गरिन्छ । कुनै समय अंग्रेजहरुले जंगवहादुरलाई गुनको बदलामा उपहार दिएको यो ठाउँ अहिले नेपालको समृद्धिको आधार बनेको छ र नेपाल राष्ट्रका लागि अनमोल बरदान सावित भएको छ ।









प्रतिक्रिया दिनुहोस्