नेपालगन्ज ।
युवा पुस्ताको आन्दोलनपछि र राजनीतिमा युवाहरुको प्रतिनिधित्व बढ्नुपर्ने बहस चलिरहेका बेला हुन लागेको आसन्न प्रतिनिधिसभाको निर्वाचनमा भएको उम्मेदवारीमा अघिल्लो निर्वाचनमा भन्दा कम युवाको प्रतिनिधित्व देखिएको छ । यद्यपि यसपटक अघिल्लोपटक तोकिएको युवा उमेर हद परिवर्तन गरेर ३५ वर्षमा सीमित गरिएको छ ।
अघिल्लोपटक ४० वर्षसम्मका लागि युवा मानिने मापदण्ड थियो । २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ कूल दुई हजार चार सय १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये सात सय ५९ जना ४० वर्षमुनिका थिए । जुन कूल उम्मेदवारीको ३० प्रतिशत हुन आउँछ ।
यसपटक प्रत्यक्षतर्फबाट निर्वाचित हुने एक सय ६५ सिटका लागि तीन हजार चार सय ८४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये ३५ वर्षमुनिका उम्मेदवारको सङ्ख्या पाँच सय ८३ जना छ । जुन कूल उम्मेदवारीको करिब १७ प्रतिशत मात्रै हुन आउँछ ।
२०७९ मा ४० वर्षमुनिका उम्मेदवारमध्ये १० जना मात्रै निर्वाचित भएर संसद्मा पुगेका थिए । यसपटक ३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका एक हजार ६ सय १० जना उम्मेदवार रहेका छन् भने ५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको कूल सङ्ख्या एक हजार ९० रहेको छ । ६५ वर्षमाथिका उम्मेदवारको सङ्ख्या दुई सय एक जना रहेको छ ।









प्रतिक्रिया दिनुहोस्