महानन्द ढकाल।
बालसाहित्यको जग विद्यालय हो । बालसाहित्य बालबालिकाले लेख्ने साहित्य मात्रै होइन बालबालिकाको उमेर, रुचि, बुझाइ र मानसिक स्तरलाई ध्यानमा राखी जो कोहीले सिर्जना गरिएको साहित्य बालसाहित्य हो । बालसाहित्यमा कथा, कविता, गीत, निबन्ध, नाटक, जीवनी, लोककथा, हास्य–व्यङ्ग्य तथा चित्रात्मक साहित्य समेत पर्छन् । बालसाहित्य केवल मनोरञ्जनको साधन मात्र होइन, यो बालबालिकाको व्यक्तित्व निर्माण, सोचको विकास र सृजनात्मक क्षमताको उजागर गर्ने महत्वपूर्ण माध्यम पनि हो । बाल्यकाल मानव जीवनको आधारशिला भएकाले यस चरणमा प्राप्त साहित्यिक अनुभवले भविष्यको जीवनदृष्टि निर्माणमा गहिरो प्रभाव पार्ने भएकोले बालबालिकाका लागि बालसाहित्य अनिवार्य तथा अपरिहार्य छ । वास्तवमा बालसाहित्य बालबालिकालाई लक्षित गरी लेखिएको साहित्य हो, जसले उनीहरूको कल्पनाशक्ति, जिज्ञासा, भावना र सोचलाई स्पर्श गर्छ । यस प्रकारको साहित्य सरल भाषा, रमाइला कथावस्तु, जीवनोपयोगी सन्देश र नैतिक मूल्यले भरिपूर्ण हुन्छ । बालसाहित्यमा बालबालिकाले आपूmलाई नजिकबाट देख्न सक्छन्, आफ्नै संसारको प्रतिबिम्ब भेट्छन् । यही कारण बालसाहित्य बालबालिकाको मन जित्न सफल हुन्छ । बालबालिकालाई साहित्य लेखनमा जोड्नु पर्दछ । उनीहरूलाई साहित्यमा जोड्नु पर्ने धेरै कारण छन् । पहिलो कारणः साहित्य लेखनले बालबालिकाहरूको अभिव्यक्ति क्षमतालाई मजबुत बनाउँछ । सोचाइलाई सिर्जनात्मक बनाउँछ । लेखन सिपमा निखारता ल्याउँछ । बोधगम्य बनाउँछ । साहित्य लेखनमा बालबालिकाहरूलाई सक्रिय बनाउन सकियो भने उनीहरुले आफ्ना विचार, भावना र अनुभवलाई शब्दमा उतार्न सिक्छन् । सुन्दर संसारको कल्पना गर्न पुग्छन् । राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवारी महसुस गर्न थाल्छन् । जुन कुराले बालबालिकाहरूलाई हरेक विचारमा गम्भीरता ल्याउँछ । प्रश्न प्रति डर हराउँछ । प्रश्नहरूलाई बोझको रुपमा भन्दा अवसरको रुपमा लिन थाल्दछन् र पाठ्यक्रमका प्रश्नहरूको उत्तर पनि सहज बनिदिन्छ । उत्तरमा मौलिकता आउँछ ।
दोस्रो कारणः साहित्यप्रतिको रुची तथा लेखन अभ्यासले सोच्ने शक्ति बढाउँछ । कल्पनाशिलतामा निखारता ल्याउँछ । सकारात्मक सोचको वृद्धि गराउँछ । हरेक उत्तर लेख्नका लागि केही न केही सोच्नैपर्छ, कल्पना गर्नैपर्छ । बोल्नका लागि पनि सोच्नुपर्छ, कल्पना गर्नुपर्छ । कतिले सोच्न सक्छन् तर त्यही कुरा लेख्न सक्दैनन् । सोचेका वा कल्पना गरेका कुराहरूलाई शब्दका रूपमा प्रस्तुत सहज बनाउने साहित्य लेखनले हो ।सोचेका वा कल्पना गरेका कुराहरू वा शब्दहरू के कसरी प्रस्तुत गर्ने भन्ने तरिका साहित्य सिर्जनाले सिकाउँछ । लेखन अभ्यासले सहज बनाउँछ । तेस्रो कारणः साहित्य लेखनले आत्मविश्वास बढाउँछ । जब बालबालिकाको रचना पढिन्छ, प्रशंसा गरिन्छ, तब उनीहरूभित्रको आत्मबल बलियो बन्छ । बालबालिकाहरूको आत्मबल बढाउन पनि बालबालिकाहरुका लागि साहित्य सिर्जना आवश्यक छ ।बालबालिकाहरूमा म पनि गर्न सक्छु भन्ने भावनाको विकास भयो भने उनीहरूमा जोस र जाँगर पलाउँछ । आत्मबल बढ्छ ।बालबालिकाहरूको आत्मबल बढाउनका लागि भाषा विषयका पाठ्यक्रमहरूमा साहित्यिक सामाग्रीहरूको प्रयोगको मात्रा उल्लेख्य रहेको पाइन्छ । विद्यालयमा अध्यापन गर्नका लागि तयार गरिएका पाठ््यपुस्तकमा सानो कक्षाबाट नै कथा लेख्न सिकाइएको छ । कविता र निबन्ध लेखनलाई प्राथमिकतामा राखिएको छ । पाठ्यक्रमले सिकाउन खोजिएको कुरा गुरुहरूले के कति सिकाउनु भएको छ त्यो फरक पाटो हो । व्यवहारिक छ वा सैद्धान्तिक त्यो समीक्षाको विषय हो । भाषा विषय अध्यापन गराउन गुरुहरू आपैm सोच्ने विषय हो । साहित्य लेखनमा संलग्न बालबालिकाहरूले केवल पाठ्यपुस्तकका कुरा मात्रै कण्ठ गर्देैनन्, उनीहरूले शब्द र अक्षरहरूमा प्राण खोज्छन्, दृष्टिकोण निर्माण गर्न पहल गर्छन् । यसले उनीहरूलाई भविष्यका जिम्मेवार नागरिक बनाउन सहयोग पु¥याउँछ । बोध क्षमतालाई वृद्धि गर्छ ।
बालसाहित्यले बालबालिकामा बहुआयामिक प्रभाव पार्छ । यसले उनीहरूको भाषिक विकासमा ठूलो भूमिका खेल्छ । नयाँ शब्द, वाक्य संरचना र अभिव्यक्तिको शैली सिक्न बालसाहित्य अत्यन्त उपयोगी हुन्छ । साथै, बालसाहित्यले नैतिक मूल्य, सामाजिक व्यवहार र जीवनका आधारभूत शिक्षा दिन्छ । यसकारणले पनि विद्यालयहरूले विद्यार्थीहरूलाई साहित्य लेखनमा जागरुक गराउनु पर्दछ । विद्यालयले साहित्य लेखनलाई हल्का रुपमा लिनु हुँदैन । देखाउनका लागि मात्रै भए पनि बालभित्ते पत्रिका प्रकाशन गर्ने जुन परम्परा रहदै आएको छ त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । विद्यालय केवल किताब पढाउने थलो मात्रै होइन, यो त बालबालिकाहरूको मनमा शब्द पूmलाउने बगैंचा पनि हो । यो बगैंचामा असल बीऊ रोपेर मलजल गर्न सकेमा वा राम्रो सिँचाइ गर्न सकेमा हरेक विद्यार्थीभित्र लुकेको सर्जक आफैं सुन्दर सिर्जना भएर मुस्कुराउँदै बाहिर निस्कने भएकोले विद्यालयलाई साहित्यको बगैंचा र शिक्षकलाई माली बन्ने अवसर प्रदान गर्नु पर्दछ । बालबालिका हरेक कुरामा उत्साहित हुन्छन् । उनीहरूले केही न केही लेखिरहेका हुन्छन् तर त्यतातिर कैयौं बाबुआमा, कैयौं शिक्षकहरू र विद्यालय प्रशासनको ध्यान गइरहेको हँुदैन । लेखनलाई परीक्षा नबनाएर अनुभूति पोख्ने माध्यम बनाइदिन सक्ने हो भने कलम आफैं चल्न थाल्छ । विद्यार्थीहरू जति शब्दसँग खेल्न थाल्छन् त्यति सिर्जनशील हुन पुग्छन् त्यसैले विद्यार्थीहरूलाई अक्षर र शब्दसङ्ग प्रेम गर्न उस्काउनु पर्दछ । मित्रता गाँस्ने वातावरण तयार गरिदिनु पर्दछ ।
बालबालिकाहरू आपूmले लेखेको देखाउन चाहान्छन् । पहिलो पटक आफ्नो रचना पत्रपत्रिकामा प्रकाशित भएको दिन उनीहरूलाई निद्रा लाग्दैन । उनीहरूको आँखामा आत्मविश्वास चम्किन्छ । बालबालिकाको यो मनोविज्ञान बुझेर बालबालिकाहरूलाई आफ्ना सिर्जनाहरू सुनाउने तथा प्रकाशन गर्ने “प्लेटफम“ हरू उपलब्ध गराइदिनु पर्छ । बालबालिकाहरू कसै न कसैको साहारा खोजिरहेका हुन्छन् । हात समाएर डो¥याउने जिम्मा अभिबभावकहरूको हुन्छ । विद्यालयहरूको हुन्छ । विद्यालयहरूले बालसाहित्य भित्ते पत्रिका प्रकाशनलाई प्राथमिकतामा राखेर विद्यार्थीहरूका रचनाहरूलाई स्थान दिन सक्छन् भने विद्यालयका विभिन्न कार्यक्रमहरूमा उच्च महत्वका साथ सहभागी बनाउन सक्छन् । यो काम कतिपय विद्यालयहरूले गर्दै आएका छन् । यो खुसीको कुरा पनि हो । पछिल्लो समय कोहलपुर बाँके बर्दिया लगायतका विभिन्न जिल्लाका विद्यालयहरूमा यो परम्पराले प्राथमिकता पाएको छ । शिक्षण संस्था तथा साहित्यिक संस्थाहरूले बालसाहित्यलाई महत्व दिदै कार्यक्रमहरू गर्ने गरेको पाइन्छ । बाँकेको कोहलपुर क्षेत्रभित्रको मात्रै कुरा गर्ने हो भने पनि यस क्षेत्रमा रहेका साहित्यिक संस्थाहरू हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान र कोहलपुर वाङ्मय प्रतिष्ठानले बालसाहित्य लेखन सम्बन्धि प्रशिक्षण तथा प्रकाशनमा सहजिकरण गर्ने प्रयास गर्दै आएका छन् । जसको कारण कोहलपुरका प्रायः विद्यालयहरूमा अलि बढी नै बालसाहित्य भित्तेपत्रिकाहरू नियमित प्रकाशन हुँदै आएका छन् । उदाहरणका लागि ज्ञानज्योति माध्यमिक विद्यालय चपरगौढीको “ज्ञान मञ्जरी”, बालज्योति माध्यमिक विद्यालय कोहलपुरको “बालप्रतिभा” गोरखा युनाइटेड माध्यमिक विद्यालयबाट प्रकाशित हुँदै आइरहेको “कदम” डाइनामिक माध्यमिक विद्यालय कोहलपुरको “बालसृजना”, जनज्ञानज्योति माध्यमिक विद्यालयका कौसिलानगरको “सूर्योदय” कृष्ण माध्यमिक विद्यालयको “फक्रिएका कोपिला” कोहलपुर माविको “बालबाटिका”, जीवनज्योति माध्यमिक विद्यालयको “बालछहारी”, बालशिक्षा मा.वि.भरैयाको बिहानी, ज्ञानज्योति माध्यमिक विद्यालय बगियाको ज्ञानबगिया लगायत धेरै जसो विद्यालयले प्रकाशन गर्दै आएका बालसाहित्य भित्ते पत्रिकालाई लिन सकिन्छ ।
बालबालिकाहरूका रचनाहरू बालसाहित्य भित्तेपत्रिकामा प्रकाशन गर्नका लागि उत्प्रेरित गरिदिने र बेलाबखत राम्रो प्रयास, सुन्दर भावना, कति राम्रो लेखाइ, मन छुने सिर्जना भनेर उत्साहित गर्न सकेमा बालबालिकामा साहस बटुलिन्छ । कविता, कथा लेख्ने र सुनाउने हिम्मत बढ्छ । हिम्मतले त संसार जितिने, अमरत्व प्राप्त गरिने भएकोले विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु पर्दछ । विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने वा बिद्यार्थीको हिम्मत जुटाउने काम अभिभावकहरूको हो, गुरूहरूको हो र विद्यालय प्रशासनको पनि हो । बालबालिकाहरू अग्रजको सिको गर्न मन पराउँछन् । उनीहरूलाई बाबुआमा र गुरूहरूको ठूलो प्रभाव परेको हुन्छ । जब गुरु आफैं कविता लेख्छन् र पढ्छन् । कथा लेख्छन् र सुनाउँछन् विद्यार्थीहरू दङ्ग पर्छन् । उनीहरूले लेखनलाई जीवन सम्झन्छन् र साथी मान्छन् । अमर बन्ने हुटहुटी बोकेर हिडिरहन्छन् । विद्यार्थीलाई साहित्य सिर्जना गर्न लगाउँदा सामान्य विषयबाट सिकाउनु पर्दछ । उनीहरू अभ्यस्त रहेका चिज, वस्तु, खोला, वन जङ्गल, पहाड, देश, गाउँ, टोल, परिवार, साथी, आफ्नै कथा, आमाको बोली, हजुरबुबाको सम्झना आदि विषयमा लेख्न प्रेरित गर्नु पर्दछ । जुन कुरा उसलाई सजिलो लाग्छ । बारम्बार सुनिरहेको हुन्छ । जब यी विषयहरू लेखनका विषय बन्छन् तब लेखन रूचिको विषय बन्छ त्यसपछि साहित्य मगमगाउँदो फूल बन्छ र अमरत्वको बाटोमा पाइला चाल्न थाल्दछ ।
यदि बालबालिकाहरूको हातमा कलम, मनमा विश्वास र वरिपरि माया राखिदियो भने हरेक बालबालिकाले आफ्नै तरिकाले साहित्य लेख्न थाल्छन् । जब लेखनमा बानी पर्छ वा लत बस्छ त्यसपछि नलेख भने पनि नलेखी बस्नै सक्दैनन् बालबालिकाहरू । त्यसैले बालबालिकाहरूलाई लेखनमा बानी बसाल्ने वा लत बसाल्ने कामलाई प्राथमिकतामा राख्नुुपर्दछ । लेखन संस्कृतिको विकास भयो भने पठन संस्कृृतिमा पनि वृद्धि हुन थाल्छ । बालबालिकाहरूको भविष्य सङ्गसङ्गै देशको भविष्य हिडिरहेको हुन्छ । बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न नसके देशको भविष्य कसरी सुनिश्चित हुन सक्छ ? बालबालिका र बालसाहित्यलाई केन्द्रमा राखेर विभिन्न गतिविधि गर्ने शैक्षिक संस्थाहरू हरेक क्षेत्रमा राम्रा देखिएका छन् । कोहलपुरमा रहेका शैक्षिक संस्थाहरूको इतिहासले यही भन्छ । यहाँका विद्यालयहरूले बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गराउन विभिन्न प्रयास गर्दै आएको अनुभव रहेको छ मेरो । कतिपय विद्यालयका बालसाहित्य भित्तेपत्रिकाहरूको विमोचन गर्ने अवसर जुटेको थियो भने कतिपय विद्यालयका भित्ताहरूमा टाँसिएका बालभित्ते पत्रिकाहरू हेर्न पाएको थिएँ । आपूm पनि शब्दको किसान भएको नाताले पनि कोहलपुरका विद्यालयहरूका गतिविधिहरू अनुभूति गर्न पाएको थिएँ मैले ।
पछिल्लो समयमा कोेहलपुरका विद्यालयहरूले बालसाहित्यमा विभिन्न गतिविधि गर्दै आएका छन् । बालसाहित्य भित्तेपत्रिकाहरूलाई विद्यालयहरूले आफ्ना अभिन्न अङ्गहरू जस्तै बनाएका छन् । कतिपय विद्यालयहरूले बालसाहित्य भित्तेपत्रिकाका दर्जनौं अङ्कहरू प्रकाशित भइसकेका छन् । यी पत्रिकाहरू विद्यार्थीहरूको ढुकढुकी बनिरहेका छन् । यी पत्रिकाहरूको निरन्तर प्रकाशनले यही कुरा बताइरहेको छ ।
कोहलपुरबाट प्रकाशित हुँदै आएका धेरै जसो बालसाहित्य भित्तेपत्रिकाहरूको अध्ययन गर्दा यी पत्रिकाहरूले विद्यार्थीको शैक्षिक, मानसिक र सिर्जनात्मकतामा सहयोग गरेको अनुमान गर्न सकिन्छ । पत्रिकामा प्रकाशित बालसाहित्य भित्तेपत्रिकाहरूले आफ्ना विचार, भावना र सपना लेखेर व्यक्त गर्ने अवसर दिएको छ । बोल्न नसक्ने विद्यार्थीले पनि लेखन मार्पmत आत्मविश्वास बढाउन पाएका छन् । विद्यार्थी रचनात्मक सोचतर्फ उन्मुख भएको देख्न सकिन्छ । शब्दभण्डार, वाक्य संरचना र अनुच्छेद निर्माणमा यस्ता पत्रिकाहरूको योगदान महत्वपूर्ण रहेको अनुमान गर्न सकिन्छ । विद्यार्थीहरूलाई पुस्तक तथा पत्रपत्रिकाप्रति सकारात्मक दृष्टिकोण विकसित गर्न सहयोग गरेका छन् ।
बिद्यार्थीहरूले जिम्मेवारी बोध र नेतृत्व क्षमताको अभ्यास गर्ने मौका पाएका छन् । बालबलिकाहरूमा सहकार्य गर्ने संस्कार विकसित भएको देख्न सकिन्छ । बालसाहित्य भित्तेपत्रिकाहरूले देशप्रेम, अनुशासन, कर्तव्य, सहयोग जस्ता मूल्य र मान्यताहरूमार्फत नैतिकता र सत्चरित्रता बल पुराएको पाइन्छ । समाजप्रतिको उत्तरदायित्व बोध गराएको पाइन्छ । यी पत्रिकाहरूले विद्यार्थीहरूलाई सचेत नागरिक बन्ने बाटोमा अग्रसर बन्न प्रेरित गरिरहेका छन् । यी पत्रिकाहरूले बालबालिकाहरूलाई साहित्यमा विस्तारै पाइला चाल्न सिकाइरहेका छन् । यी केवल विद्यालयका पत्रिका मात्रै होइनन् बालबालिकाहरूका लागि आत्मविश्वास, सिर्जनशीलता तथा समग्र व्यक्तित्व विकासको अभ्यासशाला पनि हुन् । यी पत्रिकाहरूलाई अझ व्यव्यस्थित र स्तरीय बनाउने तर्फ सबै विद्यालय परिवारहरूको ध्यान जानेछ भन्ने कुरामा म आशावादी छु । अन्त्यमा, बालसाहित्य बालबालिकाको चौतर्फी विकासका लागि महत्वपूर्ण छ । किताबी ज्ञानलाई मजबुत बनाउन बालबालिकाहरूलाई साहित्य लेखनमा सक्रिय बनाउन जरूरी छ । बालबालिकाहरूलाई उत्प्रेरित गर्ने काम गुरूहरूको नै हो । विद्यालयले वातावरण मिलाइदिनु पर्दछ । बालसाहित्य भित्तेपत्रिकाहरूले विद्यालयलाई थप एक पाइला अगाडि बढ्न सहयोग गर्ने भएकोले बालसाहित्यिक भित्तेपत्रिका निरन्तर प्रकाशनमा हरेक विद्यालयहरूको ध्यान पुग्न सकोस् शुभकामना ।









प्रतिक्रिया दिनुहोस्