टोप्ला क्षेत्र अझै सञ्चारविहीन



रामप्रकाश विक । जुम्ला ।

जिल्लाको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला क्षेत्रको थलालेमा नेपाल टेलिकमको टावर ठडिएको दुई वर्ष बित्यो । तर करोडौँको लगानीमा ठडिएको टावर दुई वर्षदेखि निष्क्रिय छ । जसले सरकारी लगानीको बालुवामा पानी हालेसरह भएको छ । टोप्लाको इमिल्चा, मछालबाडा र बुढाबाडा बस्तीका नागरिकले अझै पनि फोन गर्नकै लागि घण्टौँ पैदल हिँडेर डाँडा चढ्नुपर्ने बाध्यता छ ।

टावर निर्माण गर्दा उचित भौगोलिक अध्ययन नगरिँदा इमिल्चा आसपासका ३० घरधुरी पूर्णरूपमा सञ्चारविहीन छन् । बिरामी पर्दा एम्बुलेन्स बोलाउन वा विपद्को समयमा सूचना दिन समेत स्थानीय असमर्थ छन् । सञ्चार जस्तो आधारभूत सेवा सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय सरकारकै हो । तर यहाँ समस्या समाधान गर्ने इच्छाशक्ति नै नदेखिएको स्थानीयवासीको भनाइ छ ।

यसबारे वडाध्यक्ष नरबहादुर रावतले टेलिकमलाई पटक–पटक जानकारी गराएको दाबी गरे पनि गाउँपालिका नेतृत्वले यसलाई नीतिगत प्राथमिकतामा राख्न सकेको छैन । यता नेपाल टेलिकम जुम्लाका प्रमुख पारस पुजाराले आफू भर्खरै आएकोले समस्या बुझेर समाधानका लागि पहल गर्ने बताएका छन् । टोप्लामा टावर नहुँदा आकस्मिक स्वास्थ्य परामर्श र एम्बुलेन्स समन्वयमा बाधा पुगेको छ ।

प्रविधिको पहुँच नहुँदा विद्यार्थीहरू गाउँ छोड्न बाध्य छन् भने विपद्को समयमा सुरक्षा निकायसँग सम्पर्क विच्छेद हुने अवस्था छ । नेताहरुले निर्वाचनका बेला गरेका आश्वासन पूरा नहुँदा संघीयता र स्थानीय शासनप्रति नागरिकको वितृष्णा वढ्ेको छ । टावर बनेर पनि सेवा नआउनु केवल प्राविधिक त्रुटि मात्र नभई स्थानीय सरकारको समन्वयकारी भूमिका र जवाफदेहितामाथिको गम्भीर प्रश्न हो । टोप्लावासीले नेटवर्क खोज्न डाँडा धाउनुपर्ने बाध्यता अन्त्य गर्न आह्वान गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार