‘कोहलपुर छात्रा क्रिकेटर उत्पादनको उर्वरभूमि हो’



कोहलपुर ।

कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ सुरू भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आइतबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले दीप प्रज्ज्वल गरेर उद्घाटन गरेकी हुन् ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उपप्रमुख सुवेदीले कोहलपुरमा छात्रा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताइन् । प्रतियोगिताले नयाँ छात्रा क्रिकेटर जन्माउन भूमिका खेलेको उनको भनाइ थियो । कोहलपुर महिला क्रिकेटको उद्गम थलो रहेको बताउँदै उनले खेलकुदको उर्वरभूमिसमेत रहेको बताइन् ।

स्थानीय सरकारले पनि शिक्षा सँगसँगै खेलकुद विकासलाई प्राथमिकता दिएको उनको भनाइ थियो । उपमेयर कप अन्तरमाध्यमिक विद्यालय छात्रा क्रिकेट प्रतियोगिता हरेक वर्ष सञ्चालन हुँदै आएको भन्दै आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाइन् । यस्तै सहभागी छात्राहरूलाई अनुशासित रूपमा खेल प्रदर्शन गर्न उनले आग्रह गरिन् ।

कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले नगरपालिकाले कोहलपरलाई खेलकुदको हब बनाउने नीति लिएको बताए । सोहीअनुसार नगरपालिकाले खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा लगानी गरिरहेको उनको भनाइ थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले छात्रा क्रिकेट प्रतियोगिता नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित सुरू भएको बताए । नगर खेलकुद विकास समितिले कोहलपुरमा फुटबल, क्रिकेट लगायतका खेलहरू विकासका लागि काम गरिरहेको जानकारी दिए । प्रतियोगितामा कोहलपुर क्षेत्रका १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार