‘कमेडी दरबार’ को तेस्रो सिजन छिट्टै सुरू हुँदै



काठमाडौँ ।

लोकप्रिय नेपाली हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ को तेस्रो सिजन छिट्टै सुरू हुँदैछ । दोस्रो सिजन सकिएपछि तेस्रो सिजनको तयारीका लागि अहिले शो रोकिएको छ । शोका नियमित दर्शकहरू यसको नयाँ सिजनको व्यग्र प्रतिक्षामा छन् । शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार माघ महिनाभित्रै तेस्रो सिजनको प्रसारण सुरू गर्ने तयारी छ । उनले भने, ‘६ फेब्रुअरी (माघ २३) देखि प्रसारणमा ल्याउने योजना हो । हामी त्यसको तयारीमा जुटिसकेका छौँ ।’

भव्य सेट, नयाँ जज र कलाकार

विक्कीका अनुसार, दुई सिजनभन्दा तेस्रो सिजन अझ रोचक र आकर्षक बनाउने योजनामा टिम लागेको छ । अघिल्लाभन्दा भव्य सेटसहित तेस्रो सिजन प्रसारणमा ल्याउने टिमको तयारी छ । पहिलेकै स्थानमा ठूलो सेट तयार हुन लागेको विक्कीले बताए । कमेडी दरबारमा अन्य केही फेरबदल समेत हुनेछ । ‘महाराजा’ वा ‘महारानी’ (जज) मा मनोज गजुरेल र गौरी मल्ल यथावत रहनेछन् भने अझ एकजना थप्ने तयारी छ ।

त्यस्तै, केही नयाँ कलाकारहरू समेत थप गरिने छ । यसअघिका धेरैजसो कलाकारहरू यथावत रहे पनि केही कलाकारहरू देखिने छैनन् । तेस्रो सिजनबारे केही दिनमा कार्यक्रम गर्दै विस्तृत जानकारी दिने टिमको तयारी छ । कमेडियन तथा नन–कमेडियन चर्चित कलाकारसँग प्रस्तुत ‘कमेडी दरबार’ प्रसारणमा छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको थियो । अहिले शोको टिमले कथानक फिल्म ‘ककाकिकी’ निर्माण गरिरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार