‘फिल्म सेन्सर’ कार्यविधिमा संसोधन



काठमाडौँ ।

फिल्मकर्मीको दबाबपछि केन्द्रीय चलचित्र जाँच समितिले केही नियममा संसोधन गर्दै ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । संसोधनसहित ल्याइएको कार्यविधिमा मुख्यतः ३ नयाँ कुरा छन् । पहिलो– कार्यविधिको नाम ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ राखिएको छ ।

दोस्रो– महोत्सवका चलचित्रलाई जाँच गर्ने भन्ने अघिल्लो नियमलाई हटाइएको छ । त्यसको ठाउँमा निर्माताले फिल्मको ट्रेलर वा प्रोमोको स्वःपरीक्षण गरि प्रचारप्रसार गर्नुपर्ने भन्ने उल्लेख छ । कार्यविधिमा ‘वर्गीकरण’ भन्ने शब्द थपेसँगै अब उमेर र सर्टिफिकेटअनुसार वर्गीकरण गर्ने कुरामा जोड दिइने बुझिएको छ ।

कार्यविधिको बुँदा नम्बर ५ मा ‘वर्गीकरण’ को विषय समेटिएको छ । जसमा भनिएको छ, ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्र प्रयोग भएका हिंसा, यौन, नग्नता, लागूपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यनजर गरि चलचित्र हेर्न दर्शकको उमेर समूह लक्षित वर्गीकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहाय बमोजिमको लोगो अङ्कित प्रमाण पत्र दिनुपर्नेछ ।’

यसै बुँदाको क, ख ग र घमा फिल्मको वर्गीकरण गरिएको छ । समितिले ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ मा पुसदेखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि २०८२’ को सातौँ बुँदामा रहेको ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ लाई पनि हटाएको छ । केहीअघि ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’का केही बुँदामा विवादित बनेपछि समितिले नयाँ कार्यविधि ल्याएको हो । संसोधित कार्यविधि पुस मसान्तदेखि नै लागू भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार