मुकुर भित्रका मसिना पत्रहरू !



विष्णु पादुका

speculum अर्थात मुकुर नेपाली लघुकथाको इतिहासमा नयाँ पाइला बनेर देखिएको छ । समाजका विविध पक्षमा घटेका घटना र कल्पनाको तरेलिमा सिर्जित लघु कथाको यो संग्रह कोहलपुर बाट हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाट प्रकाशित भएको छ । हाइकु लेखनमा बलियो स्थान बनाएका बद्री ढकाल हिरामणी को कथा कृति मुकुर भित्र ४६ कथा समाबेश छन् । लघुकथाका बैचारिक सिद्धान्तमा रहेर लेखिएका सबै लघुकथाले भिन्न भिन्न विषयको उठान गरेका छन् । अंग्रेजी र नेपाली दुबै भाषामा हुनाले यसले पाठक संख्या र महत्व समेत भिन्न बोकेको देखिन्छ । लघुकथा सानो आकारको भए पनि त्यसको आन्तरिक बनोट अत्यन्तै घना हुन्छ । तपाईंले उल्लेख गर्नुभएको व्यङ्ग्य, पटाक्षेप, सूक्ष्म तर गहिरो सन्देश, संयोग बाहेक पनि लघुकथामा सामान्यतः यी महत्वपूर्ण तत्वहरू देखिन्छन् । लघुकथाको पहिलो शर्त संक्षिप्तता हुनाले नै शब्द संयम यसको गुण हुनेगर्छ । यहाँ अनावश्यक विवरण होइन, अर्थ बोकेका मौनआवृत्ती दोहोरिनु स्वब्भाविक हुन्छ । लघुकथा प्रायः एउटै क्षण एउटै घटना एउटै मनोवैज्ञानिक मोडमा केन्द्रित हुन्छन् । कथामा आफैभित्र अन्तर्निहित द्वन्द्व हुन्छ । ठूलो र बाह्य द्वन्द्व आवश्यक हुँदैन। कतै मनभित्रको द्वन्द्व मूल्य र व्यवहारबीचको टकराव बोली र कर्मबीचको दूरी या तादात्म्य हिनता जस्ता कुराले लघुकथालाई बलियो देखाउँछन्। लघुकथामा अल्प पात्रताको विशेषता समेत हुन्छ । कहिलेकाहीँ एक पात्र,कहिलेकाहीँ अदृश्य पात्र (समाज, सत्ता, व्यवस्था) नै मुख्य पात्र हुन्छ। लघुकथामा वस्तु, घटना, सबै सांकेतिक हुन्छन्। लघुकथामा अधुरोपनको सौन्दर्यबोध हुन्छ । लघुकथाले सबै कुरा भन्दैन। पाठकलाई सोच्न बाध्य बनाउँछ। अन्त्यमा प्रश्न बाँकी रहनु पनि सफल अन्त्य हुनजान्छ । मुकुर भित्र यस्ता प्रसंग अनेकौं स्थानमा पाइन्छन् । अर्को कुरा लघुकथाले जहिल्यै पाठक सहभागिता खोज्छ । विविध अर्थ निर्माणमा पाठक स्वयं सहभागी हुन्छन् ।

समसामयिक चेतनाको भार लघुकथाको बलियो कडि हो । सामाजिक, राजनीतिक, नैतिक, मानवीय यथार्थप्रति सजगता सबै कथामा पाइने तत्व हो । लघुकथाको एउटा भिन्न स्वर हुने गर्छ ।त्यसभित्र व्यङ्ग्य मात्र होइन, करुणा , विद्रोह , आक्रोश , शून्यताको दर्शन जस्ता स्वरहरू पनि प्रभावकारी हुन्छन् ।लघुकथा पढिसकेपछि एक वाक्य, एक दृश्य, एक मौनता सिर्जना हुन्छ पाठकको मनमा । क्रान्ति ले प्रश्न उठाउन सिकाएको छ । स्वतन्त्रतामा राजनीतिले शिक्षालाई पारेको प्रभाव उद्घाटित भएको छ । कथ्य ,बेइमानी फोन नम्बर ,महान कार्य कथाका विषयबस्तु भिन्न भिन्न परिबेश बोकेर आएका छन् । अबको कुनै पनि आक्रमण विद्यालय क्षेत्र बाहिर हुनुपर्ने माग गरेको छ महान् कार्यले । कथाहरूका स्वरुप र बनोट हेर्दा कथाहरू खारिन नसकेको प्रतीत हुन्छ । कुनै कथाको उठानले बोकेको मिठास अन्त्यले दिन सकेको देखिन्न । कतै सैद्धान्तिक विचलन समेत पाइन्छ । तर जति विषयको उठान भएको छ ती सबै सान्दर्भिक र समयोचित छन् । प्रस्तुतिमा कसिलो पन नभेटिनुलाई कथाकारको लघुकथा पहिलो चरण भनेर संतोष मान्न सकिन्छ । नेपालको वर्तमान अवस्थामा सबैभन्दा आलोचित र दवावमा रहेको क्षेत्र शिक्षा हो । विद्यालयहरू हुन् । जो आलोचनाको केन्द्रमा छन् भन्दा अत्युक्ति नहोला । कोहलपुरमा रहेर लामो समयदेखी शिक्षण पेशामा आवद्ध हुनुको नाताले पनि मुकुर भित्र अधिकांश कथाले शिक्षा क्षेत्र ,विद्यालय ,अभिभावक अनि विद्यार्थी र बालबालिकाका समस्याहरू उठेका छन् ।निजी विद्यालय र सरकारी विद्यालयका अन्तरद्वन्दले पनि कति कथालाई आफ्नो स्थान दिएका छन् । कति कथाले शिक्षक आन्दोलनको वरिपरिको वातावरण पनि बोकेका छन् ।

अहङ्कार कथा पर्यावरणिय उठान बाट अस्पष्ट दर्शनले अन्त्य भएको छ । यो मध्यम स्तरका तौल बोकेका अन्य कथा पनि छन् । जसमा विषय राम्रो भएर पनि प्रस्तुति कमजोर भएको जस्तो लाग्छ । लघुकथाको अन्त्यले जहिल्यै एउटा गहिरो अनुभुती छोड्ने हुनुपर्छ भनिन्छ तर त्यो मिठास सबै कथामा नभेटिनुले पनि कथाकार आलोचना रहित हुन सक्नु भएको छैन । प्रशासन कथाले कथाको पृष्ठभुमि निर्माणका लागि मेहनत गरिएको तर शिर्षक सार्थकता गुमेको आभास दिन्छ । बैदेशिक रोजगारीको कारण एक्लो हुँदै गएको नेपाली समाजको चित्रण संस्कार कथाले बोकेको छ । समाधान बिनाको समाधान कथाले अहिलेको विद्यार्थी पुस्ताको बिसंगतीलाई झल्काएको छ । एकाग्रता , टिफिन, रहस्य अझै बलियो बन्न सक्ने सम्भावना कथा भित्रै भेटिन्छन् । नियतले नेपाली शिक्षा धराशायी हुँदै गएको एक बलियो उदाहरण हो नियत लघुकथा । साढे तीन वर्षको बाबुको चित्रले आवरण सजाउनु , मातापिता सहित गुरुहरू र चेलाहरू प्रती समर्पित भएर यो संग्रह आउनुले पेशा निष्टता झल्किन्छ भने अधिकांश कथा बालबालिका र शिक्षा क्षेत्रको भावभूमी बोकेको हुनाले अभिभावक अनि विद्यार्थीका लागि यो कृति पठनिय बनेको छ । अंग्रेजी रुपान्तरमा बिजय न्यौपाने र प्रमोद सुबेदीको योगदान गुनलाग्दो देखिन्छ । नेपाली भाव र अंग्रेजी रुपान्तरणमा ठ्याक्कै तालमेल नमिल्नु भाषाकै कारण हो । नेपाली भाषाको भाव अंग्रेजी रुपान्तरणले दिन सक्दैन नै । यद्यपि भाव खुलाउन थप प्रयास हुन सक्ने सम्भावना समेत रहेको देख्न सकिन्छ ।

लघुकथाको इतिहास कोट्याउँदा आधुनिक नेपाली कथालेखन परम्परासँगै सुरू भएको आधुनिक नेपाली लघुकथाको पहिलो चरणको समयावधि वि.सं. १९९२ सालदेखि वि.संं. २०१९ सालसम्म मानिन्छ। यस चरणमा प्रायः यथार्थवादी लघुकथाहरू सिर्जना भएको कारण यथार्थवादी चरण पनि भनिन्छ। वि.सं. १९९२ सालमा प्रकाशित गोपालसिंह नेपालीको ’कल्पना’ नामक कृतिलाई प्रथम लघुकथा सङ्ग्रहका रूपमा हेरिए पनि केही विद्वान्हरूले यस कृतिलाई गद्य कवितासङ्ग्रहको रूपमा लिएर विमति जनाएका छन्। विवादास्पद नै रहे पनि यस कृतिमा कथानकीय स्वाद भने अवश्य रहेको छ र यसका रचनाहरूमा पात्र, परिवेश, घटना आदि सबै कथात्मक अभिलक्षणहरू पाइन्छ। यस चरणका चर्चित लघुकथाकारहरू पूर्णप्रसाद ब्राहृमण, जयनारायण गिरी र शशिकला शर्मा हुन्, ब्राहृमणको ’झिल्का’ –२००७) ’म लोग्ने’ –२००८), गिरीको ’कसिङ्गर’ –२००८) र शर्माको ’उनको सुरुवाल’ –२०१९) यस चरणका प्रमुख लघुकथात्मक कृतिहरू हुन्।

यस चरणका लघुकथाहरू यथार्थवादी छन्। पूर्णप्रसाद ब्राहृमण र शशिकला शर्माका लघुकथाहरू समाजका सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, घरायसी र मानवीय यथार्थलाई बडो रोचक र सटिक शैलीमा चित्रण गरेर लेखिएका छन्। त्यस्तै, जयनारायण गिरीका अधिकांश लघुकथामा नारी संवेदना र नारी जीवनको बहुरूपको चित्रणका साथै मानविय मनोविज्ञान चिन्तनअनुसारको प्रणयजनित प्रतिविम्बहरू पाइन्छ। तसर्थ नेपाली लघुकथाको पहिलो चरणमा सामाजिक र मनोवैज्ञानिक –यौन) यथार्थवादी प्रवृत्तिका लघुकथाहरू मुख्यरूपमा सिर्जना गरिएका छन्। पछिल्लो समय लघुकथा लेखनलाई र पठनलाई महत्वोपुर्ण रूपमा लिइन्छ । साच्चिकै लघुकथा लेख्न सजिलो छैन । त्यसका लागि शब्द छनोट ,शिर्षक चयन र बिचलन बाट जोगिनु यसका चुनौती हुन् । सर्जक ढकालको यो पहिलो पाइला भएर पनि सकारात्मक पक्ष बलियो हुनाले कृति पठनिय बनेको छ । लघुकथा प्रत्येक पाठकका नजरमा फरकफरक अर्थ बोध हुने हुनाले बुझाइ फरक हुनु स्वभाविक अर्थमा लिनुपर्छ । कृति सफलताको शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार