नेपालगन्ज ।
नेपालगन्जका कानुन व्यवसायीहरूले शीतलहर तथा अत्याधिक जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक पहल गर्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक सरोकार कानुन व्यवसायी समूहले बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
उक्त ध्यानाकर्षणपत्रमा शीतलहर र जाडोबाट प्रभावित गरिब, असहाय, वृद्ध, बालबालिका, श्रमजीवी वर्ग तथा खुला स्थानमा बसोबास गर्ने नागरिकको जीवन र स्वास्थ्य जोखिममा परेको उल्लेख गर्दै न्यानो कपडा, कम्बल, सुरक्षित ताप व्यवस्था, तातो पानी तथा आवश्यक स्वास्थ्य सहजीकरणको तत्काल व्यवस्था गर्न समुहद्वारा माग गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शीतलहर र जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागि काम गर्दै आएको उल्लेख गर्दै प्राप्त सुझावले आगामी कार्ययोजनामा थप प्रभावकारी ढंगले काम गर्न सहयोग पुग्ने बताएका थिए ।
यसैगरी समूहले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई पनि ध्यानाकर्षणपत्र बुझाउँदै जिल्ला प्रशासन कार्यालयअन्तर्गत सञ्चालन हुने अर्धन्यायिक इजलासको व्यवस्थापनलगायत फौजदारी न्यायका मान्य सिद्धान्तको पालना सुनिश्चित ध्यानाकर्षण गराएको जानकारी दिएको छ ।
प्रजिअलाई बुझाइएको ध्यानाकर्षणपत्रमा कारागार, बाल सुधारगृह र हिरासत कक्षमा रहेका कैदीबन्दी तथा थुनुवाका लागि समेत न्यूनतम मानवीय आवश्यकता सुनिश्चित गर्न विशेष व्यवस्था मिलाउन आग्रह गरिएको समूहका सहसंयोजक बसन्त गौतमले जानकारी दिएका छन् ।
ध्यानाकर्षणपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुद्दा सुनुवाइका लागि इजलासको व्यवस्थापनमा आवश्यक ध्यान दिइएको र स्वच्छ सुनुवाइ तथा फौजदारी न्यायका मान्य सिद्धान्तको पालना गर्न आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्